बोटबिरुवालाई पनि गर्मी हुने



सर जगदीशचन्द्र बोस भारतका प्रथम वैज्ञानिक थिए, जसले बोटबिरुवा पनि अन्य जीवजन्तुजस्तै संवेदनशील हुन्छन् भन्ने प्रमाणित गरे । बोटबिरुवालाई पनि सुख, दुःख, गर्मी, जाडो, प्रकाश, आवाज र उत्तेजनालगायतका अनुभूति हुने गर्छ । बोटबिरुवाको संवेदनशीलताको अनुभव गर्नका निम्ति उनले ‘क्रेस्कोग्राफ’ नामक यन्त्र बनाए, जसले बोटबिरुवाका अत्यन्त सूक्ष्म गतिविधिलाई पनि दस हजार गुणा ठूलो गरेर प्रदर्शन गथ्र्याे । यस यन्त्रबाट रूख तथा बोटबिरुवा र अन्य जीवजन्तुमा अनेकौँ समानता छन् भन्ने कुरा प्रमाणित गर्न उनी सफल भए ।

१० मई १९०१ को कुरो हो । रोयल सोसाइटी, लन्डनको हल चिरपरिचित वैज्ञानिकले खचाखच भरिएको थियो । विश्वभरिका सबै वैज्ञानिक सर जगदीशचन्द्र बोसको प्रयोग हेर्नका निम्ति आतुर थिए । जसमा बोटबिरुवामा पनि मानिसको जस्तै संवेदनशीलता हुन्छ भन्ने प्रमाणित गरी देखाइँदै थियो । बोसले एउटा बिरुवा लिए, त्यसका जरा बोतलमा हाले, जसमा ब्रोमाइड नाम गरेको एउटा विष थियो ।

बिरुवाको सम्बन्ध आफ्नो यन्त्रसँग जोडे, जसले पर्दामा प्रकाश बिन्दुको माध्यमबाट बिरुवाको गति प्रदर्शन गथ्र्याे । बिरुवाबाट उत्पन्न हुने स्पन्द प्रकाश बिन्दुलाई पर्दामा पेन्डुलमजस्तै गति गराइरहेको थियो । अकस्मात् प्रकाश बिन्दुले तीव्र गति लियो र त्यहीँ रोकियो । दर्शकलाई कस्तो अनुभूति भयो भने मानौँ कुनै मुसालाई विष दिइयो, त्यो केही छिनमै तड्पेर मर्न गयो ।

विषको प्रभावले बिरुवा मर्यो । यसलाई हेरेर सम्पूर्ण हल तालीको गडगडाहटले गुन्जियो । तर, केही वनस्पति वैज्ञानिक यस प्रदर्शनबाट खुसी भएनन् किनकि बोसजस्ता वैज्ञानिकको यस क्षेत्रमा उदय भएको उनीहरूलाई मन परेको थिएन । उनीहरूले यो प्रयोगको आलोचना गरे तर बोसमाथि आलोचनाले कुनै प्रभाव पारेन । उनी आफ्नो प्रयोगमा सही छु भन्नेमा विश्वस्त थिए ।

आफ्नो त्यही यन्त्रको सहायताले बोसले वनस्पतिको उर्वरता, प्रकाश तथा बेतारका तरंगको संवेदनशीलताको अध्ययन गरेका थिए । यही यन्त्रद्वारा उनले जीव तथा वनस्पतिमा कैयौँ समानता भएको तथ्य स्थापना गरेका थिए, जसलाई त्यसपछि जैवभौतिकी मेसिनद्वारा प्रमाणित गरियो । यस यन्त्रको सन् १९०० मा पेरिस कंंग्रेस अफ साइन्समा धेरै प्रशंसा गरियो ।

यस महान् वैज्ञानिकको जन्म २० नोभेम्बर १९५८ मा बंंगालको मैमनसिंह गाउँमा भएको थियो । उनको बाल्यकाल भारतीय संस्कृतिमा रमायो । बाल्यकालमा उनले रामायण र महाभारत पढेका थिए । महाभारतको कर्ण नामक पात्रले उनको जीवनमा ठूलो प्रभाव पार्यो । ‘‘कर्ण जीवनभरि सफलता प्राप्त गर्नका निम्ति संघर्ष गर्दै रहे,’’ यस भनाइबाट उनलाई ठूलो प्रेरणा प्राप्त भयो । उनलाई हारबाटै जित प्राप्त हुने कुरामा विश्वास भयो ।

