मेयर र उपमेयरको परोपकारी काम



दिक्तेल (खोटाङ) । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले साह्रो–गाह्रोमा १४ नम्बर वडा बुइपाको एम्बुलेन्स प्रयोग गर्दै आएको छ ।

‘त्यो पनि बिरामी बोकेर हिजै काठमाडौं पुगेको छ,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले भने, ‘विजयखर्कका एक बिरामी आजै अस्पतालसम्म लैजानुपर्ने भयो । एम्बुलेन्स नभएपछि नगरप्रमुख र उपप्रमुखले प्रयोग गर्ने सरकारी यातायात साधन बिरामी अस्पताल पुर्याउन र घर ल्याउन प्रयोग गर्ने निर्णय गरेका हौं ।

विश्वव्यापी कोरोना महामारीले अप्ठ्यारोमा परेका नगरका बिरामीलाई सेवा गर्ने अभिप्रायले शनिवारदेखि नगरप्रमुख रिजाल र नगर उपप्रमुख राईले प्रयोग गर्ने सरकारी यातायात साधनले बिरामी बोक्नेछन् ।

नगरप्रमुखले प्रयोग गर्ने बा२झ ३४६७ र नगर उपप्रमुखले को१झ ६६८ नम्बरका सरकारी यातायात साधनले शनिवारदेखि बिरामी बोक्न थालेपछि नगरवासीले नगरप्रमुख र उपप्रमुखलाई सराहनीय काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

अस्पताल र बिरामीका प्रकृतिअनुसार एम्बुलेन्सलाई तीन श्रेणीमा विभाजन गरिएका हुन्छन् । त्यसमध्ये ‘क’ श्रेणीका एम्बुलेन्सले चिकित्सक र मेडिकल सामग्री बोक्ने गर्छ । ‘ख’ श्रेणीका एम्बुलेन्सलाई नर्ससहित बिरामी बोक्न प्रयोग गरिन्छ भने ‘ग’ श्रेणीकाले सामान्य वर्गका बिरामी र उनलाई आवश्यक सामान बोकिन्छन् ।

तर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले प्रयोग गर्दै आएको एम्बुलेन्स र शनिबारदेखि नगरप्रमुख र नगरउपप्रमुखले प्रयोग गर्ने यातायात साधनले नगरका सबै वर्गका बिरामीलाई अस्पताल पुर्याउन र उपचारपछि अस्पतालबाट घरसम्म ल्याउन प्रयोग गरिनेछ ।

कोरोना कहरले दुःख दिन थालेपछि पछिल्लो समय स्थानीय तह सरकारले आफूले प्रयोग गर्ने सरकारी यातायात साधनलाई बिरामी बोक्न प्रयोग गर्न थालेका छन् ।

यसैगरी, हलेसी तुवाचुङ नगरपालिकाकी नगर उपप्रमुख बिमला राईले समेत आफूले चढ्दै आएको बा१झ ६४२४ नम्बरको यातायात साधन बिरामी बोक्न प्रयोगमा लगाएकी छन् । आफूले चढ्ने सरकारी यातायात साधनले बिरामी बोक्न थालेपछि नगर उपप्रमुख राईले स्कुटर प्रयोग गर्न थालेकी छन् ।

प्रतिक्रिया दिनुहोस्