धर्म के हो ? असल कर्म नै धर्म



हुन त धर्म, संस्कृति, दर्शन, ज्ञानजस्ता गम्भीर तथा विशिष्ट विधाबारे यो छोटो आलेखमा प्रकाश पार्न खोज्नु, बुझाउन खोज्नु मेरो असम्भव प्रयास हो । यद्यपि, केही छोटो भए पनि यी विषयमा चर्चा गर्ने प्रयास गरिरहेको छु । हुन त यी विषयमा व्यापक खोजमूलक मेरो ग्रन्थ नै आउनेछ । तर, आज धर्मबारे छोटो चर्चा गर्न चाहन्छु ।

सामन्यतया ‘धर्म’ भन्नाले मानिसले भगवान्प्रतिको भक्तिभाव अर्थात् पूजा–पाठ, भजनकीर्तन, जप–तप, होम, यज्ञ, तन्त्र–मन्त्र, ध्यान, तपस्या आदि आस्थामूलक क्रियाकलाप र अर्को अर्थमा धर्मलाई दान, दक्षिणा, सेवा, सहयोग, पाटीपौवा निर्माण, आश्रम, धर्मशाला निर्माण आदि पुण्य प्राप्तिका निम्ति, स्वर्ग प्राप्तिका निम्ति गरिने कार्यलाई बुझिन्छ । तर, यी क्रियाकलाप वास्तविक धर्म होइनन् ।

धर्म के हो ? भन्ने सन्दर्भमा विश्वमा विभिन्न धर्मशास्त्र, दार्शनिक चिन्तक तथा विद्वान्–दिदुषीले आ–आफ्ना प्रकारका विचार राख्दै आएको पाइन्छ ।

धर्मलाई विभिन्न शब्दकोशले पनि आ–आफ्नै ढंगले चिनाउने प्रयास गरेको देखिन्छ । नेपाली शब्दसागर (२०५८) मा व्यक्ति वा वस्तुको मूल वृत्ति, प्रवृत्ति, प्रकृति, स्वभाव, नियत, नीति, स्वाभाविक, गुण, सहजवृत्ति, श्रेय, सुकृत, नियमित र निर्धारित काम, सुख प्राप्ति हुने भन्ने लोकविश्वासको सुकर्म, पुण्य कर्म, लोकहितका लागि स्वीकार गरिने कार्य, सदाचार, सत्कर्म, उचित कार्य, विशिष्ट व्यक्तिको अनुशरण, परोपकार आदिलाई धर्म भनिएको छ । यसरी नै संस्कृत नेपाली शब्दकोशमा धर्मको अर्थ धर्मराज, युधिष्ठिर, उपनिषद्, भक्ति, सत्सङ, यज्ञ, समानता, नियम, इमान, इन्साफ, कानुन, धर्मशास्त्र, उचित, अनुचित विचार गर्ने चित्तवृत्ति, यस्तो कार्य जुन गर्नाले सुख–शान्ति प्राप्त हुन्छ भन्ने विश्वास आदिलाई बताएको छन् ।

ऋग्वेदमा सर्वप्रथम धर्म शब्दको प्रयोग भएको पाइन्छ । ऋग्वेदमा सर्वप्रथम ‘धर्मन’ शब्दको प्रयोग भएको देखिन्छ । ऋगवेदमा ‘धर्म’ शब्दको प्रयोग पुलिङ र नपुंशक लिंगका रूपमा प्रयोग भएको बताइन्छ । शाब्दिक रूपमा हेर्ने हो भने ‘धृ’ धातुबाट बनेको ‘धर्म’ शब्दको अर्थ धारण गर्नु, पालन गर्नु, अवलम्बन गर्नु, आफूमा समाहित गर्नु आदि भन्ने लाग्छ । धर्म के हो भन्ने सन्दर्भमा पूर्वीय संस्कृत वाङ्मयमा प्रशस्त चर्चा भएको पाइन्छ । मनुस्मृतिमा धृति, क्षमा, दया अस्तेय, शौच, इन्द्रनिगह, बुद्धि, विधा, सत्य, अक्रोध गरी धर्मको दस लक्षण बताएको छन् । यसरी नै ऐतरेय ब्राह्मणमा धार्मिक कर्मको अर्थात् मोक्ष प्राप्तिका लागि गरिने कर्म नै धर्म हो भनिएको छ । बुद्धले शील, सन्तोष र समाधिलाई धर्मका रूपमा बताएको छन् । उनले दुःख निवारणका उपायका रूपमा बताएको अष्टमार्ग अर्थात् आठ सोपान हुन् र ती अष्टमार्गका प्रमुख तीन हाँगा सम्यक दृष्टि, सम्यक शील र सम्यक समाधिको पूर्ण पालना नै धर्म हो भनी बताएको छन् । यसैगरी याज्ञवलक्य स्मृतिमा धर्मको अर्थ पाँच किसिमले बुझ्नुपर्छ भन्ने धारणा राखेको पाइन्छ । ती हुन्–वर्णधर्म, आश्रमधर्म, वर्णाश्रमधर्म, नैमित्तिक धर्म र गुण धर्म ।

