खोटाङेका सेवा गर्न उम्मेदवारी दिएका राई विजयी भएको घोषणा गर्नमात्रै बाँकी



‘राजनीतिमा लाग्नेले व्यक्तिगत स्वार्थ बोक्नुहुँदैन । राजनीतिमा लाग्नेहरू आफू बलियो बन्न गर्न हुने नहुने काम गर्न पछि पर्दैनन्,’ खोटाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ले भने, ‘जनप्रतिनिधि जनताका शासक होइन, सेवक बन्नुपर्छ । त्यसो भएमा मात्रै मतदाताले जित्छन् । उनीहरूले जित्ने काम गरेपछि उम्मेदवार हार्ने कुरै आउँदैन ।’

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरका मन्त्री राई पछिल्लो पुस्ताका जीवित अनि उदाहरणीय, सशक्त, निःस्वार्थ राजनीतिक व्यक्तित्व, वैचारिक नेतृत्वको हिसाबले स्थपित नेता हुन् । उनको कार्यक्षमता र संघर्षले खोटाङमात्रै नभएर, राष्ट्रकै निम्ति कुशल नेताको फराकिलो परिचय बनाइसकेको छ ।

संवत् २०३८ मा नेकपा मालेको भ्रातृ संगठन विद्यार्थी आन्दोलनबाट उनले राजनीतिक यात्रा थाले । रतन्छाका बाबुराम राई राजनीतिक यात्राको पहिलो प्रेरक व्यक्तित्व हुन् । राईले जिल्ला विकास समिति उपसभापतिको भूमिकासमेत निर्वाह गरिसकेका छन् । पूर्वमन्त्री गोपाल किरातीले भने राजनीतिमा सक्रिय रहन आजसम्म प्रेरित गरिरहेकै छन् । त्यतिमात्रै होइन, राजनीतिमा निरन्तरता दिन निरन्तर आँट र साहस भरिरहने साइँला काका शिरिनध्वज राईको योगदान कम्ती छैन ।

रामकुमार राई ‘पासाङ’ साकेला माध्यमिक विद्यालयको प्रारम्भिक कमिटी उपाध्यक्ष हुँदा पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनमा सरिक भए । आन्दोलनमा सरिक हुँदा ०४५ मा दिक्तेलबाट उनलाई पक्राउ गरियो । २३ दिन हिरासतमा राख्दा चरम यातना दिएको बिर्सेका छैनन् । जिल्ला प्रहरी कार्यालय दिक्तेलले आन्दोलन थेग्न नसकेपछि रिहा ग¥यो । ०४६ पछि पञ्चायत ढल्यो । संगठित हुने जनताको अधिकार प्राप्तिको लडाइँ बाँकी नै थियो ।

०४९ भदौमा खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) स्थापना भयो । ०५० मंसिरदेखि केन्द्रीय सदस्य र खम्बुवान–लिम्बुवान एकताबाट ०५८ असोजमा बनेको किराती राष्ट्रिय मुक्ति मोर्चाको उपाध्यक्ष भए । किरात वर्कर्स पार्टी बनेपछि पुनः केन्द्रीय सदस्यको जिम्मेवारी पाए । किरात जनवादी वर्कर्स पार्टी अध्यक्ष गोपाल किराती थिए । किरातीकै पहलमा किरात वर्कर्स पार्टी र नेकपा (माओवादी)बीच ०५९ मा एकता गरेर केन्द्रीय सत्ताविरुद्ध लड्ने निधो भयो । खम्बुवान राष्ट्रिय मोर्चासम्बद्ध उनी भूमिगत जीवन हुँदै माओवादी खोटाङ र क्षेत्रीय व्युरोको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक कार्य पूरा गरे ।

किरात वर्कर्स पार्टी र नेकपा (माओवादी) एकतापछि उनी खोटाङ इन्चार्जमा निर्वाचित भए । जनताका आवाज बुलन्द बनाउँदै केन्द्रसम्मै पुर्याए । ०६३ पछि माओवादी शान्ति प्रक्रियामा आयो । पहिलो संविधानसभा सदस्यका लागि ०६४ मा पार्टीले खोटाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनायो । जनताले निर्वाचित गराए । ०७४ मा खोटाङ प्रदेशसभा (ख)बाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित गरायो । नभन्दै १ नम्बर प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीका रूपमा जनताको सेवामा समर्पित छन् ।

जनयुद्धताका दर्जनौंपटकको भिडन्तमा बाँचे । ‘गोली लागेर नसा चुँडिएको छ । घाइते भइयो । जाडो र बल काम गर्दा नसा दुख्छ । यो दुखाई भन्दा जनताको अधिकार स्थापित वा विकास निर्माणकार्यमा लाग्न पाउँदा असाध्यै गौरव लाग्छ,’ उनले खुसी व्यक्त गरे, ‘सहिदको सपना पूरा गर्दै छु कि जस्तो लागेकै छ । पार्टी र मतदाताले विश्वास गरेर दुईपटक जनप्रतिनिधि हुन पाएको छु । जनप्रतिनिधि भएपछि धेरै ठुल्ठूला जिम्मेवारीसाथ अघि बढ्ने अवसर प्राप्त गरेको छु ।’

जिल्लाका पर्यटकीय स्थल वराहपोखरी, इन्द्रेणीपोखरी, हलेसी, तुवाचुङ, रूपाकोट, टेम्केलाई पर्यटन प्रवद्र्धन गर्ने अर्जुनदृष्टि छँदै छ ।‘जिल्लामा सुविधासम्पन्न अस्पताल व्यवस्था गर्नैपर्छ । दक्ष जनशक्ति उत्पादन गर्ने गुणस्तरीय सरकारी विद्यालय बनाउनुपर्छ,’ उनले प्रतिबद्धता जनाए, ‘बेरोजगारी समस्या समाधानार्थ रोजगारी सिर्जना गर्न जडीबुटी, फलफूल, लोक्ता र कपास खेतीलाई बढावा दिनुपर्छ । भौतिक पूर्वाधार क्षेत्रमा कच्ची सडक स्तरोन्नतिका लागि व्यापकता दिनुपर्छ ।’

आफूले विगतमा थुप्रै काम गरेको उनले सुनाए । ‘कृषि विकास बैंकबाट कृषि ऋण मिनाहा, सडक आयोजना नपुगेको ठाउँमा सडक पुर्याउन सफल पहल गरेको छु,’ उनले जोडे, ‘बिजुली र खानेपानीको धेर–थोर काम भने बाँकी होलान् ।’ आगामी दिनमा वाम–लोकतान्त्रिक गठबन्धनको पहलमा अझ ठुल्ठूला विकास निर्माणका काम सञ्चालन गर्न सकिन्छ । जनअपेक्षा पूरा गर्न गठबन्धनको उम्मेदवार बनाएर आफूलाई खोटाङको साझा उम्मेदवार बनाएको उनले बताए ।

निम्नमध्यम किसान परिवारमा जन्मेका नेता रामकुमार राई ‘पासाङ’ साकेला गाउँपालिका–२ रतन्छा माझगाउँनिवासी हुन् । बुवा बर्मध्वज राई र आमा डिगमाया राईको काइँला छोरा राईको जन्म ०२५ वैशाख १४ गते भएको हो । उनका श्रीमती लक्ष्मीदेवी राई र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्