सइराक्युजको राजा हिरो द्वितीय पराक्रमी योद्धा तथा देवताहरूका महान् उपासक थिए । उनी प्रत्येक विजयलाई कुनै न कुनै देवतालाई एउटा उपहार चढाएर मनाउने गर्थे । उनले यो काम पूरा गर्ने उद्देश्यले एक कुशल स्वर्णकार नियुक्त गरे । र, राज्यकोषबाट सुनको निश्चित मात्रा मुकुट बनाउन दिए । स्वर्णकारले ठीक समयमा राजालाई मुकुट बनाएर दियो । राजा मुकुट देखेर मन्त्रमुग्ध भए तर उनलाई के शंका लाग्यो भने स्वर्णकारले कहीँ त्यसमा चाँदीको मिसावट त गरेन ? मुुकुट कति सुन्दर थियो भने राजा त्यसलाई तोडफोड नगरी परीक्षण गर्न चाहन्थे । उनले राजधानीका प्रसिद्ध वैज्ञानिक आर्कमिडिज बोलाए र मुकुटलाई विनातोडफोड मिसावट विषयमा पत्ता लगाउन भने ।
आर्कमिडिजले सचेततापूर्वक यो कुरामाथि विचार गरे तर हल गर्ने तरिका देखेनन् । उनको मस्तिष्कमा यही कुरा घुमिरहेको थियो । एक दिन उनी नुहाउनका लागि सार्वजनिक स्नानगृहमा गए । टब पानीले भरिएको थियो । जब उनी पानीले भरिएको टबमा छिरे, केही पानी टबबाट बाहिर आयो । यसबाट उनलाई थाहा भयो– यदि पानीले भरिएको टबमा कुनै वस्तु डुबायो भने टबबाट वस्तुको आयतनबराबरको पानी बाहिर आउँछ ।
यो कुराको ज्ञान हुँदा उनी खुसीले पागल भए । आफ्नो यो आविष्कारबाट उनी कति प्रसन्न भए भने टबबाट नाङ्गै निस्केर सडकमा ‘खोजी गरेँ–खोजी गरेँ’ भन्दै चिच्याउँदै घरतर्फ दौडिए । यही घटनाका आधारमा उनले मुकुटमा कुन धातुको कति मिसावट छ भन्ने पत्ता लगाए ।
मुकुटको मिसावटलाई पत्ता लगाउन उनले एउटा भाँडोमा पानी भरेर मुकुटलाई डुबाए । भाँडोबाट बाहिर निस्केको पानीलाई नापे । यसपछि फेरि भाँडोमा पानी भरे र त्यसमा मुकुटको भारबराबर सुन डुबाए । उनले पहिले झरेको पानीको मात्रा देखेनन् । उनले यस तथ्यबाट मुकुटमा सुनारले मिसावट गरेको पत्ता लगाए । यही खोजीका आधारमा वस्तुको अपेक्षिक घनत्व निकाल्ने तरिका खोजे । यसका आधारमा आर्कमिडिजको नियम बन्यो, जसअनुसार कुनै वस्तु कुनै द्रव्यमा पूरा तथा आधा डुबाउने गरिन्छ भने त्यसको भारमा हुने कमी वस्तुद्वारा हटाइएको द्रव्यको भारबराबर हुने गर्छ । आज पनि यो नियम वस्तुको घनत्व निकाल्नका निम्ति प्रयोग गरिन्छ ।
आर्कमिडिजले वस्तु तैरने सिद्धान्त पनि प्रतिपादन गरेका थिए । यान्त्रिकीमा पनि उनले लिबरको सिद्धान्त प्रतिपादन गरेका थिए । लिबर र घिर्नीद्वारा उनी एक मालले भरिएको पानीजहाजलाई एक्लै किनारसम्म उडाएर ल्याए । यो प्रयोगबाट मानिस आश्चर्यमा परे । मानिसहरूले भने, ‘आर्कमिडिजमा कुनै दैवीशक्ति रहेको छ, जसद्वारा उनले जहाजलाई उठाउन सके ।’ उनले केसम्म दाबी गरे भने, ‘यदि मलाई उचित लम्बाइको छड मिल्यो, त्यसलाई टिकाउनका निम्ति कुनै स्थान पाइयो भने म लिबरद्वारा पृथ्वीलाई पनि उठाउन सक्छु ।’
