बोहेम्मा (भन्ज्याङ)को तीन बत्ती, तीन चुला



हामी सानो हुँदा बोहेम्मा भन्ने गरेको यो ठाउँलाई हिजोआज चुमाखु भन्ज्याङ भन्न थालिएछ । यो ठाउँ अहिले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा पर्छ । यहाँ पहिले ठूलो पोखरी थियो । अहिले टारबारी भएको छ । यो ठाउँको पोखरी मैलेचाहिँ देखिनँ । त्यो पोखरीको पूर्वतिर ठुल्ठूलो ढुंगाको ढिस्को थियो । त्यो ढुंगाको ढिस्कोचाहिँ मलाई थाहा छ । हिजोआज त्यो ढिस्को पनि भत्काइसकेछ । त्यो ढुंगा नागको बत्ती बाल्ने ठाउँ हो । मलाई यो कुरा पहिलोपटक मेरी आमाले सुनाएकी हुन् । त्यसपछि मैले गाउँका बाजेबोजुहरूलाई पनि सोधेँ । उनीहरूले पनि हो भने । मैले यहाँको बत्ती देखेकी थिइनँ । मलाई विश्वास लागेको थिएन । एक दिन देखेँ । त्यो देखेर छक्कै परेँ ।

एक दिन बेलुकीतिर मेरी बहिनी सारोसारो बिरामी भइन् । आमाले मलाई धामी लिन पठाइन् । त्यतिबेला बोमेम्पा धामी धेरै सकती धामी थिए । रुमिसामाको घरदेखि पारि डाँडामा धामी बस्थे । हिजोआज त्यसलाई डाँडाबारी भन्न थालिएछ । म डाँडाबारीमा धामी लिन गएँ । धामी घरैमा थिए । मैले मेरी बहिनीको बिरामीबारे सबै कुरा बताएँ । अनि धामी लिएर आएँ ।

हाम्रो घर गैह्रामा थियो । त्यसैले हामीलाई गैह्राली भन्थे । धामीको घर अर्थात् डाँडाबारीबाट आउँदा बीचमा बोेहेम्मा आहाल र ढुंगाको ढिस्को पथ्र्याे । बोमेम्पा धामीसँग म आउँदै थिएँ । कुखुरा बास बस्ने बेला भएको थियो । त्यो ढिस्कोमा तीनवटा बत्ती तीन चुला भएर झललल बलेको देखेँ । बोमेम्पा धामीलाई मैले साइनोले बाबै भन्थेँ । मैले धामीलाई त्यो बत्ती देखाएँ, ‘बाबै, त्यो हेरन बत्ती बलिरहेको छ त ।’ बोमेम्पा धामीले भने, ‘हना तँलाई थाहा छैन ? यो ढुंगाको ढिस्को नागहरूको बत्ती बाल्ने ठाउँ हो ।’
मैले फेरि सोधेँ, ‘बाबै तीनवटा बत्ती पो बलिरहेको छ त ?’

बाबैले पनि भने, ‘तीनवटा नागको बत्ती बाल्ने ठाउँ हो यो । एउटा छालाकुको नागको बत्ती बाल्ने ठाउँ हो । अर्को बयाकुखोलाको नागको बत्ती बाल्ने ठाउँ हो । तेस्रो छुम्बुको नागको बत्ती बाल्ने ठाउँ हो ।’

मैले यो कुरा घरमा आएर आमालाई पनि सुनाएँ । मेरी आमा र बोमेम्पा त्यतिबेला पनि त्यो बोहेम्माको बत्तीबारे बोलेको सुनेँ । यो मुङ्सिम्छाहरूको माटो हो । बोहेम्मा भनेको धेरै राम्रो जग्गा हो ।

(यो कथा पदमसरी राई ‘ताराम्मा’ (८२) ले भन्नुभएको हो । यो कथालाई तिलक चाम्लिङले अनुवाद गरेका हुन् । कथावाचक ताराम्मा संवत् १९९५ सालमा जन्मेका हुन् । यो कथा ‘चाम्लिङ भाषाको पाठसंकलन (२०७७), भाषा आयोगबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्