राई लेख्दा कुलुङ संस्कृति कसरी मासियो ?



‘तुवाचुङ डटकम’ अनलाइन पत्रिकामा शरण राईको लेख ‘चाक्चाकुर : तथ्यहीन काल्पनिक चाड’ (२०७७ माघ ९) प्रकाशित भएपछि पहिलो टिप्पणी निनाम लोवात्ती कुलुङको देखापरेको छ । तर, उनको चासो विषयवस्तुप्रति छैन । बरु उनको प्रतिक्रिया पढ्ने अवसर पाएका पाठकले चाक्चाकुर तथ्यहीन काल्पनिक चाड नै रहेछ भन्ने विश्वास गर्न पुग्छ । त्यसैले यो बहसमा म पनि थोरै सहभागी भइरहेको छु ।

निनामको टिप्पणी व्यक्तिगत रूपमा भूपध्वज थोमरोसप्रति ईष्र्याको भावनाद्वारा प्रेरित छ । जसले उल्टै भूपध्वजप्रति नै पाठकवर्गको सहानुभूति प्राप्त हुने स्थिति छ । शरण राईको लेखसँग कुनै सम्बन्ध नरहेको भूपध्वजप्रति निनामको आक्रोश किन ? अनाहकमा मानमर्दन गरेर निनामले आफूलाई पटमूर्ख सावित गरेका छन् । ‘किन लडिस् मंगले, आफ्नो ढंगले’ भन्ने उखान निनामको टिप्पणीले चरितार्थ भएको छ ।

स्वस्थ बहस चाहेका हुन् भने निनामले गल्ती औंल्याएर लेखकलाई चुनौती दिनुपथ्र्याे । तर, निनाममा यस्तो कुनै ल्याकत देखिँदैन । अनावश्यक आक्षेपलाई बहस मान्न सकिँदैन । यो त बरु डाहाजस्तो, बलमिच्याइँ, मपाइँ पल्टिएजस्तो देखिन पुगेको छ ।

निनाम विषयवस्तुमा केन्द्रित हुनुको बदला किरात राई यायोक्खाले भूपध्वजलाई पुरस्कार प्रदान गर्नु आपराधिक कार्य थियो भनेर कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर हिँडेझैं गरी प्रस्तुत भएका छन् । यति कुरा थाहा पाइराख्दा राम्रै हुन्छ– लेखकले पुरस्कारको आशाले पुस्तक लेखेको हुँदैन, आफ्नो दृष्टिकोण पाठकसमक्ष प्रस्तुत गर्न लेख्छ । र, पुस्तकमा देखिएको गल्ती सटीक ढंगले औंल्याउनु आलोचकको धर्म हो ।

निनामजी, ‘मदनसरी राई पुरस्कार’ भूपध्वजलाई होइन, उनको कृतिलाई दिइएको हो । पुरस्कार निवेदन गरेर माग्दा पाइने कुरा होइन भन्ने हेक्का पनि निनामजस्तो ‘विद्वान्’लाई थाहा भएकै हुनुपर्ने हो । संघ संस्थाको उद्देश्यअनुरूप कसैले कुनै कार्य गरेको छ भने दिइने सम्मान हो पुरस्कार । यसको अर्थ पुरस्कृत सामग्रीको कमीकमजोरी केलाएर दोष देखाउन पाइँदैन भन्ने छैन । तर, निनामले कसैको मानमर्दन गरेर आफ्नै मूल्य घटाउनबाहेक लेख या कृतिको कमीकमजोरी केलाउने हैसियत देखाउन सकेका छैनन् ।

अरूलाई अनावश्यक गाली र आक्षेप लगाएर सामाजिक सम्मान पाउने आशा राख्नु भनेको पटमूर्ख स्वभावको परिचय दिनु हो । शरण राईको लेख भ्रामक र असत्य भएको भए त्यसविरुद्ध यतिखेर गाउँगाउँमा विरोधको आगो बलिसक्ने थियो । तर, मोबाइल हुनेले नहुनेहरूलाई लेख पढेर सुनाउने र पढ्न दिँदै छन् । सोताङको सेरफुइमलाई बंग्याएर कुलुङ संघले चाक्चाकुर भनेको रहेछ भनेर सोताङ समुदायमा टिप्पणी भइरहेको छ । किन ? यो महत्वपूर्ण सवाल हो ।

