‘तैं पापी होस्’ भन्दै कराउने चरा


 

उहिले–उहिलेको कुरा हो । खोटाङ जिल्ला खार्तम्छाको एउटा परिवारमा दुईजना बूढाबूढी मात्रै थिए । उनीहरूको आर्थिक अवस्था दयनीय थियो । बूढा माछा मारेर बेच्ने गर्थे । बूढीचाहिँ गाउँलेको घरमा गई ढिकी–जाँतो गर्थी । अनि जुठो भाँडाकुँडा माझिदिन्थी । यसरी उनीहरूले आफ्नो जीविका चलाएका थिए ।

तर, एउटै सन्तान नभएकाले उनीहरू सधैं चिन्तित थिए । उनीहरू ठूलो चिन्ता थियो– मरेपछि हाम्रो काजकिरिया कसले गर्लान् ? सन्तान होस् भनी उनीहरू किराती देवीदेवताको पूजा तथा भाकल गर्थे । तर, उनीहरूको कुनै सन्तान भएन ।

विवाह भएको पन्ध्र वर्षपछि भने उनीहरूको छोरो जन्म्यो । खुसीले गद्गद् भए उनीहरू । सोही खुसियालीमा ठूलो खर्च गरी छोराको पास्नीमा भोजभतेर गरे । समय बित्दै गयो, छोरो पनि हुर्किंदै गए । उनीहरू जहाँ गए पनि छोरालाई साथमै लिएर हिँड्थे । एक दिन बूढीले बूढालाई भनी, ‘आज हामीहरू छोरालाई साथमा लिएर खोलामा जाऔं । म खोलामा नुहाइ–धुवाइ गर्छु, लुगा धुन्छु । तपाईंचाहिँ माछा मार्नोस् ।’
बूढाले सहमति जनाए । खानपानपछि दिउँसो छोरालाई लिएर उनीहरू खोला झरे । टन्टलापुर घाम लागिरहेको थियो । छोरालाई खोलाकिनारमा राखेर बूढी लुगा धुन थाली । बूढा माछा मार्न । अकस्मात् लेकमा पानी परेकोले खोलामा बाढी आयो ।

बाढी आएकाले बूढीले आत्तिएर छोरालाई सम्झी । ऊ छोरालाई लिन दौडी तर छोरा भएको ठाउँ पुग्नुभन्दा अगाडि नै बाढीले कोक्रोसहित छोरालाई बगाइसकेको थियो । आफ्नो छोरालाई खोलाले बगाएको देखेर त्यसतर्फ ‘अ सिबौ ! अ सिबौ !’

(ए मेरो छोरा ! ए मेरो छोरा !) भन्दै बूढी दौडी । बाढीले बूढीलाई पनि बगाइहाल्यो । खोलामा छोराचाहिँ अघि–अघि थियो भने बूढीचाहिँ पछि–पछि ।

बग्दै जाँदा बूढीचाहिँ एउटा रूखमा अड्केको देखेर बूढाले उसलाई खोलाबाट निकाले । बूढी भने झन् चिच्याएर रुन थाली । यो देखेर बूढाले सोध्यो, ‘यसरी किन रोएकी ?’ बूढीले जवाफ दिई, ‘खोलाले छोरालाई बगायो ।’ बूढाले भने, ‘तैं पापिनीले गर्दा यस्तो भएको हो ।’ बूढाको कुरा सुनेर बूढीलाई साह्रै रिस उठ्यो । बूढीले छोरा खोज्दै, रुँदै कराउन थाली, ‘ए मेरो छोरा म पनि तेरो पछि–पछि आउँछु । मलाई पर्खी है ।’ यसरी रुँदै–कराउँदै जाँदा अलि पर पुगेपछि खोलाले बूढीलाई फेरि बगायो र त्यसपछि ऊ मरी ।

अर्को जन्ममा बूढी चरी भएर जन्मी । आज पनि खार्तम्छाको जंगलमा छोरालाई बोलाएको जस्तो गरी उक्त चरी कराउँछे । खोलाले बूढीलाई बगाएर लगेपछि बूढा पागलजस्तो भएर ‘तैं पापी होस्’ भन्दै कराउँछ । खार्तम्छाको जङ्गलमा आज पनि ती चराहरू प्रायः एकैठाउँमा अगाडि–पछाडि भएर उड्छन् ।

प्रतिक्रिया दिनुहोस्