पत्रकार महासंघ खोटाङ उपाध्यक्षलाई कोरोना संक्रमण



दुर्छिम (खोटाङ) । नेपाल पत्रकार महासंघ खोटाङ उपाध्यक्ष टिवन राईले आफूलाई कोरोना संक्रमण भएको समाचार आफैंले लेखेका छन् ।

हलेसीमा रहेको आइसोलेसन केन्द्रमा बुधबार एन्टिजेन परीक्षण गर्दा तुवाचुङ साप्ताहिक पूर्वसमाचार सम्पादकसमेत रहेका राईलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

१३ वर्षदेखि पत्रकारितामा क्रियाशील उनले दिक्तेलबाट प्रसारित हलेसी एफएमको स्टेसन मेनेजरको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

समाचार वाचकका रूपमा रेडियो प्रवेश गरेका उनले नौ महिनासम्म स्टेसन मेनेजरको भूमिका निर्वाह गरेका थिए । स्टेसन मेनेजरको भूमिकामा रहँदासमेत समाचार संकलन, लेखन, सम्पादन र समाचार वाचन गरेका उनले सोलुखुम्बुबाट प्रसारित हिमाल एफएम, दिक्तेलबाट प्रकाशित हलेसी टाइम्स दैनिकलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङनिवसी उनी प्रेस चौतारी खोटाङका पूर्वकोषाध्यक्ष हुन् । पत्रकार राईले जिल्लाबाट प्रकाशित नागरिक न्युज डेली डटकमका प्रबन्ध निर्देशकको भूमिका निर्वाह गर्दै आएका छन् ।

यो समाचार लेखिरहँदासम्म खोटाङका तीन पत्रकारलाई कोरोना संक्रमण भएको थियो । त्यसमध्ये दुईजना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

यसैगरी, हलेसीमा रहेको आइसोलेसन केन्द्रमा बुधबार एन्टिजेन परीक्षण गर्दा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेनिवासी ३६ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो । चिकित्सकले दुवै संक्रमितलाई होम आइसोलेसनमा बस्न सुझाएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकामा बुधबारसम्म ४१ जनालाई कोरोना संक्रमण भएको छ । आइसोलेसनमा बसेर उपचार गराइरहेका कतिपय संक्रमित घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्