भोकाएकालाई भात



म काठमाडौंबाट बसमा हलेसी खोटाङ फर्कंदै थिएँ । बिहानको खाना खाने समय भयो । यात्रुवाहक बस घुर्मीमा रोकियो । कटारी र काठमाडौं छुट्टिने बाटो घुर्मीमा बस रोकिएपछि यात्रु खाना खान होटल पसे ।

म पनि पसें । खाना खाएर हात धुन निस्कँदै गर्दा होटलबाहिर एक वृद्ध देखें । उनले होटलमा खाना खाइरहेकालाई एकोहोरो हेरिरहेका थिए । मलाई लाग्यो– उनले भातमात्रै हेरिरहेका छन् । यात्रु खाना खाने धुनमा थिए । मैले होटल सञ्चालकलाई खाना मागें । होटल सञ्चालकले भर्खर खाना खानुभएको होइन भनेर सोधे । मैले वृद्धलाई देखाउँदै खाना मागेको बताएँ । उन (वृद्ध) लाई एकछिनपछि दिउँला नि भनेर टार्न खोजियो ।

मैले त्यसो भनेपछि उनलाई खाना दिइयो । अन्यलाई काँसेथालमा खाना दिइए पनि उनलाई अर्कै थालमा दिइएको थियो । त्यस्तो थालमा खाना दिएको देखेपछि मैले असहमति जनाएँ । खानाको पैसा मैले तिर्ने हो, उनलाई पनि काँसेथालमै खाना दिनुहोस् भनेपछि दिए ।

सात दिनदेखि खाना नखाएको सुनाउने ती वृद्धले एकसुरमा खाना खान थाले । उनले दायाँ–बायाँ नहेरी खाना खान थाले । खाना सकिएपछि थप्न लगाएँ । खाना थप्नेले छिःछिः र दूरःदूर मानेको व्यवहारमै देखिन्थ्यो । त्यस्तो गर्न हुँदैन भनेर मैले उनीहरूलाई सम्झाएँ ।

खानामात्रै होइन, मासु पनि थप्न लगाएँ । भोको पेटले सात दिनपछि खाना खान पाउँदा खुसी नहुने को होलान् र ? उनी पनि त्यस्तै खुसी देखिन्थे । भोको पेटले भोजन पाएपछि चाउरी परेको उनको अनुहारमा खुसी दौडेको देखें । उनको अनुहारमा खुसी पोतिएको देख्दा उनीभन्दा म धेरै खुसी भएँ । जुन खुसी पैसामा किन्न सकिँदैनथ्यो ।

त्यतिबेला मसँग दुई हजार रुपैयाँजति थियो । एक बोतल ‘मिनरल वाटर’ किनिदिएँ । मसँग भएको फलफूसमेत दिएँ । पानी, फलफूलसँगै पाँच सय रुपैयाँ थमाइदिएँ । मैले दिएपछि अरूले पनि पैसा र फलफूल दिए । म त झन् खुसी भएँ ।

घुर्मी (उदयपुर) मा भेटिएका उनीजस्ता अन्य वृद्धवृद्धा, असहाय देख्दा/भेट्दा आफूले सकेको सहयोग गर्दै आएको मलाई त्यस दिनको अपार खुसी सम्झँदा आज पनि पुलकित हुन्छु । घुर्मीमा भेटिएका ती वृद्ध प्रतिनिधि पात्रमात्रै हुन् । त्यस्तो खुसी प्राप्त गर्ने अवसरको खोजीमा छु ।

उनको नाम, ठेगाना र उनको तात्कालिक अवस्थाबारे सोध्न मन लागेको थियो । उनी मुस्किलले बोल्न सक्थे । मुस्किलले बोल्न सक्नेलाई झन् दुःख दिन मनले मानेन ।

(तुवाचुङ वर्ष १, अंक २५, २०७५ बाट)

प्रतिक्रिया दिनुहोस्