जब उनी सेन्ट जेभियर स्कुल, कलकत्तामा पढिरहेका थिए, ब्रिटिस विद्यार्थीबीचमा उनी मात्र एक त्यस्ता विद्यार्थी थिए, जो गाउँबाट अध्ययन गर्न आएका थिए । अंग्रेजका बालबालिकाले उनको खिल्ली उडाउँथे । ती अंग्रेज बालबालिकामा एकजना निकै बलियो केटो थियो, जसले प्रायः बोसलाई पिट्थ्यो । एक दिन बोसले सहन नसकी त्यसको प्रतिवाद गरे, त्यस अंग्रेज केटोलाई नराम्रोसँग पिटे । त्यसपछि कुनै पनि अंग्रेज केटाले उनलाई छुनेसम्म हिम्मत गरेन । उनी कलकत्ता विश्वविद्यालयमा भौतिकशास्त्र अध्ययन गरेपछि क्याम्ब्रिज विश्वविद्यालय गए । सन् १८८४ मा त्यहाँबाट स्नातकोत्तर हासिल गरेर भारत फिर्ता भए । भारत आएपछि उनलाई प्र्रेसिडेन्सी कलेज, कलकत्तामा भौतिकशास्त्र प्राध्यापकमा नियुक्त गरियो ।

बोस मिहिनेती र स्वाभिमानी थिए । त्यहाँ उनको जीवनमा एउटा रहस्यम घटना घट्यो । बोस त्यसबेला एक सम्मानित प्रोफेसर थिए, जब कि अंग्रेजहरू त्यतिबेला भारतीयलाई अपमान दृष्टिले हेर्थे । ती दिनमा कुनै पनि भारतीय प्रोफेसरलाई अंग्रेज प्रोफेसरको तुलनामा दुईतिहाइ तलब दिइन्थ्यो । यद्यपि, बोसको अस्थायी नियुक्ति थियो, त्यसकारण उनलाई अंग्रेज प्रोफेसरको तुलनामा आधा तलब दिइन्थ्यो । उनले यस्तोखालको पक्षपातपूर्ण व्यवहारको कडा विरोध गरेका थिए । विरोधकै कारण तीन वर्षसम्म उनलाई तलब दिइएन । अन्त्यमा बोसको विजय भयो । उनलाई तीन वर्षसम्मको एकमुस्ट तलब दिइयो ।

बोसले दुई प्रसिद्ध पुस्तक ‘रेस्पोन्स इन द लिबिङ एन्ड ननलिबिङ’ (१९०२) र ‘द नर्बस मेकानिज्म अफ प्लान्ट्स’ (१९२६) पनि लेखे ।
सर जगदीशचन्द्र बोसले रेडियो तरंगमा पनि धेरै काम गरेका थिए । यस विषयमा काम गर्ने प्रेरणा उनलाई हेनराक हर्टनका माथि ओलिबर लोसको शोधपत्रबाट प्राप्त भयो । यद्यपि, विश्वविद्यालयबाट उनलाई कुनै वित्तीय सहायता प्राप्त भएन तर आफ्नो अनुसन्धानका निम्ति आवश्यक उपकरणको निर्माण उनले तीन महिनामै गरेका थिए ।

बोस एक वनस्पतिशास्त्रीका रूपमा प्रसिद्ध थिए तर उनी मूल रूपमा भौतिकशास्त्री थिए । एक किसिमले त उनलाई वायरलेस टेलिग्राफी आविष्कारक पनि भन्न सकिन्छ । यद्यपि, उनलाई यो श्रेय कहिल्यै प्राप्त भएन । सन् १८९५ मा मारकोनीले पेटेन्ट लिनुभन्दा पहिले नै उनको वायरलेस टेलिग्राफ जनतासामु प्रदर्शन गरिएको थियो । बोसले पेटेन्ट लिनुभन्दा पहिले नै यसको श्रेय मारकोनीले लिएका थिए । उनले रेडियो तरंगको पत्ता लगाउन कोहरर  नामक यन्त्र लिए । यही यन्त्रका आधारमा उनले रूखबिरुवाको अध्ययनका निम्ति अर्को यन्त्र बनाए, जसबाट उनलाई विश्वमा ख्यातिप्राप्त भयो ।

बोसले विज्ञानमा अनेकौँ महत्वपूर्ण योगदान गरेका थिए तर महात्मा गान्धी, रवीन्द्रनाथ टेगोर र स्वामी विवेकानन्दजस्ता प्रसिद्ध व्यक्तिले उनको प्रयोगको महत्वलाई सम्झन सकेनन् । उनलाई आफ्नो देशमा त्यतिबेला मात्रै प्रसिद्धि प्राप्त भयो, जब पश्चिमी संसारले उनका सम्पूर्ण कार्यलाई ठूलो महत्व दियो ।

२३ नोभेम्बर १९३७ मा महान् वैज्ञानिक जगदीशचन्द्र बोसको निधन भयो । निधन हुनुभन्दा पहिले उनले कलकत्तामा बोस इन्स्टिच्युट स्थापना गरेका थिए । त्यसबेला यस संस्थामा मुख्य रूपले वनस्पतिसँग सम्बन्धित अनुसन्धान हुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्