मै खाम, मै लाम, स्वास्थ्यको बजेट रामकुमार भगतद्वारा झ्वाम


दुर्छिम (खोटाङ) । सित्तैमा पाउँदा अलकत्र चपाए पनि गुन्द्रुकको झोलमा इज्जत फाल्नुपर्ला भनेर हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतले कहिल्यै सोचेका थिएनन् । दस मनमा एक मनले पनि त्यस्तो नसोचेका उनले अन्ततः सित्तैमा पाएको अलकत्र चपाउँदा गुन्द्रुकको झोलमा इज्जत फालेरै छाडे ।

पैसा देख्दा महादेवको त तीन नेत्र हुन्छ भने दुई नेत्र भएका सामान्य मानिसलाई त्यस्तो लाग्नु अस्वाभाविक होइन । त्यस्तो लाग्यो भन्दैमा मनपरी गर्न कहाँ पाइन्छ र ? स्वास्थ्य संयोजक भगतलाई भुँइको टिप्दा गोजीको पोखिन्छ भन्ने थाहा नभएको बुझिन्छ ।

हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ अन्तर्गत स्वास्थ्य कार्यक्रमको बजेटमा उनले व्यापक अनियमितता गरेका छन् । वार्षिक स्वास्थ्य कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा छुट्ट्याइएको बजेटमध्ये उनले कतिपय त शीर्षकअनुसार खर्च नगरी कुम्ल्याएको नगरका स्वास्थ्य कर्मचारीबीच कानेखुसी त गरिन्थ्यो नै हिजोआज तीव्र आलोचनासमेत हुने गरेको छ ।

वार्षिक स्वास्थ्य कार्यक्रम तथा बजेटको वित्तीय भौतिक प्रगति प्रतिवेदनमा एकमुष्ट हिसाब देखाएर नगरपालिकामा बुझाए पनि उनले शीर्षकअनुसार दिनुपर्ने सुविधा कटौतीमात्रै गरेनन् वितरण नगरिएको सामानको बिल मिलाएर वार्षिक कार्यक्रममा देखाई शुभलाभ गर्न सफल भएका थिए ।

एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रमअन्तर्गत छुट्ट्याइएको कुल रकम ८२ लाख ७५ हजार ४ सय ८७ मध्ये ६९ लाख ८४ हजार ७ सय ६८ खर्च भएको देखिन्छ । ‘त्यसो भए १२ लाख ९० हजार ७ सय १९ रुपैयाँ कहाँ गयो ? भगतको खल्तीमा ?,’ नाम उल्लेख नगर्ने सर्तमा समाचार स्रोतले भन्यो, ‘नत्र त्यत्रो रकम हिनामिना कसरी भयो ? सो रकमको पारदर्शिता खोई ?’

समाचार स्रोतको उत्तरमा भगतको भनाइ छ, ‘रकम हिनामिना गरेको छैन । गरेको भए कारबाही भोग्न तयार छु ।’ युनिसेफबाट आउने भनेको ससर्त बजेट ढिलोगरी आएपछि नगरपालिकामार्फत युनिसेफलाई नै फिर्ता गरिएको हो ।

यसैगरी, निःसर्ततर्फ ३८ लाख २७ हजार ५ सय १२ खर्च भएको भनी फछ्र्यौट गरिएको छ । तर, ३४ लाख ५५ हजार १ सय १४ रुपैयाँमात्रै वास्तविक खर्च भएको थियो । बाँकी ३ लाख ७२ हजार ३ सय ९८ रुपैयाँको हिसाब–किताब देखाउनुपर्छ कि पर्दैन ?

‘गर्दै नगरेको कार्यक्रमको बजेट फछ्र्यौट गर्न पाइन्छ कि पाइँदैन । पाइँदैन भने गर्दै नगरेको कार्यक्रमको बजेट फछ्र्यौट गर्ने अधिकार भगतलाई कसले दियो,’ नाम उल्लेख नगर्ने सर्तमा अर्का समाचार स्रोत जंगिए, ‘पूर्ण खोप भेरिफिकेसन कार्यक्रम नगरी बजेट फछ्र्यौट गर्नेलाई कस्तो कारबाही हुन्छ होला ?’

समाचार स्रोतको प्रश्नको उत्तर दिँदै भगत भन्छन् ‘यो आरोपमात्रै हो । कार्यक्रम नगरी बजेट फछ्र्यौट गरेको छैन ।’

आरोप प्रमाणित भयो भने नि ?

