बेहुलीझैं बहानेपोखरी


उचाइमा रहेको डाँडा । डाँडामाथि दुई सय मिटर क्षेत्रफलमा फैलिएको आकर्षक पोखरी । पोखरीमा बाह्रैमास टम्म पानी ।

समुद्री सतहदेखि दुई हजार ७०० मिटर उचाइमा रहेको पोखरीबाट उत्तरतिर हेरे मनोरम हिमशृंखला आँखाअगाडि ठोक्किन्छ । पूर्वपट्टि चियाउँदा नागढुंगा, शंखढुंगा, स्तुपा र लोभलाग्दो जंगल देखिन्छन् ।

पोखरीआसपासका चरिचरनमा चौंरी गाई र भेडाका बथान । हेरिरहूँ लाग्ने चरिचरन । यस्तो दृश्य देखेपछि जोकोहीको मन फुरुङ्ग नहुने कुरै छैन ।

ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा रहेको बहानेपोखरी पुग्नुभयो भने यस्तै–यस्तै आकर्षक दृश्य नियाल्न सकिन्छ । खोटाङवासीले घुमघामको तालिकामा बहानेपोखरी पार्नुभयो खेर जाँदैन । घुमघाममा निस्कनु भनेको मनोरञ्जनमात्रै होइन, आफू बसेको समाजमा कस्ता–कस्ता मानिस बस्दारहेछन् ? उसलाई असर पार्ने कुरा के–के रहेछन् ? तिनको हालखबर के रहेछ भनेर बुझ्ने अवसर पनि हो ।

दुःखमा पनि आनन्द लिनु भनेको घुमघाम नै हो । हिँड्दाहिँड्दा शरीर थाके पनि मन आनन्दित हुन्छ । यो घुमघामको विशेषता हो । पत्रकार मोहन मैनाली भन्छन्, ‘अन्य दुखाइमा मन पनि दुख्छ । तर, घुमघाममा त्यस्तो हुँदैन ।’

आकाश हेर्यो नीलो । उत्तरतिर हेर्दा सेतै हिमाल । पूर्वतिर आँखा डुलाउँदा हरियो कार्पेट ओछ्याएजस्तो जंगल । तीन रङको संयोजनले जोकोहीलाई फुरुङ्ग पार्ने नै भयो । यस्तो ठाउँ पुगेपछि मानिसको मन चंगा भएरै छाड्छ । यस्तो सुन्दरता गाडीमा भन्दा हिँडेर नियाल्नु उत्तम मानिन्छ । स्थानीय जनजीवन बुझ्न सघाउँछ ।

बहानेपोखेरी पुग्नेले नागढुंगा, शंखेढुंगा, स्तुपा नटेके यात्रा अधुरो मानिन्छ । पोखरीआसपासका जंगलमा फुलिरहेका लालीगुराँस तथा चिमालको सुगन्घले तपाईंको यात्रा सुगन्धित बनाउँछ । याक र चौंरी आफ्नै अघि देख्न सकिन्छ । छुन सकिन्छ ।

सालिन्दा नयाँ वर्षको दिन विभिन्न शीर्षकमा बहानेपोखरी पुग्नेहरू बढ्दै गएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार, सालिन्दा जनैपूर्णिमा र मंसिर पूर्णिमामा धामीझाँक्रीसँगै बहानेपोखरीमा भीडभाड लाग्छ ।

के–के बोक्ने ?

–ठाउँ हेरी व्यवस्थित भएर घुमघाममा निस्कनुपर्छ ।

–ठाउँ हेरी न्यानो लुगा र राम्रो जुत्ता हुनुपर्छ ।

–क्यामेरा बोक्नुपर्यो । हिजोआज त मोबाइलले नै क्यामेराको काम गर्छ ।

–स्लीपिङ व्याग ।

–ब्यान्डेज एकसेट ।

–दुई/तीन सेट एन्टिबायोटिक औषधि । के हुँदा के खाने भनेर चिकित्सकसँग परामर्श पहिल्यै लिने ।

–पुनर्जलीय प्याकेट ।

–एकछाक खान नपाउँदा पनि केही नहुनेगरी ‘ड्राइफुड’ बोक्ने ।

–थर्मस ।

–पानी निर्मलीकरण गर्ने पीयूष ।

अपनाउनुपर्ने सावधानी

–सामान्यतया यात्रामा तीनजनासम्म निस्कनुपर्छ । एकजना बिरामी परे एकजनाले हेरविचार गर्ने अर्कोले उद्धारका लागि खबर गर्न सजिलो हुन्छ । एकजनामात्रै यात्रामा निस्के दुःख पाउनसम्म पाइन्छ ।

–धेरैजनाको समूहमा जाँदा मन मिल्छ कि मिल्दैन सचेत हुनुपर्छ । मन मिलेन भने यात्रा पीडादायी हुन्छ ।

–घुमघाममा निस्कँदासमेत हामी दगुरेको दगुर्यै गर्छौं । त्यो राम्रो होइन । घुम्न निस्कनु भनेको हेर्नलाई हो । म्याराथुन दौडेजस्तो यात्रा गर्न हुँदैन । किनकि त्यहाँ पुगेर आगो लिएर फर्कनु छैन । तर, बेलुका बास बस्ने ठाउँसम्म पुग्न सकिन्छ कि सकिँदैन भनेरचाहिँ ध्यान दिनुपर्छ ।

गत वर्ष भएको महोत्सवलाई दृष्टिगत गर्दै बनाइएका अस्थायी होटल तथा स्टलले बहानेपोखरी बेहुली लिएर फर्केका जन्तीझैं देखिएकोमा ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला खुसीले गद्गद् छन् । ‘बहानेपोखरीलाई महोत्वसमा मात्रै होइन,’ ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष निरौलाले प्रतिबद्धता जनाए, ‘सधैं बेहुलीझैं देखाउँदै पर्यटन प्रवद्र्धन गर्न पालिका लागिपरेको छ ।’

पोखरीआसपास शेर्पा समुदायको बाक्लो बस्ती छ । यहाँका शेर्पा बस्तीमा घरबास (होमस्टे) सञ्चालनमा ल्याउने ऐंसेलुखर्क गाउँपालिका प्रमुख निरौलाले जानकारी गराए । पछिल्लो समय वनभोज खानेको रोज्जा ठाउँसमेत बन्दै छ ।

प्रतिक्रिया दिनुहोस्