निनाम लोवात्ती कुलुङले आफ्नो टिप्पणीमा भूपध्जप्रति ईष्र्यामात्र होइन, कुनै पनि समय सांघातिक हमला गर्ने संकेत गर्न खोजेका छन् । भूपध्वजमाथि अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवारी अब निनामले लिनुपर्छ ।

अर्का टिप्पणीकार ध्यान कुलुङले प्रतिक्रिया व्यक्त गर्दै ‘विभाजनको गोटी’ शब्द प्रयोग गरेर सोताङ, पिल्मोङ र कुलुङबीचमा विभाजन ल्याउन खोजियो भन्ने संकेत गरेका छन् । मेरो विचारमा सोताङ, कुलुङ र पिल्मोङलाई कसैले फुटाउनुपरेको छैन । यी तीन समुदायलाई भाषिक सांस्कृतिक दृष्टिले अलग्गै स्वत्व भएका समुदाय हुन् । बरु सत्य के हो भने ‘राई’ शब्दले यी तीन समुदायबीच आपसमा एकताको माला उनेर राखेको हो ।

ऐतिहासिक अध्ययन अभावमा ध्यान कुलुङले एकतामा अनेकता ल्यायो भनेर आरोप लगाएको देखिन्छ । उनको अभिव्यक्तिको आसय सोताङले सोताङ भन्नुहुँदैन कुलुङ भन्नुपर्छ, पिल्मोङले पिल्मोङ भन्नुहुँदैन कुलुङ भन्नुपर्छ भन्ने होला । यो भनेको एकात्मकतावादी सोच हो । उनमा पनि स्वतन्त्र अस्तित्व बोकेको पिल्मोङ, सोताङ र कुलुङ समुदायबीच पुस्तौंपुस्तादेखि रहिआएको आपसी सद्भावको इतिहासलाई निरन्तरता दिनुपर्छ भन्ने सोच अभाव देखिन्छ । सोताङ र पिल्मोङको अस्तित्व मेटेर कुलुङ बनाउन खोज्नु कति जायज हुन्छ ? आफ्नो समुदायको अधिकार संरक्षण गर्ने आवाज उठाउनेले अर्को स्वतन्त्र समुदायको अस्तित्वमाथि थिचोमिचो गर्नु न्यायिक ठहरिन्छ ? पिल्मोङ र सोताङ के चाहन्छन् भन्ने कुरा उनीहरूले नै निर्णय गर्ने कुरा हो, निनाम या ध्यानले जबरजस्ती कुलुङ बन्नुपर्छ भन्ने होइन ।

खाँटी कुलुङको बिल्ला लगाएका अर्को टिप्पणीकार पीबी कुलुङ देखिएका छन् । आफ्नो नामसमेत कुलुङबाट होइन अंग्रेजीबाट ‘पीबी’ राख्नेले कुलुङको कुरा गर्दा रमाइलै लागेको छ । मोह अंग्रेजीको, कुरा कुलुङको ! उनी पनि चाक्चाचुरबारे बहसभन्दा पनि बोक्रे आरोपमा उत्रिएका छन् । उनी पनि लेखकलाई ‘दानापानीको जोहोतिर लागेको’ भनेर आरोपित गर्छन् ।

मेरो निचोड के भने, यी तीनैजना टिप्पणीकार विषयकेन्द्रित बहसबाट बहकिएर व्यक्तिगत आरोपमा उत्रिएका छन् । यसले उनीहरूको स्तर त देखाएकै छ, अर्कोतिर चाड बनाइएको चाक्चाचुरमाथि उठाइएको प्रश्न जायज रहेछ भन्ने पनि अप्रत्यक्ष रूपमा पुष्टि भएको छ ।

पीबीले राई लेख्नुहुँदैन, यो पद्वी हो भनेर दाबी गरेका छन् । पीबीको यो तर्क पनि अर्काको आङमा जुम्रा हिँडेको देख्ने, आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने भनेझैं हुन पुगेको छ । राई शब्दले अहिले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत जातिको मान्यता प्राप्त गरिसकेको छ । अर्कोतिर राई शब्दले कम्तीमा १०/१५ लाख जनतालाई संगठित गर्ने शक्ति राख्छ । यो शब्द हटाउने हो भने हामी २५/२६ टुक्रा हुन पुग्छौं । यसरी टुक्र्याउनुलाई कदापि सही मान्न सकिँदैन । त्यसैले राई नलेखौं भन्नेहरूचाहिँ खासमा खास फुटवादी हुन् । बरु उनीहरूचाहिँ हिजो डलरको खेती गर्ने र राजावादीको मायाजालमा रुमल्लिएका थिए भन्ने हिजोका घटनाले देखाएको छ ।

