अध्यक्ष राईको आह्वान : राजनीतिक नेता ‘वेल एजुकेटेड’ हुनैपर्छ


ऐंसेलुखर्क (खोटाङ) । कम्युनिस्ट नेताहरू घरमा आइरहन्थे । बुवा मीनबहादुर राई शिक्षक । त्यसमाथि कम्युनिस्ट । त्यसैले शिक्षामन्त्री अशोककुमार राई, पूर्वसांसद टंक राई र गणेश राई (दुर्छिम)हरू आइरहन्थे । आफ्नो घर आएका नेता र बुवाबीच भएको गन्थन उनले चासोसाथ सुन्थे ।

डुम्रे माध्यमिक विद्यालय देउरालीमा अनेरास्ववियु सहप्रारम्भिक कमिटी गठन गरियो । यो संवत् २०४७/०४८ सालको कुरा हो । ‘म आठ कक्षामा पढ्थें,’ ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले विगत सम्झे, ‘मलाई उपाध्यक्षको भूमिका दिइयो ।’ आठ कक्षामा अध्ययनरत विद्यार्थीले जिम्मेवार भूमिका पाउँदा असाध्यै खुसी भए । विद्यार्थी नेता भएपछि भाषण गरिरहनुपथ्र्यो । ‘भाषण कापीमा लेख्थें,’ ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष राईले नढाँटी सुनाए, ‘त्यही पढ्थें । ती दिन सम्झँदा हिजैजस्तो लाग्छ ।’

दीपबहादुर राईले उनलाई उपाध्यक्षको गह्रुँगो भूमिका दिए । राई अनेरास्ववियु जिल्ला कमिटी खोटाङमा आबद्ध थिए । उनी हिजोआज शिक्षण पेसामा छन् ।

भूमिकाले भूमिका खोज्दै गयो । डुम्रे मावि देउरालीमा स्ववियु खोल्ने पहल गरे । ‘प्रयास प्रयासमै सीमित रह्यो,’ उनले सुनाए, ‘विद्यालयका तात्कालिक प्रधानाध्यापक हरि राजभण्डारी सकारात्मक नदेखिएपछि स्ववियु खोल्ने सपना रोप्नै पाइएन । फुलाउन त कता हो कता ।’

कक्षा चढ्दै जाँदा पढाइलाई प्राथमिकता दिए । सहप्राकको उपाध्यक्षपछि कुनै पनि भूमिकामा रहेनन् । तर, अनेरास्ववियुबाट टाढिएनन् । पढाइमा अलि धेरै समय खर्चिए । र पनि, पार्टीको सम्पर्कमा रहिरहे ।

एसएलसी उत्तीर्ण गरेपछि उच्चशिक्षा हासिल गर्ने एक झोला सपना काठमाडौंसम्मै सुरक्षित पुर्याए । रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग भृकुटीमण्डपमा भर्ना भए । अनेरास्ववियुमा आबद्ध नभए पनि गहिरो समर्थन छँदै थियो । उनी खेलकुदमा अलि धेरै रमाउँथे । तर, संठगनलाई पनि आवश्यक सहयोग गर्थे ।

पुलिस अफिसर बनेर राष्ट्रसेवक बन्ने सपना घर छाड्दै देखेका थिए । मानिसको मन न हो, छिनछिनमा परिवर्तन भइरहन्छ । उनको मन पनि त्यस्तै भयो । ‘असईमा नाम निकाले पनि राष्ट्रसेवक बन्ने मन गरिनँ,’ उनले वास्तविकता सुनाए, ‘माओवादी द्वन्द्व चर्कंदै गएपछि मन मारें ।’ यो ०५५ सालतिरको कुरा हो ।

अध्ययनले निरन्तरता पाएकै थियो । बिस्तारै विद्यार्थी संगठनमा सक्रिय बन्न थाले । कथाले मागेपछि आरआरका विद्यार्थी उनी महेन्द्र रत्न क्याम्पस ताहाचलमा स्ववियु सदस्य निर्वाचित भए । यो ०६० सालको कुरा थियो । कार्यकाल पूरा भएपछि स्ववियु उपसभापतिमा उम्मेदवारी दिए । ‘तर, १२५ मतले पराजित भएँ,’ उनले सुनाए, ‘खेलाडी भएकाले मलाई त्यताको स्ववियुमा जोडिएको हुनुपर्छ ।’

त्यसपछि ?

‘पुनः आरआर क्याम्पस फर्कें नि,’ उनले खुसी व्यक्त गरे, ‘आरआरमा उपसभापतिमा निर्वाचित भएँ । यो ०६४ को कुरा हो ।’ त्यसपछि लामो समय स्ववियु चुनाव भएन । उनले पाएको उपसभापतिको भूमिका लम्बिएको लम्बियै ।

तीन–तीनपटक अखिलको केन्द्रीय सदस्यको भूमिकामा रहँदा उनका अध्यक्षहरू रामकुमारी झाँक्री, ठाकुर गैरे र किशोर मल्ल हुन् । उनले ऊर्जाशील समय अखिलमै बिताए ।

१० वर्षअघि एमाले खोटाङको वैकल्पिक सदस्यको भूमिका लिएपछि गृहजिल्ला फर्के । बल्ल सुरु भयो पार्टीको राजनीतिक यात्रा । उनले पटक–पटक चुनाव ‘फेस’ गरिसकेका थिए । चुनाव जित्न त्यति गाह्रो भएन । चुनावमा खट्नचाहिँ सजिलो पनि थिएन ।

अंग्रेजी र राजनीतिशास्त्रमा एमए गरेका ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई एमपीए पढ्दै छन् । पालिकाका अभिभावक उनले अध्ययन गर्दा कम्ती रमाउँदैनन् । अध्ययन गरेर रमाउने पालिका अध्यक्ष राई उहिल्यै एलएलबी गरेका हुन् । अधिवक्ताको लाइसेन्ससमेत लिएको थुप्रै भयो । अध्यक्षको आह्वान छ, ‘राजनीतिक नेताले अध्ययनमा चाहिँ विशेष जोड दिनुपर्छ है ।’

प्रतिक्रिया दिनुहोस्