साक्षात् ‘सानो हलेसी’


केपिलासगढी गाउँपालिका–१, फेदीको केलसीमा रहेको सानो हलेसीको प्रवेशद्वार । सबै तस्बिर : दीपेन्द्र राई

फेदी (खोटाङ) । कलात्मक ढुंगे गुफा । झन्डै ५०० मिटर लम्बाइ । गुफा प्रवेश गर्दा निहुरिनुपर्ने । अलि पर पुगेपछि उभिएरै हिँड्न मिल्ने । उभिएरै गुफा वारपार गर्न सकिने स्थानीयको भनाइ । स्थानीयले यो गुफालाई सानो हलेसी भन्ने गर्छन् ।

‘गुफा असाध्यै राम्रो छ । ढुंगै ढुंगाको सुरुङजस्तो गुफा,’ गुफामै भेटिएका केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका वडासदस्य डिक साम्पाङ राईले सुनाए, ‘तर, प्रचार प्रसार अभावमा ओझेल परेको छ ।’

केपिलासगढी गाउँपालिका–१, केलसी फेदीमा रहेको सानो हलेसी त्रिधाम हलेसीसँग मिल्दोजुल्दो छैन । त्रिधाम हलेसी गुफै गुफाको प्राकृतिक गन्तव्य हो । हलेसीका दुई गुफा मुख्य मानिन्छन् । पहिलो हलेसी गुफा । दोस्रो खोक्चिलिपा बुक्टो (बसाहा गुफा) । तर, सानो हलेसीमा एउटै सुरुङजस्तो गुफा रहेको छ ।

केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका वडासदस्य डिक साम्पाङ राई सानो हलेसी गुफाबाट बाहिरिँदै ।

आन्तरिक तथा बाह्य पर्यटक त्रिधाम हलेसी गुफा पसेपछि छक्क पर्छन् । तीनछक पर्दै गुफा घुम्छन् । तर, सानो हलेसीमा रहेको गुफा पस्न स्थानीय डराउँछन् । जंगलबीचमा रहेको गुफा पस्दा अनिष्ट हुने स्थानीयको बुझाइ छ ।

‘म दुईपटक गुफा पसिसकें,’ स्थानीय चन्द्रकला राईले निर्धक्क भनिन्, ‘गुफा पस्दा मलाई हानि भएको छैन ।’

‘गाउँठाउँमै रहेको सानो हलेसीबारे सुनेको २२ वर्ष भयो । तर, पसेकी थिइनँ,’ स्थानीय आसमाया राईले भनिन्, ‘गुफा पस्न हुँदैन भनेको सुनेथें । यसपटक पहिलोपटक गुफा पसें । गुफाआसपासका जंगलमा घाँस–दाउरा काट्न हुँदैन । काटेमा उसलाई हानि हुन्छ ।’

नेपाली काँग्रेस, जिल्ला कार्यसमिति खोटाङ आमन्त्रित सदस्य सयन्द्र राई सानो हलेसी गुफाबाट बाहिरिँदै ।

आठ वर्षअघि गुफाआसपासको जंगलमा उत्तिस ढाल्दा स्थानीय मतिराज राई घाइते भएका थिए । घोचाका लागि जंगलका स–साना रुख काट्दा आफ्नै अघि रिसाएका बाघ देख्दा दीपेन्द्र राईको हंशले ठाउँ छाडेको थियो । राईले भोगेको दृष्टान्त एक कान दुई कान मैदान भएपछि ‘दीपेन्द्रले घोचाका लागि रुख काटेकाले देवी छचल्किएकी हुन्’ भनेर स्थानीय नवराज राईले आफ्नो धारणा राखेको आसमायाले बताइन् ।

जंगलमा घाँस–दाउरा काट्न हुँदैन भनेर स्थानीलाई थाहा छ । तर पनि कतिपय अवस्थामा काट्नै पर्ने बाध्यता हुन्छ । घाँस–दाउरा काटेपछि काट्नेलाई अनिष्ट भएरै छाड्छ । उसको चौपायसमेत बाघले खाइदिन्छ ।

सानो हलेसीमा सानो मान्छे ।

‘यहाँ घाँस–दाउरा काट्ने मान्छे लड्छन्,’ पशपति राईले थपिन्, ‘उसका गाईभैंसी मर्छन् । कतिपयको हातखुट्टा दुख्नेमात्रै होइन चल्दै चल्दैन । ३० वर्षअघि गाउँकै रूपबहादुर राईलाई बाघले रुखबाटै तानेर घाइते बनाइदिएको थियो ।’

पहिले–पहिले यहाँ पञ्चमी–पञ्चमीमा पूजाआजा गरिन्थ्यो । त्रिशूल चढाइन्थ्यो । हिजोआज केही गरिँदैन । कारण स्थानीयलाई नै थाहा छैन । स्थानीयले धर्म परिवर्तन गर्दै गएपछि पूजाआजा गर्न छाडिएको हुन सक्ने वडासदस्य राईको ठम्याइ छ । मुन्दुमीले यहाँ देवी उतार्ने भनेको स्थानीयले सुनाए ।

‘सानो हलेसीजस्ता प्राकृतिक गुफा संरक्षण तथा सम्बद्र्धन गर्न पालिका सकारात्मक छ,’ केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईले प्रतिबद्धता जनाए, ‘यस्ता ठाउँ पहिचान गरेर पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गर्न ढिला गर्न हुँदैन ।’

केपिलासगढी गाउँपालिका–१, फेदीको केलसीमा रहेको सानो हलेसीको प्रवेशद्वार ।

केपिलासगढी गाउँपालिका–१, फेदीभरि रहेका यस्ता सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक स्थल पहिचान गरी प्राथमिकताका आधारमा वडा र पालिकाकाले पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गर्न हरसम्भव प्रयत्न गर्ने अध्यक्ष राईको भनाइ छ ।

सानो हलेसीमा सानो मान्छे ।

प्रतिक्रिया दिनुहोस्