मानवशास्त्रमा एमए गर्दै गरेका राईको काठमाडौंको मित्रपार्कमा मुन्दुम महाज्ञान केन्द्र


९ बजेर ९ मिनेटको समय । कात्तिकको ९ गते । ९ वटा दुनामा ९ वटा दियोबाती । ९ थरीका धुप । ९ वटा दियो । ९ खोलाका पानी । सुरुको (मुन्दुमीले राखेको) ९ रुपैयाँ सोचेप । १०९ वटा माला । १०९ गेडा चामल । १९ जनाको उपस्थिति । संवत् २०७९ । ९ नै ९ को सुन्दर संयोग ।

९ जनाले ९ वटा दुनामा भएको बाती एकैपटक बालेपछि मुन्दुमी (मविन्द्र राई ‘साइँलाखुईं’ ले ताली बजाए । यो दृश्य मुन्दुम महाज्ञान केन्द्र उद्घाटनको हो । त्यसपछि काठमाडौंको मित्रपार्कमा सञ्चालनमा ल्याइएको केन्द्रको विधिवत् उम्रुङफ्रोमा सम्पन्न भयो । यहाँ उपचार, ध्यान, घरचिन्ता, घरशान्ति, ग्रह कटाउने, योगा र भूतप्रेत हटाउने गरिन्छ ।

‘विभिन्न थरीका खानेकुराको प्याकेजलाई कम्बो भनिन्छ । मविन्द्र राई ‘साइँलाखुईं’ पनि कम्बो हुन्,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङले मुन्दुम महाज्ञान केन्द्र सञ्चालक मविन्द्र राई ‘साइँलाखुइँ’को प्रशंसा गरे, ‘मविन्द्र राजनीतिमा सक्रिय अनि इमानदार नेता हुन् । उनी धामीसम्बन्धी अध्ययन गर्ने विधा मानवशास्त्रका पनि विद्यार्थी । उनले वंशाणुगत रूपमा धामी ज्ञान लिएर आएका छन् । त्यसैले उनी तीन विधाका कम्बो हुन् ।’

हजारौं वर्षअघि गरिँदै आएको परम्परागत उपचार प्रणालीमार्फत धार्मिक तथा सांस्कृतिक रूपमा समाजसेवा गर्नु भनेको महान् काम हो । यत्तिका ज्ञान भएका मानिसले आफूसँग भएका ज्ञान बूढापाकाभन्दा फरक तरिकाले विकास, विस्तार, प्रयोग र अभ्यास गर्न सक्षम हुनेछन् ।

त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गर्दै गरेका मविन्द्र राई ‘साइँलाखुइँ’ले मुन्दुम महाज्ञान केन्द्र स्थापना गरी मुन्दुमी विधिले विधिवत् रूपमा सेवा दिन सुरु गर्नुभएकोमा आफूलाई असाध्यै खुसी लागेको कवि तथा गीतकार खुक्सङ खम्बूले सुनाए । ‘यस्तो महत्वपूर्ण कर्ममा पढालेखा भएका मानिसको प्रवेश अपरिहार्य थियो । र, छ । यस मानेमा उहाँको प्रवेश सराहनीय छ,’ संस्कृतिकर्मी खम्बूले थपे, ‘उहाँको कर्मले सेवाग्राही लाभान्वित त हुने नै छन्, सँगसँगै मुन्दुम थप उज्यालिनेछ । अनि सङ्लिनेछ । किराती ज्ञानले व्यापकता पाउनेछ ।’

‘मविन्द्र पाएराशि धामी हुन् । आफूमा भएको ज्ञान उनले बाँड्दै आए हुन्थ्यो भन्ने लागेको थियो,’ सितिमी मासिक सम्पादक तिलक चाम्लिङले खुसी व्यक्त गरे, ‘आजदेखि उनीसँग भएको ज्ञान सदुपयोग हुनेछ । त्यतिमात्रै होइन, पुस्तान्तरणसमेत हुने आशा गरेको छु ।’

कवि तथा लेखक सोनाम सज्जन किरातीले विधिवत् रूपमा सञ्चालनमा आएको मुन्दुम महाज्ञान केन्द्र अब तपाईं–हाम्रो भएको प्रस्ट्याए ।

मुन्दुम महाज्ञान केन्द्र उद्घाटनमा भूपेन्द्रकुमार राई, भोगीराज चाम्लिङ, दीपेन्द्र राई, समृद्ध राई, तिलक चाम्लिङ, खुक्सङ खम्बू, बोधराज पौडेल, नवराज गुरुङ (रुम्जाटार, ओखलढुंगा), जयन्द्रकुमार राई, इन्द्रकुमारी राई, मिखायल फाबुहाङ राई, सोनाम सज्जन किराती, प्रेम राई (बोपुङ, खोटाङ), दयाराम राई, मविन्द्र राई साइँलाखुइँ, पञ्चकला राई, रिस्ता राई, जेनिथ राई, इडेन राईको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्