कमरेड कमान्डरको माया



जापानविरोधी सशस्त्र संघर्ष चलिरहेको थियो । त्यसताका चार करोड कोरियाली जनताका महान् नेता कमरेड किम इल सुङ थिए । शत्रुले गर्दा धेरैले आमाबाबु, दाजुभाइ तथा दिदीबहिनी गुमाउनुपरेको थियो । कमरेड किम इल सुङले उनीहरूलाई हेरविचार गरेर क्रान्तिकारी लडाकाका रूपमा हुर्काए ।

गुरिल्ला सैन्य दलबीच सम्पर्क राख्ने काम निकै महत्वपूर्ण हुन्छ । त्यसबेला यो काम गरिदिने अर्दली (अह्राएको काम गर्ने)मध्ये धेरैजसो टुहुरा थिए । उनीहरू क्रान्तिका लालयोद्धाका रूपमा हुर्के ।

सन् १९३८ को वसन्तको कुनै महिना थियो, मैले जापानविरोधी गुरिल्ला सेनामा भर्ना भएपछि पहिलोपटक कमरेड कमान्डर किम इल सुङलाई भेटें ।

मेरो शिर थपथपाउँदै उनले विस्तृत रूपमा सोधे, ‘तिमी कसरी गुरिल्ला सेनामा आयौ ?’ म त्यसबेला १२ वर्षको थिएँ । मैले मेरो विगतबारे आफ्नै बाबुलाई भनेजस्तै गरी सुनाएँ, ‘मेरा बा चेचाङ्गजु गुरिल्ला आधार क्षेत्रमा भोकभोकै मरे । मर्नुभन्दा पहिले उनले मेरो हात समाउँदै मलाई भने, ‘तिमी ६ वर्षकी सानी बहिनीलाई लिएर नाइतुसान जानू ।’

मेरा बाबुको दुःखदायी मृत्युपछि म नाइतुसान गएँ । मेरी दिदी स्थानीय इलाकामा गोप्य कामको जिम्मा लिएर खटिएकी थिइन् । गम्भीर घाइते भएको अवस्थामा मैले उनलाई बाटोमा भेटें । मैले घाइते दिदीकै साथमा ६ वर्षकी सानी बहिनीलाई छोड्नुपर्ने भयो । केही समयपछि उनीहरू पनि नाइतुसानतिर बाटो लागेछन् । मेरी दिदी र बहिनी दुवैजना बाटोमा खान नपाई भोकले मरेको खबर पाएँ । कमरेड किम इल सुङलाई मैले यी कुरा बीच–बीचमा रुँदै सुनाएको थिएँ ।

मेरो कुरा सुनिसकेपछि कमरेड किम इल सुङले मलाई आफूतिर तानेर केही नभनी आफ्नो छातीमा टाँसे । उनको आँखामा आँसु थियो । त्यो देखेर मैले आफ्नो आँसु रोक्न सकिनँ । उनको छातीमा मुख राखी डाँको छोडेर रोएँ ।

हामी आशावादी थियौं । उनले मलाई प्रोत्साहन र प्रेरणा दिँदै भने, ‘ओ सोङ तिमी ठूलो भएपछि तिम्रा आमाबाबु, दिदीबहिनीलाई भोकभोकै मार्ने जापानी साम्राज्यवादी दुस्मनलाई सखाप पार्नुपर्छ र देशको खम्बा बन्नुपर्छ ।’ त्यसपछि म उनको रेखदेखमा हुर्कें । त्यसपछिका वर्षहरूमा धेरै नरमाइला घटना पनि भए । ती सबै म यहाँ भन्न सक्दिनँ तर मेरो सम्झनामा सधैं ताजा रहेको एउटा घटनामात्र यहाँ भन्न सक्छु ।

यो घटना सन् १९३९ को शरदको कुनै महिनामा भएको हो । त्यसबेला म १३ वर्ष पुगेको थिएँ । एक दिन हाम्रो टुकडी अन्तु काउन्टीको जंगलमा बास बस्नुपर्यो । कमरेड किम इल सुङको निम्ति पाल टाँगेर हामी अर्दलीहरू उनको बाटो कुरिरहेका थियौं । उनी बास बसेका ‘युनिट’को रेखदेख गर्न बाहिर गएका थिए । रात धेरै बितिसकेपछि पनि फर्कने केही संकेत देखापरेन । उनी नहुँदा पाल रित्तै देखिन्थ्यो ।

‘उनी किन अझै फर्केनन् ?’

‘अब उनी पक्कै पनि छिट्टै आउलान् ।’

‘अस्तिझैं उनले कुनै ‘रेजिमेन्ट’को हेडक्वार्टरमै रात बिताइदिए भने के गर्ने ?’

