लाटी कमिनी रिसाएपछि शिक्षक रामु बस्नेत मंगलटारबाट निष्कासित


 

डिकुवा, बाहुनीडाँडा, च्यास्मिटार, बडहरे, दुर्छिम, मंगलटार र हलेसी । साबिकका सात गाउँ विकास समिति नेकपा (माओवादी) खोटाङको भूगोलगत संरचनाअन्तर्गत ७ नम्बर एरियामा पर्थ्यो । यो एरियामा राजनीतिक, सामाजिक, आर्थिक र जातीयलगायत अनेक अन्तरविरोध थिए । त्यसताका पुरानो सत्ता विस्थापित भएको र माओवादी जनसत्ताले स्थानीय अन्तरविरोध पहिचान गरी समाधान गर्थ्यो। ७ नम्बर एरियामा सालिन्दा सत्तरीवटासम्म गम्भीर प्रकृतिको मुद्दा जनअदालतमार्फत मिलाउनुपर्थ्यो । सबैजसो साना मुद्दा भने वडागत जनअदालतले मिलाउँथ्यो ।

त्यसताका मंगलटारमा गम्भीर प्रकृतिको मुद्दा मिलाउनुपरेको हिजैजस्तो लाग्छ । यो घटना साबिक मंगलटार गाविस र अहिलेको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको हो । प्रसंग भूपू इलाका सदस्य अर्थात् क्षेत्रपाल अकिल राई र भूपू गाविस अध्यक्ष जुद्ध पुलामीमगरसँग सम्बन्धित थियो । मंगलटारको डाँडागाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक रामु बस्नेतले राई र मगरविरुद्ध १२ पेजको आरोप पत्र जनअदालतमा मुद्दा दायर गरेका थिए ।

त्यतिखेर राई र मगरले सार्वजनिक पद धारण गरेको समयावधि सकिएको चार वर्ष बितिसकेको थियो । बस्नेतले मगर गाविस अध्यक्ष हुँदा गाविसका बजेट भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उनले राईलाई एडीबीद्वारा सञ्चालित खानेपानी आयोजनाका लागि जनश्रमदानबाट परिपूर्ति गर्नेगरी ९१ हजार १० रुपैयाँ कामै नगरी भ्रष्टाचार गरेको आरोप लगाए । वास्तविकता बुझ्दा सो योजना फरफराक गरी योजना सम्पन्न भएको प्रमाणपत्रसमेत लिइसकेको तथ्य खुलासा भएपछि बस्नेतले आरोपका लागि आरोपमात्रै लगाएको प्रमाणित भयो ।

आफू माओवादी पार्टीसम्बद्ध हुँ भन्दै उनले अकिल र जुद्धलाई ठेगान लगाउने सपना बुनेका रहेछन् । अकिल र जुद्ध गैरमाक्र्सवादी विचार प्रवाह गर्ने संशोधनवादी, चरमपन्थी हुन् भनेर खुइल्याउनु उनको पुरुषार्थ थियो । आफूलाई सच्चा देशभक्त माक्र्सवादी हुँ भन्दै हिँड्ने उनीहरूको पछि नलाग्न वडावासीलाई आह्वान गर्थे । मंगलटारमात्रै नभएर हलेसी भेगमै माओवादी आन्दोलन कमजोर बनाउन उनीहरूको भूमिका अहम् रहेको लिखित आरोप पत्रमा उल्लेख थियो । त्यस्तो आरोप पत्र पेस गरेर माओवादीसँग नजिकिएको स्वाङ पारेका बस्नेतले अकिल र जुद्धको सोझोपनको फाइदा लिने षड्यन्त्र रहेको थाहा पाउन पार्टीलाई धेरै समय लागेन ।

आफ्नो गम्भीर कमजोरी लुकाउन उनले षड्यन्त्रको जाल रचेको विभिन्न अनुसन्धानबाट पुष्टि भयो । आफू माओवादी भएपछि पार्टीले अकिल र जुद्धलाई कारबाही गरेर सदाका निम्ति समाजबाट बिदाइ (मृत्युदण्ड)को सजाय दिनेमा उनी ढुक्क थिए । त्यस्तो आसय व्यक्त गर्दै पार्टी नेतृत्वसँगको भेटघाट तथा छलफलमा मौखिक मागसमेत गर्थे । त्यसो भएपछि आफ्नो सबै कमजोरी ढाकछोप हुन्छ भन्नेमा रामु बस्नेत निश्चिन्त थिए ।

अन्ततः अरूलाई हाल्न खनेको खाल्डोमा उनी आफैं परे । स्थानीय बलबहादुर कामीकी बहिनी खड्गीमाया कामी (लाटी कमिनी)लाई उनले पटक–पटक दुव्र्यवहार गरेको पोल खुल्यो । स्थानीय जनमिलिसियाले पीडितलाई सोधपुछ गरे । पीडितले म घाँस काटिरहँदा, जंगलमा एक्लै दाउरा काटिरहँदा, पँधेरोमा पानी भरेर घर फर्कंदै गर्दा रामु मास्टरले मलाई दुर्व्यवहार गरेको हातले इसारा गरिन् । मास्टरले गाउँठाउँका धेरै महिलालाई दुर्व्यवहार गरे पनि इज्जत जाने डरले कसैले मुख नखोलेको स्थानीयले सुनाए ।

एकपछि अर्काे पोल खुल्दै गएपछि उनी आत्तिए । ‘मैले गल्ती गरेकै हो । गल्ती आरोप पत्र लेखेकै हो । मेरो जागिर बचाइदिनूस्,’ उनले भने, ‘म निवेदन फिर्ता लिन्छु । मेरो आरोप पत्र झुटो हो भनी लिखित माफी माग्छु ।’