उनले हाकाहाकी भने, ‘नेपाल सरकारले तोकेको सजायँ भोग्न तयार छु ।’

क्षयरोगसम्बन्धी समीक्षा (कोर्हत) का लागि छुट्ट्याइएको रकममा २० हजारभन्दा बढी हिनामिना भएको प्रस्ट छ । त्यतिमात्रै होइन, स्वास्थ्य संयोजक भगतले कार्यक्रम नै नगरी विभिन्न शीर्षकको बजेट निकासा गर्न सफल भएका थिए । कसको आडमा उनले यसो गरिरहेका छन् ? एक दिन खुलासा हुने नै छ ।

रामकुमार भगतको १५ प्रतिनिधिमूलक रामलीला

(१) कार्यालय मसलन्द सामान– पानी, बिजुली, सञ्चार, भ्रमण खर्चका लागि छुट्टिएको कुल रकम ६२ हजार ७ सय २४ रुपैयाँमध्ये १३ ठाउँमा २ हजारको दरले २६ हजार खर्च भएको । ३६ हजार ७ सय २४ रुपैया हिनामिना । त्यतिबेलाको कार्यक्रममा पानी, बिजुली र सञ्चारको महसुल कुनै पनि संस्थाले नपाएको ।

(२) स्वास्थ्य प्रवद्र्धन– मेरो वर्ष अभियान, महामारी, सर्ने नसर्ने रोगथाम, प्रजनन तथा बाल वातावरणसम्बन्धी ९७ हजार ७ सय ७० रुपैयाँ निकासा भएकोमा नागरिक बडापत्र १ हजारको दरले तेह्रवटाको १३ हजार, निःशुल्क औषधि नामावलीमा एक हजारको दरले तेह्रवटाको १३ हजार, कार्यालय स्टाम्प २५ वटा ५ सयको दरले १२ हजार ५ सय, स्वास्थ्य चौकी होर्डिङ बोर्ड तेह्रवटा एक हजारको दरले १३ हजार गरी जम्मा खर्च ५२ हजार । ४५ हजार ७ सय ७० रुपैयाँ हिनामिना ।

(३) पूर्ण खोप नगरपालिका सुनिश्चित र दिगोपना सूक्ष्म योजना अध्यावधिका लागि खोप समन्वय समिति स्वास्थ्य संस्था प्रमुखसहित, नगर प्रमुख तथा वडाध्यक्ष र सरोकारवालाको एकदिने गोष्ठीका लागि छुट्टिएको रकम ६९ हजार ४ सय ८० रुपैयाँमध्ये माला ६ हजार, प्रशंसापत्र १३ वटाको ५ सयका दरले ६ हजार ५ सय, प्रशंसापत्र दुईवटा १ हजारको दरले २ हजार, कार्यक्रमका लागि ब्यानर १ हजार गरी वास्तविक खर्च १५ हजार ५ सय भएको । बाँकी ५३ हजार ९ सय ८० रुपैयाँ खोजी गर्नुपर्छ कि पर्दैन ? उक्त कार्यक्रममा ४६ जना सहभागी थिएनन् । ३४ जनामात्रै सहभागी । स्वास्थ्य संयोजक भगतले सम्पूर्ण वडाध्यक्षलाई कार्यक्रमबारे जानकारी गराएकै थिएनन् ।

(४) पहँुच नपुगेका छुट बच्चाको खोजी तथा पूर्ण खोप दिलाउन महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखी तथा योजना निर्माण (मंगलटार, बाहुनीडाँडा, बडहरे, डिकुवा) मा जम्मा ४८ जना स्वयम्सेविकाको भत्ता ४ सयको दरले १९ हजार २ सय, स्टेसनरी २ हजार ४ सय, खाजा ९ हजार, प्रशिक्षक भत्ता १२ हजार ७ सय गरी जम्मा खर्च ४३ हजार २ सय । सो कार्यक्रमका लागि ९३ हजार ६ सय ४० रुपैयाँ छुट्टिएको । त्यसो भए ५० हजार ४ सय ४० रुपैयाँ हिनामिना हुँदा किन कोही बोल्दैनन् ?

(५) पोषणसम्बन्धी राष्ट्रिय दिवस सञ्चालन सप्ताह, आयोडिन महिना, विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह, बालपोषण अभियान, भिटामिन ‘ए’, जुकाको औषधि वितरण, बालभित्ता पोषण स्थिति लेखाजोखाका लागि पाखुराको जाँच आदि कार्यसञ्चालनका लागि बहुक्षेत्रीय पोषण योजना लागू भएका स्थानीय तहलाई सहयोग कार्यक्रमका लागि छुट्टिएको रकम ८८ हजार ८ सय । त्यसमध्ये (पोषण सप्ताहमात्र) मनाइयो । पोषण सप्ताहका निमित्त ११ वडाको ५ सयको दरले ५ हजार ५ सय, तेह्रवटा कर्नल निर्माण प्रतिगोटा १३ सयको दरले ३९ हजार गर्दा ४४ हजार ५ सय खर्च भएको थियो । ४४ हजार ३ सय हिनामिना नभएको भए बाँकी रकम कहाँ छ ?