यतिमात्र होइन, आर्कमिडिजले गणितको क्षेत्रमा पाइको मान पनि प्रतिपादन गरेका थिए । वृत्तको परिधि तथा क्षेत्रफल निकाल्ने सूत्र पनि दिए । उनले वाटर स्क्रुको आविष्कार गरे, जसबाट पानीलाई माथि उठाउन सकिन्छ । यो एउटा बेलनाकार वर्तनका रूपमा हुने गर्छ, जसमा एउटा चौडा पेच गतिका आधारमा तल–माथि गर्छ ।
आर्कमिडिजले युद्धमा प्रयोग हुने मेसिनको पनि आविष्कार गरे । यी मेसिनहरू लिबर र घिर्नीद्वारा काम गर्थे । उनले दर्पणहरूको प्रयोग गरेर प्रकाशको गुणको विषयमा अध्ययन गरेका थिए, जसद्वारा सूर्यको प्रकाशलाई परावर्तित गरेर उनले शत्रुका कैयौँ पानीजहाजमा आगो लगाएका थिए । यसलाई अफवाह पनि भनिन्छ तर निश्चय नै दर्पणमाथि उनीद्वारा गरिएका प्रयोगका प्रमाण छन् । आर्कमिडिजले कैयौँ पुस्तक पनि लेखेका थिए, जसमा आन दी स्फियर एन्ड सिलिन्डर, मेजरमेन्ट अफ दी सर्किल, अन फ्लोटिङ वडिज तथा अन ब्यालेन्स अर लिबर्स मुख्य छन् ।
विज्ञानको क्षेत्रमा आर्कमिडिजको नाम नसुन्ने सायद कुनै विद्यार्थी होला, जसले आर्कमिडिजको नाम नसुनेको होस् । आर्कमिडिज आफ्नो समयका एक महान् वैज्ञानिक थिए । आज दुई हजारभन्दा बढी वर्षपछि पनि आर्कमिडिजद्वारा गरिएका आविष्कार विज्ञानमा प्रयोग गरिन्छन् ।
इशापूर्व २२औँ शताब्दीमा एउटा भयंकर युद्धपछि सइराक्युज रोमको कब्जामा आयो, त्यसबेला आर्कमिडिज धेरै दुःखी भए । एक दिन जब उनी घरमा बसेर जमिनमा केही ज्यामितीय आकृति बनाइरहेका थिए, उनको घरबाहिर घोडाको टाप र हतियार जुधेको आवाज आयो । त्यसबेला एक सशस्त्र रोमन सिपाही उनको घरमा पस्यो । तर, उनी आफ्नो कार्यमा यति तल्लीन थिए कि सिपाही भित्र पसेको पनि थाहा पाएनन् ।
जब सिपाही उनको अगाडि आयो, त्यसबेला अकस्मात् उनको मुखबाट निस्कियो, ‘कृपया यी आकृतिलाई नबिगार्नूहोला ।’ त्यसबेला सिपाही निकै रिसायो, उसले आफ्नो भालाले आर्कमिडिजको शरीर रोप्यो । त्यस सिपाहीले महान् वैज्ञानिक आर्कमिडिजको निर्मम हत्या गर्यो ।
आर्कमिडिज विश्वप्रसिद्ध महान् वैज्ञानिक हुन् । उनको गणित, भौतिकशास्त्र, यान्त्रिकी र खगोलशास्त्रको अनुसन्धानमा ठूलो योगदान छ । केही वैज्ञानिकले त न्युटनभन्दा पहिले उनीभन्दा क्षमतावान्, प्रतिभाशाली वैज्ञानिक अरू थिएनन् भनेका छन् ।