कमरेड किम इल सुङ फर्कने बाटो कुर्दाकुर्दा हामी अधीर भयौं । चुपचाप रहन सकेनौं र पालभित्रबाहिर ओहोरदोहोर गरिरह्यौं ।

‘अब म गएर पत्ता लगाउँछु,’ म हुत्तिएर बाहिर निस्किएँ ।

अँध्यारो जंगलमा जताततै सुनसान थियो । वरिपरिका क्याम्पमा मस्त सुतिरहेका मानिसको निद्रा भंग होला भनेर म जंगलमा आवाज ननिकाली बिस्तारै हिंड्न थालें ।

मैले उनी बस्ने सम्भावना भएका सबै ठाउँ चहारें तर उनलाई फेलापार्न सकिनँ । म बाहिर गएको बेला उनी पालमा फर्के होलान् भन्ने विचारले फर्कें ।

शरद सिद्धिन लागेको रातको थियो । झन्डै ठिहि¥याउने जाडो थियो । सिरक ओढेझैं गुरिल्लाहरू सोतरले आफूलाई छोपेर सुतिरहेका थिए ।
म सुतिरहेका कमरेडहरूको बीचबाट चुपचाप निस्केर जंगलको अर्को छेउ पुगें ।

त्यहाँ मैले कमरेड किम इल सुङले सोतर बटुल्दै सुतिरहेका कमरेडहरूलाई छोप्दै गरेको देखें । उनले आफूसँगै उभिएको अर्दलीलाई सानोसानो स्वरले भने, ‘जाऊ, हाम्रो कम्बल लिएर आऊ ।’

अर्दलीले भन्यो, ‘कम्बल… त्यहाँ त तपाईंकै कम्बलमात्र छ, कमरेड कमान्डर ।’ अर्दलीको कुरा सुनेर उनले भने, ‘हामीलाई त पाल नै छ । यी कमरेड खुला ठाउँमा छन् । न्यानो पार्न राम्ररी छोप्नुपर्छ । उसलाई ठन्डी लागेको छ । जाऊ । छिटो कम्बल लिएर आऊ है ।’उनको आवाज विनम्र तर दृढ थियो । अर्दली थप बोल्न सकेनन् । लामोलामो पाइला गरी अर्दली कम्बल लिन हेडक्वार्टरतिर लाग्यो । यो कुरा मैले लुकेर हेरिरहेको थिएँ । कमरेड किम इल सुङले फेरि निहुरेर ती सोतर जम्मा गर्न थाले । उनको यो आकृति बिस्तारै चलिरहेको मैले क्याम्पको आगोको उज्यालोमा देखें । उनले सुतेका मानिसको अनुहारतिर निहुरेर नियाले । आगोको उज्यालोमा उनको हँसिलो मुहार मैले स्पष्ट देखें ।

त्यसबेलादेखि अहिलेसम्म धेरै कुरा बदलिसके । तैपनि किम इल सुङले कमरेडहरूको यसरी हेरचाह गरेको दृश्य म अझैसम्म पनि मनको आँखाले देख्छु । त्यतिमात्र हैन, क–कसलाई ठन्डी लागेको छ भनी उनी सम्झन्थे । जतिसुकै ठन्डी भए पनि आफ्नैनिम्ति राखेको ओढ्ने हामीलाई दिन्थे । कस्तो गहिरो माया ! यो मायालाई एक सिपाहीप्रतिको माया मात्र कसरी भन्न सकिएला ? सायद कुनै आमाबाबुले पनि आफ्नो छोराछोरीलाई योभन्दा बढी माया देखाउन सक्दैन । उनको रेखदेखमा जनताको सिपाही बनेर हुर्कन पाउनु मेरो कत्रो ठूलो अवसर हो भनेर मैले फेरि एकचोटि स्मरण गरें ।

मैले भित्री मनदेखि प्रतिज्ञा गरें, ‘म यो संघर्षको अन्त्यसम्मै तनमनले उनले देखाभएको बाटोमा लागेर क्रान्तिका निम्ति मेरो सबथोक अर्पण गरेर लड्नेछु । म उनको महासागरभन्दा गहिरो, पहाडभन्दा अग्लो असीम स्नेहको योग्य बन्न सकूँ ।’

म छिटोछिटो पाइला चाल्दै पालतिर फर्कें ।

तुरुन्तै कमरेड किम इल सुङ फर्केर आए ।

पालभित्र हामीलाई चारैतिर हेर्दे सोधे, ‘अहिलेसम्म किन नसुतेको ?’

के जवाफ दिने ? हामीले एक–अर्काको मुख हेराहेर गर्यौं । उनकानिम्ति एउटा ओछ्यान बनाउनु थियो । उनले भएको एकमात्र पाखी पनि ठन्डी लागेको गुरिल्लालाई दिइसकेका थिए । के गर्ने भनेर हामी अन्योलमा यताउति गर्न थाल्यौं । उनले तुरुन्तै हाम्रो मनको कुरा ठम्याउँदै भने, ‘पाखी नभए पनि सुतेर हामी आफूलाई न्यानो पार्न सक्छौं । चिन्ता नगर, तिमीहरू सब यहाँ आऊ र मेरो छेउमा पल्ट । हामी सँगसँगै टाँसिएर बस्यौं भने हामीलाई न्यानो पार्न सक्छौं ।’

पाखी हुँदा पनि उनी एक्लै ओढ्नुदैनथे । उनले दया र दृढताले गरेको आग्रहलाई अस्वीकार गर्न नसकेर हामी सधैं उनीसँगै सुत्थ्यौं । यसरी आमाबाबुको स्याहारमा हुर्केझैं हामीहरू कमरेड किम इल सुङको कोमल हृदयमा स्नेहपूर्वक हुक्र्याैं । उनले देखाएर उज्यालो पारेको क्रान्तिकारी संघर्षको गौरवपूर्ण बाटोमा मैले एक नयाँ सुखी जीवन पाएकोमा ज्यादै गौरवान्तित भएको छु ।

तस्बिर : द जापान टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्