यसरी नै विभिन्न पूर्वीय दार्शनिक चिन्तनमा पनि धर्मसम्बन्धी व्याख्या गरिएको पाइन्छ । वैशेषिक दर्शनले अभ्युदय र मोक्षको सिद्धि गराउने कार्य वा क्रियाकलापलाई धर्म मानेका छन् । यसरी नै न्याय दर्शनले वेदलाई अतिशय महत्व दिदै वेदले बताएको कर्म वा विधिविधानलाई धर्म भनी बताएको छ । जैमिनीको मीमांशा दर्शनले पनि वेदका कर्मलाई वा वेदले बताएको कर्मको पालना नै धर्म हो भनी बताएको छ । यसरी नै पुराणमा पनि धर्म के हो भन्नेबारेमा चर्चा गरेको पाइन्छ । भविष्य पुराणले दुनियाँलाई सुरक्षा गर्ने अर्थात् यो लोक र परलोक दुवै सुधार्ने कर्मलाई धर्म हो भनी बताएको छ भने विष्णुपुराणले धर्म हुने कर्म यज्ञ, तपस्या, दान, दया, क्षमा, अहिंसा, सत्य, तीर्थसेवा, सत्सङ, देवपूजा, मातृपितृसेवा आदि कर्मलाई धर्म भनी बताएको छ ।

समग्रमा भन्दा वेदलाई सर्वोपरि महत्व दिने धार्मिक दार्शनिक चिन्तन र चिन्तकले वेदले बताएको बाटो अथवा वेदले बताएको कर्मको पालना नै धर्म हो भनेको पाइन्छ भने वेदलाई नमान्ने धार्मिक, दार्शनिक चिन्तन र चिन्तकले भने स्तूति, असल कार्य, सेवा, परोपकार, कल्याणकारी कार्य, कर्तव्यको पालना, सबैले स्वीकार गर्ने कर्म, सुकर्म, पुण्यकर्म आदिलाई धर्म हो भनी बताएको पाइन्छ ।

पाश्चात्य जगत्मा पनि धर्मसम्बन्धी विभिन्नप्रकारका धारणा पाइन्छ । ‘धर्म’ शब्दको समनार्थी अंग्र्रेजी शब्द religion हो । जुन ग्रीसेली शब्द religare बाट बनेको हो र यसको अर्थ बाँध्नु हो । पाश्चात्य चिन्तकले पनि धर्मबारे विभिन्न फरक–फरक धारणा राखेको पाइन्छ । परन्तु ती सबै विचारको सार के देखिन्छ भने धर्म भनेको दैविक वा अलौकिक शक्तिको विश्वास, अज्ञात शक्तिको भक्ति, उपासना वा सुख, शान्ति र आनन्द प्राप्तिका लागि गरिने विशेष भक्तिमूलक कर्म नै धर्म हो ।

यसरी हेर्दा पूर्व र पश्चिम दुवै चिन्तन र चिन्तकको धर्मसम्बन्धीको धारणा समग्रमा के देखिन्छ भने ‘धर्म’ शब्दको पहिलो अर्थ अज्ञात शक्ति/अलौकिक शक्ति वा ईश्वरप्रतिको विश्वास र ती शक्ति प्राप्तिका लागि गरिने पूजा, अनुष्ठान, जप, तप, ध्यान, यज्ञ, होम, भक्ति, तन्त्र, मन्त्र, साधना, तपस्या आदि कर्म र अर्को अर्थ सुख, शान्ति, आनन्द, सन्तुष्ट आदिका लागि गरिने नैतिक वा असल कर्मलाई धर्मका रूपमा अथ्र्याइएको पाइन्छ ।

अन्त्यमा मेरो विचारमा ‘धर्म’ शब्दको को मूलतः तीनवटा अर्थ देखिन्छ । पहिलो अर्थ– धर्म भनेको कुनै पनि व्यक्ति वा वस्तुको भित्री विशेषता, प्राकृतिक गुण, वास्तविक स्वरूप वा पहिचान, वृत्ति, निजी गुण आदि । जस्तैः पानीको धर्म बहने (बग्ने), हावाको धर्म बहने
(उड्ने), आगोको धर्म बल्ने/जलाउने, खोर्सानीको धर्म पिरो, कागतीको धर्म अमिलो, सूर्यको धर्म प्रकाश आदि । धर्मको दोस्रो अर्थ–कर्तव्य वा जिम्मेवारी । जस्तैः गुरुको धर्म निष्ठापूर्वक पढाउने/सिकाउने, विद्यार्थीको धर्म गुरुको आज्ञा पालना गर्नु,मातापिताको धर्म आफ्ना सन्ततिप्रति जिम्मेवारी हुनु, छोराछोरीको धर्म मातापिताको सेवा गर्नु, सरकारको धर्म जनताको सेवा गर्नु, मान्छेको धर्म मानवीयताको रक्षा गर्नु, जीवको धर्म जन्मनु–मर्नु आदि र धर्मको तेस्रो अर्थ हो– अज्ञात शक्ति/अलौकिक शक्ति –भगवान्, ईश्वर, गड, अल्लाह, मसिह, प्रभु, माङ, प्रकृति, तागेरानिङ्वाभुमाङ) आदि अज्ञात शक्तिप्रतिको भक्ति र उपसना । यसरी हेर्दा संसारमा मूलतः धर्मको यही तीन अर्थ देखिन्छ ।

यसरी हेर्दा के देखिन्छ भने धर्म भनेको आफ्नो कर्तव्य र जिम्मेवारीलाई नबिर्सी सुख, शान्ति, आनन्द र सन्तुष्टिका लागि गरिएको नैतिक कर्म नै धर्म हो ।

प्रतिक्रिया दिनुहोस्