४०० रुपियाँ किलोमा गुन्द्रुक बेचेर २५ घरपरिवारको जीविकोपार्जन



पाल्पा । गुन्द्रुक उत्पादनमा स्थानीय महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि उनीहरूले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन् ।

तानसेन नगरपालिका छापका झन्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् । छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्दु्रक मासिक दुईतीन पटक बजार लगेर बिक्री गर्छिन् । कँडेलले स्थानीय डुम्रे, जहरेपीपल, तानसेन र प्रभासलगायतका बजारमा लगेर बेचिएको गुन्द्रुकबाट झन्डै एकपटकमा पाँच/सात हजार आम्दानी गर्दै आएकी छन् ।

प्रतिकिलो ४०० मा गुन्द्रुक बिक्री हुन्छ । मिहिनेतअनुसार मूल्य पाएपछि स्थनीय महिला पछिल्ला वर्ष गुन्द्रुक उत्पादन गर्न व्यस्त बनेका हुन् । रायो, तोरी, मुलाको साग आदिबाट बनाइने गुन्द्रुक परम्परागत तरकारी हो । यसलाई नेपालको वा नेपालीको विषेश खानाका रूपमा लिइन्छ ।

नेपाली मौलिक परिकार गुन्द्रुक सागबाट बनाइने तरकारी हो । पहाडी जिल्ला पाल्पामा चिसो बढेसँग गुन्द्रुकको परिकार खाने चलन छ । सहर तथा ग्रामीण क्षेत्रमा चिसो मौसममा गुन्द्रुकको माग बढ्दो छ । गुन्द्रुकको माग बढेसँगै ग्रामीण क्षेत्रमा यसको उत्पादन गरी आम्दानीको स्रोत बनाउन थालेको पाइन्छ ।

छापकै डिलबहादुर रानाले घरको छतमा गुन्दु्रक (सिन्की) सुकाइरहेका थिए । बारीमा उत्पादित मुलालाई उखलेर राम्रोसँग धोइपखाली गरी दुई/तीन दिन घाममा सुकाइन्छ । घाममा सुकेको मुलालाई ढिकीमा कुटेर मसिनो बनाइन्छ । यसरी मसिनो बनाएको मुलाको सागलाई प्लास्टिक वा माटाको भाँडामा मलखादमा पुरी बफाउने गरिन्छ । मलखादबाट निकालेर घाममा सुकाएको सागलाई नै तरकारीको परिकारका रूपमा खाने चलन रहेको रानाले बताए ।

बजारी क्षेत्रका मानिसले सागलाई कुटेर प्लास्टिकका भाँडामा घाममा सुकाउने चलनसमेत रहेको बताइन्छ । पहिला ग्रामीण क्षेत्रमा उत्पादित गुन्द्रुक अहिले सहरी क्षेत्रमा समेत माग छ । सहरका ठूला होटलमा गुन्दु्रकको झोल र अचारको खपत बढ्दो छ । नेपाली पहिचान बोकेको गुन्दुक उत्पादनमा कमी हुँदा चीनबाट समेत यसको आर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्