लगत्तै रामु बस्नेतलाई के गरौं भनेर सभासद् मणि खम्बू ‘रिवासी’ले खड्गीमाया कामी (लाटी कमिनी)लाई हातको इसाराले सोधिन् । लाटी कमिनीले आक्रोशित मुद्रामा रामु बस्नेतले बोकेको गोजीको रातो र कालो डटपेन झिकेर फालिदिइन् । यो मास्टरले आइन्दा यहाँ पढाउनुहुँदैन भनेर हातको इसाराले आफ्नो धारणा व्यक्त गरिन् । त्यतिमात्रै होइन, घरको दलानमाथि राखिएको घङ्गरुको लठ्ठी झिकेर रामु बस्नेतलाई ड्याम कि ड्याम पिटिन् । अनुहारमा थुकिन् । आइन्दा रामु बस्नेतलाई यो गाउँमा देख्न नपरोस् भनेर इसारा गरिन् ।

जनसत्ताले त्यसताका पीडितको माग सम्बोधन गर्थ्यो । जनतालाई अनुमोदन गर्न लगाउँथ्यो । जनयुद्धताका हेरिएको लाखौंमध्ये त्यो मुद्दा नौलो हुनुपर्छ । पीडितको मागअनुसार जनअदालतले लिखित फैसला गरेर न्याय दिएको घटना ऐतिहासिक थियोे । त्यसपछि रामु बस्नेत मंगलटार बस्न पाएनन् ।

बस्नेतका भाइ नेपाली सेनामा कार्यरत थिए । उनले मलाई माओवादीसँग मिलेर अकिल र जुद्धले फसाए भनेर पूर्वी पृतना कार्यालय इटहरीमा झुटो निवेदन दिए । अकिल र जुद्धलाई इटहरी बोलाइयो । निवेदकले जनअदालतमा आफ्नो कमजोरीप्रति आलोचित भई सच्चिने र आगामी दिनमा सरुवा मिलाई पठनपाठनका अन्यत्र सरुवा जाने व्यहोराको कागजपत्रमा रामु बस्नेतले हस्ताक्षर गरी औंठाछापसमेत लगाएको कागज देखाएपछि पूर्वी पृतनाले बस्नेतलाई प्रहरीको जिम्मा लगाए । प्रहरीले १८ दिन हिरासतमा राखेपछि तीन महिना जेल बस्न बाध्य बनायो ।

जेलमुक्त भएपछि न्याय पाउँछु कि भनेर खोटाङका मानवअधिकारकर्मी लिएर मंगलटार पुगे । अधिकारकर्मीले बस्नेतलाई जागिर खान नदिई किन दुःख दिएको ? भन्दै अकिल र जुद्धलाई सोधे । अकिल र जुद्धले मुखभरिको जवाफ दिए । रामु बस्नेतको मानवअधिकार रक्षा गर्दा १८ देखि २० जना छात्रा विद्यालय जान वञ्चित हुने भएकाले सरुवामात्र गराउन खोजेको सुनाए । २० जना छात्राको मानवअधिकार ठूलो कि एक बदनाम, बलत्कारीको भनेर प्रतिप्रश्न गरिएपछि मानवअधिकारकर्मी नाजवाफ भए ।

त्यतिबेला माओवादीले मुद्दा कसरी फैसला गर्दारहेछन् भन्ने थाहा पाउन यो संस्मरणले प्रस्ट पार्ने प्रयत्न गरेको छ । माओवादी ७ नम्बर एरियाले २०६१ भदौको सुरुतिर मंगलटारको त्यो मुद्दा केलाउने निर्णय गरेको थियो । त्यो भदौ ४ वा ५ गते हुनुपर्छ । त्यो मुद्दा स्थानीय जनप्रतिनिधिसँग सम्बन्धित भएकाले माओवादीले सुझबुझसाथ फैसला गरेको थियो । सत्य तथ्य बाहिर ल्याउन निकै समय लगाउनुपरेको थियो ।

तात्कालिक एरिया इन्चार्ज टंक तामाङ ‘मदन’को भनाइ थियो, ‘त्यो मुद्दामा थोरै मिस्टेक भएको भए राष्ट्रिय राजनीतिलाई समेत प्रभावित पाथ्र्यो ।’ एरिया इन्चार्ज मदनको पहलमा पार्टीको माथिल्लो तहको नेतृत्वको उपस्थितिमा मुद्दाको बहस गराएका थिए । तात्कालिक माओवादी पार्टी जनकपुर–सगरमाथा क्षेत्रीय व्युरो सदस्य तथा सभासद् मणि खम्बू ‘रिवासी’को उपस्थिति र अगुवाइमा स्थानीय एरिया पार्टी सेक्रेटरी जीवन राई ‘संगीन’, अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सदस्य चइन्द्र राई ‘आक्रोश’, जिल्ला पार्टी सदस्य अनिता खड्का र सोनाम किरातीको रोहबरमा अनुसन्धान थालिएको थियो ।

मंगलटारनिवासी समाजसेवी तथा माओवादी शुभेच्छुक शिव बस्नेत (बाटोघरे)को घरमा स्थानीयको बाक्लो उपस्थितिमा पार्टी र जनसत्ताले बिहानको ११ बजेदेखि अनुसन्धान थालेको थियो । आरोपित र आरोपकर्तालाई छुट्टाछुट्टै राखेर मुद्दासम्बन्धी पटक–पटक प्रश्न गर्दा र स्थानीयको राय–सुझाव लिँदा अकिल राई र जुद्ध पुलामीमगर निर्दाेष ठहरिए । अन्ततः दिउँसो ३ बजेतिर रामु बस्नेत स्वयम्ले आफूले गलत आरोप लगाएको स्वीकारे ।

प्रतिक्रिया दिनुहोस्