ट्रकले किच्दा प्रहरी महिलाको मृत्यु


बाँके । जिल्लाको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा प्रहरी जवान महिलाको मृत्यु भएको छ । शमशेरगन्जबाट नेपालगन्जतर्फ आउँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।

आइतबार राति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । प्रमुख प्रहरी निरीक्षक शाहका अनुसार तीव्र गतिमा रहेको ट्रक सुरुमा कोहलपुर चौराहको दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो ।

लगत्तै पश्चिमतर्फ सडकछेउ ड्युटीमा रहेकी प्रहरी जवान बुढाथोकीमाथि आएर पल्टिएको थियो । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी ३६ वर्षीया उनको कार्यक्षेत्रमा खटिएकै क्रममा मृत्यु भएको हो ।

ट्रकले किचिएर भे८ब ४०६८ र भे१०प ४६२४ नम्बरको दुई थान स्कुटीसमेत पूर्ण रूपमा क्षति भएको प्रमुख शाहले बताए । ट्रक चालक बबई गाउँपालिका–६ दाङनिवासी लोकराज केसीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्