एमालेको संगठित सदस्यता पाएको ३० वर्षपछि मन्त्री



नेदरल्यान्डबाट विद्यावारिधि (पीएचडी) पूरा नगरी सामाजिक विकासमन्त्री उषाकला राई नेपाल फर्किन् । मन्त्री राईले पीएचडी पूरा नगरी नेपाल फर्कने निर्णय गर्दा धेरैले जिब्रो टोके । आफूले गरेको निर्णयप्रति उनलाई कत्ति पनि पश्चाताप थिएन ।

त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर गरेकी उनले नेपाल फर्केपछि अमृत साइन्स क्याम्पस ठमेल (जहाँ उनले बीएस्सी अध्ययन गरेकी थिइन्) र त्रि–चन्द्र क्याम्पस घण्टाघरमा अध्यापन थालिन् । अध्यापनसँगै पार्टी काममा सक्रिय रहिन् । पार्टीले प्रजातान्त्रिक युवा संघ केन्द्रीय सदस्यको जिम्मेवारी दियो ।

नेकपा (एमाले)ले संवत् २०४७ मै संगठित सदस्यता दिइसकेको थियो । संगठित सदस्यता पाउँदाको संयोग त्यत्तिकै अविस्मरणीय छ । सुनसरीको धरानमा रहेको हात्तीसार क्याम्पस आईएस्सीका विद्यार्थी उनले ०४६ सालको जनआन्दोलनमा त्यहाँबाट महिलाको कमान्ड सम्हालेकी थिइन् । राजनीतिक सक्रियता देखेरै पार्टीले संगठित सदस्यता दिन ढिला गरेन । लोभलाग्दो राजनीतिक सक्रियताको कदरस्वरूप ०७७ चैत १३ गते सामाजिक विकासमन्त्रीको सपथ लिइन् । सपथ लिएपछि पदभार ग्रहण गरिन् । कार्यक्रम उद्घाटन र समापनभन्दा मन्त्रालयसम्बन्धित कामलाई अर्थपूर्ण बनाउने उद्घोष गरिन् ।

समाजशास्त्र/मानवशास्त्रमा समेत स्नातकोत्तर गरेका राजनीतिक नेताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनु त्यत्तिकै अर्थपूर्ण रूपमा हेरिएको छ । कानुनमा स्नातक उनी पहिलो संविधानसभा सभासद् हुन् । ०६४ को संविधानसभा निर्वाचन प्रणालीमा खोटाङबाट समानुपातिक प्रतिनिधित्व गर्ने उनी १ नम्बर प्रदेश सांसद हुन् । त्यतिबेला संविधानसभाको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिअन्तर्गत लैंगिक उपसमितिको संयोजकको भूमिकामा रहँदा उनले महिलालाई वंशको अधिकार प्रस्ताव गरेकी थिइन् ।

मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति सदस्य, संविधानसभाभित्रै गठित महिला सभासद् समूह (ककस)मा एमालेबाट सदस्य र पछि ककसकै संयोजकको भूमिका निर्वाह गरिन् । त्यतिमात्रै होइन, सभासद्को भूमिकामा रहँदा लैंगिक उपसमिति संयोजक, नयाँ संविधानमा महिला अधिकार मस्यौदा समिति संयोजक, मौलिक अधिकार समिति, विधायन समिति, राष्ट्रिय विकास परिषद् सदस्यको भूमिका पाइन् ।

‘राजनीतिक नेता देश बनाउन प्रतिबद्ध हुनुपर्छ । म, हामी होइन, देश बनाउन प्रतिबद्ध हुनुपर्छ,’ साबिक खाल्ले–५ सेरा खोटाङमा २०२६ साउन २९ गते जन्मेकी मन्त्री राईको भनाइ छ, ‘देश बनेपछि हामी बनिहाल्छौं । सांसद, मन्त्री पद त अस्थायी न हो ।’

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा कोषाध्यक्षको उम्मेदवारी दिँदा तीन मतले पराजय हुँदासमेत दुःखी भइनन् । सधैं सकारात्मक सोचिन् । हुन पनि हो– राजनीतिक नेताले हारबाट पनि सवक सिक्न सक्दारहेछन् ।

देश समृद्ध बनाउने सपना देखेकाले नै श्रीमान्–श्रीमती राजनीतिमा छन् । ‘नेपालका प्रत्येक परिवार समृद्ध बनून् । शान्त होस्,’ उनको चाहना छ, ‘भौतिक र सामाजिक विकास होस् । महिला र पुरुषमा समानता हुनुपर्छ ।’

मन्त्री राईद्वारा प्रस्तावित ‘महिलालाई वंश अधिकार’ संविधानमा लेखिएको छ । त्यसपछि ‘ब्यान्ड भर्सेस ब्रान्ड’ले धेरैको ध्यानाकर्षण गरेको छ । ‘नेपाली जनताका परिवर्तनका लागि सामाजिक मुक्ति आन्दोलनमा तपाईंको अविचलित यात्रा निरन्तर जारी रहोस्,’ सामाजिक विकासमन्त्रीको सपथलगत्तै पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘पहिलो संविधानसभामा महिलाको वंश अधिकार विषयमा निरन्तर नेतृत्व गरी संविधानमा लेखाउन सफल तपाईंले लैंगिक विभेद अन्त्यका लागि छोराको भूमिकासरह छोरीले पितृकार्य गरेर देखाउनुभएको कामको स्मरण गरेको छु । नेपालको आर्थिक समृद्धिका लागि तपाईंले उठाउनुभएको ब्यान्ड भर्सेस ब्रान्डको नारा प्रदेश १ बाट सार्थक होस् । हार्दिक शुभकामना ।’

आलेखमात्रै होइन, कवितासमेत लेख्ने मन्त्री राईले सपथ लिँदा नेकपा एमालेसम्बद्ध खोटाङे युवानेता विराटनगरमा बाक्लै देखिए । अर्थपूर्ण कार्यसफलताका शुभकामना दिए । उनले मन्त्रीको भूमिका पाउँदा खोटाङकै पहिलो महिला मन्त्री भनेर पत्रकार दमन राई र सूर्य तामाङद्वारा प्रकाशित तथा सम्पादित नेपाल वाइड डटकमले समाचार प्रकाशन गर्यो ।

पीएचडी पूरा नगरी नेदरल्यान्डबाट फर्के पनि त्यतिबेलाको अधुरा कामले मूर्त रूप लिँदै छ । सामाजिक विकासमन्त्री उषाकला राईले ‘महिलाको वंश अधिकारसम्बन्धी आधुनिक अवधारणा र महाभारतकालीन परम्पराबीचको तुलनात्मक अध्ययन’मा पीएचडी गर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस्