लोखा



सार :

किरात राई चाम्लिङ समुदायको अर्थ लेनदेनसँग सम्बन्ध राख्ने शब्द हो ‘लोखा’ । यसको शाब्दिक अर्थ निःस्वार्थ लेनदेन भन्ने बुझिन्छ । आपत–आपतमा सापट भन्ने सामाजिक भनाइ छ । हाम्रा पुर्खाले घर–समाज चलाउन यस्तै सानो तर महत्वपूर्ण प्रणाली विकास गरेको पाइन्छ ।

अर्थ प्रणाली :

चाम्लिङ राईको अर्थ प्रणालीलाई ‘लोखा’ भनिन्छ । यसलाई खस नेपाली भाषामा पैंचो, सापटी भन्ने गरिन्छ । आदिवासी भएकाले यो उनीहरूको प्राचीन आर्थिक प्रणाली हो । आदिम समाज सञ्चालन गर्न त्यसबखत पुर्खाले बनाएको विधि हो । यसलाई आर्थिक र भौतिक विकासको आधार मानिन्छ । एक हिसाबमा समाजको व्यावहारिक ज्ञान भनिन्छ । अर्को, मानवशास्त्रीय भाषामा आदिवासी ज्ञान, प्राचीन ज्ञान र स्थानीय ज्ञान पनि भनिन्छ ।

परिभाषा :

मज्जाले नाच्न शब्द, लय, संगीत, ताल, सुर, रस र सुहाउँदो स्वरको गायकी आदिको ‘मिक्सिङ’ र ‘फिक्सिङ’सहितको छमछमी गीत, प्रफुल्ल मन र स्वस्थ शरीर चाहिन्छ । मज्जाले बाँच्न स्वस्थ शरीर, सुसंस्कार समाज, सुन्दर वातावरण र चुस्त लेनदेन प्रणाली आवश्यक पर्छ । उल्लिखित परिभाषामा हाम्रा पुर्खा अभ्यस्त थिए । भात खाँदा स्वाद लिएर अरूकै मुख रसाउनेगरी खाने, जाँड पिउँदा धितमारेर छङछङ पिउने, मासु खाँदा दाउराको आगोमा गज्जबले पकाएर मेख मारेर खाने, गाउँदा लसक लगाएर गाउने अनि काम गर्दा भाँती पुर्याएर सरासर गर्ने र परेको बेला अरूलाई मज्जाले काँध थाप्थे । लोखा लेनदेन गर्दा इमान र जमानको ख्याल गर्थे ।

व्यावहारिक :

पुर्खाले सत्कर्म, सत्धर्म कहिल्यै छाड्दैनथे । पुर्खाको बोली र व्यवहार ढुंगाको अक्षर हुन्थ्यो । इमान र जमान भन्ने मुन्दुम जपनाजत्तिकै थियो । लोखा (सापटी) र फ्लोतिम (सहयोग)को गहिरो माने बुझेका थिए । भोलि आफूलाई पर्दा पक्का पाइन्छ । रोपे फल्छ, गरे हुन्छ भन्ने सिद्धान्तमा अडिग थिए ।

चलन :

घर–समाज चलाउन निम्न चलन थिए ।

(१) कुनै व्यक्तिलाई आपत पर्दा लु तैंले मलाई यो जमानमा दे, अहिलेलाई यति चला भनेर लोखा नगदी वा जिन्सी दिने । जसको ब्याज तिर्न पर्दैन ।

(२) कसैले चलनअनुसार ब्याजमा दिने र लिने । तिर्न नसक्दा माफी मिनाहा दिने वा कुनै जिन्सी नै बुझिलिने ।

(३) सघाउनी गर्ने, फिर्ताको अपेक्षा नराख्ने ।

(४) पर्म लगाउने ।

एक समुदायअन्तर्गत एक परिवारको छोटो कथा

एक गाउँमा चाम्लिङ राईको बाक्लो बस्ती थियो । पाछागत दरदाजुभाइ पनि धेरै थिए । त्यसमध्येको एक परिवार धनी, पढेको र जागिरे थियो । समाजमा विवाह, छेवर, पास्नी विभिन्न सघाउने कार्य हुन्थ्यो । उनीहरूलाई बोलाइन्थ्यो । तर, उनीहरू कार्जे (कार्य)मा आउँदा पैसा दिने तर सघाउँदैनथे । जहिल्यै म ठूलो र धनी हुँ भन्ने घमन्ड गरिन्थ्यो । एक दिन अचानक त्यो घरमा बज्यैको निधन भयो । तर, कोही गएनन् । सबैले पैसा पठाए । पैसाले शव उठेन । राईहरूको शव अरू समुदायले उठाउन मिल्दैन । त्यसपछि उनीहरूले प्रत्येक दाजुभाइको घर पुगी माफी माग्दै शव उठाइदिन बिन्ती बिसाए । दाजुभाइले शव उठाए ।

लोखा, निलोखा र फ्लोतिम (सघाउनी, घरपैंचो, पर्म र सहयोग)

विवाहलगायतको कार्जेमा निम्तो भन्ने, साइने–सुइध्य गर्ने, पात टिप्ने, चामल ल्याउने, बोसे (सुँगुर) काट्ने, दाउरा काट्ने, रीत बोल्ने, पाहुना हेर्ने, भात–तिहुन बनाउने, भाँडावर्तन धुने आदि काम हुन्छ । त्यो कसले ग¥यो गरेन ख्याल गरिन्छ । यो कर्ममा सहयोग गर्नुलाई निलोखा फ्लोतिम भनिन्छ । फ्लोतिम निलोखाअन्तर्गत पर्छ । एकपटकलाई त नतिर्दा केही फरक पर्दैन । अर्कोपटक समाज आउँदैनन् । त्यसैले पुख्र्यौली भनाइ छ, ‘लोखा तिर्न सजिलो । निलोखा तिर्न गाह्रो हुन्छ ।’

यस्तो कार्यमा सघाउनीका रूपमा पैसा सहयोग गरिन्छ । आफ्नो कार्यमा आएर पैसा सघाउनी १०१०/– गरेको छ भने आफूले उसको कार्यमा जान्दा ११००/– लिएर जानुपर्छ । काठ, नुन, तेल सापटी दिनु लोखाअन्तर्गत पर्छ ।

घरपैंचोमा पनि यस्तै प्रक्रिया हुन्छ । पर्म लगाउने पनि चलन छ । कति खेताला लिएको छ, त्यति खेताला बुझाउनुपर्छ । साना सहयोग धेरै छन् । जस्तै : गोरु, भैंसी मर्दा पुर्न सहयोग गर्ने, खबर पुर्याउनेलगायतको स–सानो सहयोग लिइरहेका हुन्छन् ।

निष्कर्ष :

जन्मेपछि मृत्यु नभएसम्म जीवनयापन गर्न विभिन्न पद्धति अपनाउनुपर्छ । त्यसमध्ये अर्थ प्रणाली मुख्य पाटो हो । त्यसको साध्यका रूपमा किरात राई चाम्लिङ समुदायले लोखा विकास गरे । आदिवासी ज्ञानलाई अर्थ र विकासको जग मान्न सकिन्छ । हजारौं अभ्यासबाट बनेको किराती ज्ञान अहिले पनि उत्तिकै महत्वपूर्ण छ । त्यत्तिकै व्यावहारिक पनि ।

प्रतिक्रिया दिनुहोस्