३१ वर्षमै ५ सन्तानकी आमा



म्याग्दी । १५् वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका जलन विकसँग बिहे गरेकी ३१ वर्षीया सुस्मिता विकले पाँच सन्तान जन्माइन् । उनी १६ वर्षमै आमा बन् ि। उनको कान्छो छोरा तीन वर्षका भए ।

“सानै उमेरमा बिहे गर्दा र छिटोछिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पीडित हुनुपरेको छ,” दृष्टिविहीन सुस्मिताले भनिन्, “अहिले श्रीमान्ले पनि छोडर गए । सडकमा गीत गाएर छोराछोरी पालेकी छु ।”

यस्तै, रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी ३१ वर्षीया मनीषा विश्वकर्माले पनि चार सन्तान जन्माइसकेकी छन् । छोरा जन्माउने आसमा परिवारनियोजनका साधन प्रयोग नगरेको विश्वकर्मा बताउँछन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी उनी बालबच्चाको पालनपोषण र शिक्षादीक्षामा समस्या भए पनि छोरालाई मान्यता दिने गलत सामाजिक मान्यताका कारण धेरै बच्चा जन्माएको बताउँछिन् ।

ताकमकी सुस्मिता र मनीषाजस्तै कम उमेरमा बिहे गर्ने, छिटोछिटो र धेरै बच्चा जन्माउने समाजमा धेरै छन् । शारिरिक तथा मानसिक रूपमा परिपक्व नभई सन्तान जन्माउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने बेनी अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कँडेलले बताए ।

कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । बेनी जिल्ला अस्पतालको पछिल्लो दुई वर्षको अभिलेखमा गर्भजाँच गराउने, गर्भपतन गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने २० वर्षमुनिका किशोरी अत्यधिक छन्  । आर्थिक वर्ष २०७६÷०७७ मा बेनी अस्पतालमा २० वर्षमुनिका १४९ किशोरी सुत्केरी भएका थिए  । सोही आवमा ३२ किशोरीले बेनी अस्पतालमै औषधि सेवन गरी गर्भपतन गराएकामा आठ किशोरीको शल्यक्रिया गरी गर्भपतन गराउनुपरेको थियो ।

यसैगरी, आव २०७७/७८ मा २० वर्षमुनिका १२४ किशोरीले बेनी अस्पतालमा गर्भ परीक्षण गराएकामा ९७ ले मात्र सुत्केरी सेवा लिएर आमा बने । सोही अवधिमा ११ किशोरीले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन गराएकामध्ये सात किशोरीको शल्यक्रिया गरिएको थियो । जिल्लामा बालविवाह नरोकिनुमा चेतनास्तरलाई मात्र हेरिएको छैन । मेलाजात्रा लगाउने सामाजिक परम्परा, गरिबी, इन्टरनेटको बढ्दो कुलत र गलत संगतलाई जिम्मेवार मानिएको छ ।

जिल्ला प्रहरीमा पछिल्ला दुई आर्थिक वर्षमा एक–एकवटा मात्र बालविवाहका मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्