(६) गर्भवती, सुत्केरी महिला, बालबालिका तथा किशोरकिशोरी लक्षित पोषण प्रवद्र्धन कार्यक्रम (पोषण नाङ्लो प्रवद्र्धनसमेत) र विद्यालय जाने तथा नजाने किशोरकिशोरी लक्षित पोषणयुक्त खाद्यवस्तु प्रवद्र्धनका लागि छुट्टिएको रकम १ लाख ९० हजार ४ सय ५० मध्ये खर्चभत्ता १२८ जनालाई ४ सयको दरले ६ हजार ४ सय, नाङ्लो प्रवद्र्धन ५१ हजार २ सय, स्टेसनरी ६ हजार ४ सय, प्रशिक्षक भत्ता १६ हजार ५ सय, सहायक प्रशिक्षक भत्ता ७ हजार ७ सय, कास भत्ता १ हजार ६ सय ५० गरी १ लाख ७१ हजार ७ सय खर्च भएको । बाँकी रहेको १८ हजार ८ सय ५० रुपैयाँको हिसाब–किताब छँदै छैन ।

(७) पालिका खोप ऐन नियमावली खोप कार्यक्रमको समीक्षा कार्यक्रमका लागि ८० हजार छुट्ट्याइएको । त्यसमध्ये भत्तामा १४ हजार २ सय ८०, खाजा ३ हजार ७ सय, स्टेसनरी १ हजार २ सय गरी १९ हजार ८० खर्च भएको । बाँकी ६० हजार ९ सय २० रुपैयाँ हिनामिना ।

(८) स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुदृढीकरण क्रियाकलापका लागि छुट्टिएको बजेट ९६ हजार ९ सय ४९ । त्यसमध्ये ७७ हजार २ सय खर्च भएको । १९ हजार ७ सय ४९ रुपैयाँ झ्वाम ।

(९) ¥यापिड रेस्पोन्स टीम (आरआरटी) का लागि ४० हजार ८ सय १० रकम रहेको । १० हजार ७ सय १० खर्च । ३० हजार ८ सय १० रुपैयाँ कसको खल्तीमा पुग्यो नारान ?

(१०) स्वास्थ्यचौकीस्तरमा औजार उपकरण, फर्निचर साथै स्वास्थ्य संस्था मर्मतका लागि १ लाख छुट्ट्याइएको । ६७ हजार ८० रुपैयाँमात्र खर्च । बाँकी ३२ हजार ९ सय २० रुपैयाँको हिसाब–किताब राख्नुपर्छ कि नाइँ ?

(११) स्थानीय तहका स्वास्थ्य युनिटमा सिष्टम सेटका लागि कम्युटर खरिद डीएचआर्ईएसका लागि १ लाख छुट्ट्याइएको । त्यसमध्ये अर्को सामान खरिद भनी ९२ हजार ५ सय खर्च देखाइएको । प्रत्येक बजेटको तोकिएको सामान वा कार्यक्रम गर्नैपर्ने हुन्छ । डीएचआर्ईएस सिष्टमको सामान खरिद हुँदै भएन । त्यो शीर्षकको रकम हिनामिना भएको ।

(१२) महिला स्वास्थ्य स्वयम्सेविकालाई अर्धवार्षिक समीक्षा गोष्ठीका लागि ४ लाख ६३ हजार रकम विनियोजन भएको । समीक्षाका लागि भत्ता, खाजा, स्टेसनरीलगायतका शीर्षकमा ३ लाख ९७ हजार खर्च भएको । बाँकी रहेको ६६ हजार भनेको चानचुने हिसाब हो र ?

(१३) लामो जन्मान्तरका लागि स्याटेलाइट क्लिनिक सञ्चालनमा ३३ हजार हिनामिना भएको ।

(१४) आमा सुरक्षा कार्यक्रम न्यानो झोला खरिदमा ५० हजारभन्दा बढी आर्थिक घोटाला ।

(१५) महिला स्वयम्सेविका लागि अर्धवार्षिक समीक्षा गोष्ठी गर्न (स्वास्थ्य मन्त्रालयबाट आएको ससर्त बजेट) ४ लाख ६३ हजार छुट्टिएको । ३ लाख ४५ हजार ८ सय खर्च । १ लाख १७ हजार २ सय हिनामिना ।

हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतले गरेको प्रतिनिधिमूलक अनियमिततामात्रै उल्लेख गरिएको छ । स्वास्थ्य संयोजक भगतले मनपरेकालाई काखा र मन नपरेकालाई पाखा पु¥याएको भगतपीडितले खुलेरै मुख खोल्न थालेका छन् ।
हलेसी आएदेखि रामकुमार भगतको रामलीला (आर्थिक अनियमितता) र कृष्णलीलाको चर्चा गरिसाध्ये छैन । उनको कुकृत्यबारे तुवाचुङ साप्ताहिकले शृंखलाबद्ध प्रकाशित गर्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस्