खोटाङ सेवा समाज बेलायत अध्यक्षमा डा. राई



बेलायत । खोटाङ सेवा समाज बेलायत नवनिर्वाचित अध्यक्ष डा. प्रमोद कोयी राईले कोरोना संक्रमणपीडितलाई दृष्टिगत गर्दै खोटाङमा स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । समाज अध्यक्षमा निर्वाचितलगत्तै डा. राईले यस्तो प्रतिबद्धता जनाएका हुन् । समाजको पाँचौं अधिवेशनले डा. प्रमोद कोयी राईलाई अध्यक्षमा निर्वाचित गरेको हो । डा. राईको अध्यक्षमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका गरेको थियो ।

विश्वव्यापी कोरोना महामारीलाई दृष्टिगत गर्दै भर्चुअल (जुम) माध्यमबाट सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा भाग्यवती राई, प्रसाद राई, झलम राई र भविन राई निर्वाचित भएका हुन् ।

अधिवेशनले भोलाविक्रम राई (महासचिव), रोजिना राई, देवेन्द्र खेरेस राई र राजेन्द्र राई  (सचिव), चन्द्र जयपाल (कोषाध्यक्ष) र सञ्जीव राईलाई सहकोषाध्यक्षमा निर्वाचित गरेको हो ।

यसैगरी, सदस्यमा क्याप्टेन सन्तोष राई, वसन्त गुरुङ, खिलेन्द्र राई, जानुका राई, धीरज राई, सञ्जीव राई ‘पारदर्शी’, सुमी राई (ननिन्टन), लीला गोम्देन, बमबहादुर तामाङ, शिवध्वज राई, अरुणा राई, प्रज्ज्वल राई, पुजन खत्री र ढाकबहादुर राना रहेका छन् ।

सामाजिक सेवाभावले सन् २००७ मा स्थापित खोटाङ सेवा समाज बेलायतले गृह जिल्ला खोटाङमा परोपकारी काम गर्दै आएको छ । समाजले खोटाङवासीलाई बाढीपहिरो, आगलागी, आर्थिक अवस्था कमजोर भएका र जिल्लाका जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

समाजले सन् २०१७ मा खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराएको थियो । खोटाङवासी बिरामी हुँदा तत्काल अस्पतालसम्म पुर्याउने जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीका लागि सातवटा एम्बुलेन्स र जिल्ला अस्पताल खोटाङका लागि एकथान अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको थियो ।

खोटाङमा जन्मेर विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तिबाट छनोट गरी नगद १ लाख रुपैयाँ र ताम्रपत्रसहितको ‘नागरिक सम्मान’ र साहित्य, संगीत, कला क्षेत्रमा साधनारत प्रतिभामध्येबाट एकजनलाई नगद ५० हजार र ताम्रपत्रससहित ‘खोटाङ प्रतिभा पुरस्कार’ समेत प्रदान गर्दै आइरहेको छ ।

खोटाङ सेवा समाज बेलायत नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । विश्वव्यापी कोरोना महामारीका कारण अघिल्लो कार्यसमितिको कार्यकाल एक वर्ष लम्बिएको थियो ।

प्रतिक्रिया दिनुहोस्