अब कुरा गरौं, कथित चाक्चाकुर चाडको । चाक्चाचुर भनेको पुसको नाम हो भन्ने दुनियाँलाई थाहा छँदै छ । चाक्चाकुर चाड नभएकै कारण कुलुङ संघले उर्दी लगाउनुपर्ने अवस्था सिर्जना भएको हो । यो कुरा हिमालको चरोलाई पनि थाहा छ, समुद्रको माछोलाई पनि थाहा छ । कोरोनाको महामारीमा पनि अरू चाडबाड किन रोकिएन ? महान् चाड भनिएको चाक्चाकुर किन शिथिल भयो ? खाँटी कुलुङ भएको बोक्रो नारा लगाउने तर अंग्रेजी संस्कृति भित्र्याउन उद्यत हुनेहरूले चाक्चाकुरलाई चाड भन्छन् भने अरूका लागि चाक्चाकुर कालो महिना हो । पहिचानको कुरा गरेर नथाक्नेहरू सक्कली चाडबाड मान्न छाडेर कृत्रिम चाडको पछाडि किन लागेका हुन् ? बरु योचाहिँ शंकाको घेराभित्र छ । कुलुङहरूले मान्ने कुनै चाडबाडलाई प्रवद्र्धन गर्न कन्जुस्याइँ गर्नेले अर्काको आङको जुम्रा केलाउन नखोजेकै बेस होला ।

कथित् चाक्चाकुरवादी साथीहरू, कुलुङवादी जति ठीक राईवादी जति बेठीक भन्ने मपाइँवादी प्रवृत्तिबाट सच्चिएर सत्यतथ्यको खोजीमा लाग्नु उपयुक्त हुन्छ । मेरो प्रश्न के हो भने राई लेख्दा कुलुङ संस्कृति कहिले कसरी मासियो ? कि राज्यको विभेदपूर्ण व्यवहारले गर्दा संकटमा परेको हो ? विभेद र उत्पीडनको असली कारण खोज्नतिर नलागेर विभेदकारी राज्य र त्यसका हिमायतीलाई नै बल पुग्नेगरी मपाइँवादी बनेका कुलुङ साथीहरू तपाईंहरूले कसको सेवा गरिरहनुभएको एकपटक मज्जाले दिमाग खियाउनुहोला । हामी लड्ने विभेदकारी राज्य र नीतिसँग हो । तर, तपाईंहरू राई शब्दसँग लडिरहनुभएको छ, तर तपाईंहरू आफ्नै समुदायविरुद्ध लडिरहनुभएको छ । यसले तपाईंहरू शासकहरूबाटै परिचालित हुनुहुन्न भनेर हामीले कसरी विश्वास गर्ने ? हिजो पञ्चायती व्यवस्थाले पनि हामीलाई यसरी नै प्रयोग गर्न खोजेको थियो । तपाईं कुलुङवादी साथीहरू पनि त्यसको नयाँ गोटी होइन भनेर हामीले कसरी विश्वास गर्ने ? ‘राई हटाऊँ’ भन्ने बहानामा सुरुमै सोताङ र पिल्मोङको अस्तित्व कुल्चने प्रयास गरिरहनुभएको तपाईंहरू कसरी एकतावादी भनेर हामीले भन्ने ? यो कुलुङ मपाइँवाद कदापि स्वीकार्य हुन सक्दैन ।

अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छरिएर बसोवास गरिरहेको विशाल जनसमुदायलाई एकताको सूत्रमा ल्याउने, विविधतालाई जोगाउने साझा परिचय हो– राई । राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्नका लागि जनसंख्याको ठूलो दरकार पर्छ । हामी २५/२६ टुक्रा भयौं भने कसले सुन्छ हाम्रो आवाज ? अहिले पनि विभेदकारी नै रहेको राज्य र शासकहरूले १२/१३ लाख किरात राईहरूको आवाज त सुन्न चाहिरहेको छैन भने टुक्रिएर २८ हजार जनसंख्यामा सीमित हुने कुलुङको कुरा सुन्छ ? यतातिर कुलुङवादी साथीहरूले कहिले सोच्नुभएको छ कि छैन ?

 

प्रतिक्रिया दिनुहोस्