स्वाभिमानी सीमा : कलाकार बन्न त्याग महत्वपूर्ण



‘इन्द्रेणी सपना थिएन,’ कलाकार सीमा चाम्लिङ राईले तुवाचुङ डटकमलाई सुनाइन्, ‘कलाकार बन्नेबाहेक अर्को सपना देखेकी थिइनँ ।’
कलाकार बन्ने सपना पूरा गर्न गाउँघरमा सम्भव थिएन । सपना विपनामा परिणत गर्न गाउँभन्दा पर पुग्नुको विकल्प थिएन । तसर्थ, उनी परदेश लागिन् । परदेश अर्थात् काठमाडौं । गाउँबाट काठमाडौं हिँड्दा कलाकार राईसँग तीन चीज थिए । एउटा कलाकार बन्ने सपना । अर्को एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्र । र, तेस्रो उच्चशिक्षा हासिल गर्ने उत्कट अभिलाषा । उनले तीनवटै चीज जतन गरेर काठमाडौं ल्याइपुर्याइन् ।

काठमाडौं टेकेपछि उच्चशिक्षा हालिका लागि उनको पाइला पद्मकन्या क्याम्पसतिर डोरियो । काठमाडौंको बागबजारमा रहेको क्याम्पस धाउन थालिन् । अध्ययनले निरन्तरता पाउँदै थियो । अध्ययनसँगै उनले नृत्य सिक्न थालिन् । संवत् २०६० बाट एकवर्षे ‘डान्स कोर्स’ पूरा गरिन् । ‘बुझ्दै जाँदा कलाकार बन्न त्यति सजिलो थिएन,’ उनले थपिन्, ‘कलाकार बन्ने उद्देश्यले कलाकारितासँग सम्बन्धित कार्यक्रमतिर जान थालें । कार्यक्रमले चिनजान बढ्न थाल्यो । त्यही चिनजानले चलचित्र ‘हामी तीन भाइ’ मा छोटो अभिनय गर्न पाएँ ।’

चिनजानका कलाकारले पत्याएकै कारण उनले चलचित्र ‘कुरुक्षेत्र’ मा अभिनय गर्ने अवसर पाइहालिन् । अवसर पाउँदै जाँदा अभिनय कला निखारिँदै गएको थियो ।

काठमाडौंको नयाँबानेश्वरमा रहेको डाइमन्ड डान्स कल्चरमा उनले नृत्य र अभिनय सिक्नेक्रममा नवल खड्का, हर्के हवल्दारका निर्देशक विष्णु सापकोटा, अर्जुन कार्की, राज तिमल्सिनाहरूसँग भेट भयो । त्यो भेट त्यत्तिकै अनमोल थियो । जुन भेटले कलाकारितामा जोडिने गतिलो अवसर मिल्यो । खड्का, सापकोटा, कार्की र तिमल्सिनाहरूबाट धेरै कुरा सिक्ने मौका पाइन् ।

‘कलाकार बन्न सजिलो छैन । सर्वप्रथम सम्बन्धित व्यक्तिमा हुबहु अभिनय गर्न सक्ने कला हुन जरुरी छ,’ उनको मान्यता छ, ‘कलाकारमा हुनुपर्ने गुण भनेको अभिनय गर्ने कला नै हो । कलाकार बन्न त्याग गर्नुपर्छ । बाहिर देखेको हिसाबले कलाकार बन्न सकिँदैन । राम्रो कलाकार बन्न मिहिनेत गर्नुपर्छ । यत्ति गर्न सके कलाकारितामा भविष्य छ ।’ उल्लिखित योग्यता पूरा गर्न र बढाउन उनी लागिपरेकी छन् ।
त्यही योग्यताले संवत् ०६२ मा निर्मित चलचित्र ‘परिवर्तन’ मा उनले सहनायिकाको भूमिका निर्वाह गरेकी थिइन् । सो चलचित्रमा छोटो–छोटो भूमिका भए पनि अभिनय गर्न पाउँदा गौरवान्वित छिन् । चलचित्रमा अनुबन्धित हुन पाउनु भनेको कलाकारसँग चिनजान गर्ने र आफ्नो कला प्रदर्शन गर्ने अवसर हो । चलचित्र ‘परिवर्तन’ मा सहनायिकाको अभिनय गरेपछि उनलाई अभिनयका लागि ‘अफर’ को ओइरो लागेको छ । ‘अफर’ आइरहे पनि आफ्नै व्यस्तताले समय दिन सकेकी छैनन् ।

नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार प्रसारित चेतनामूलक कार्यक्रममा समेत उनले अभिनय गरेकी थिइन् । उनले धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

आमा गुनको तामा भन्ने नेपाली उखान प्रचलित छ । उनकी सानी छोरीले चलचित्र ‘पसिना’ मा बालकलाकारको भूमिका निर्वाह गरिसकेकी छन् । चलचित्र ‘पसिना’ काठमाडौंका फिल्महलमा प्रदर्शन भइरहेको छ । ‘अहिले त सानै छिन्,’ उनले भविष्यको योजना सुनाइन्, ‘तर, रहर गरेमा छोरीलाई पनि कलाकार बनाउनेछु ।’

कलाकारले अभिनयद्वारा समाज परिवर्तन गर्न ठूलो भूमिका खेल्ने कलाकार सीमा चाम्लिङ राईको बुझाइ छ । कलाकारको वैवाहिक सम्बन्ध कस्तो होला ? ‘अरूको भन्दा मेरो पारिवारिक वातावरण फरक छ । सबैभन्दा ठूलो एक–अर्काप्रति विश्वास हो,’ उनको भनाइ छ, ‘यदि एक–अर्कालाई बुझ्न सकियो भने जुनसुकै काम गर्न सकिन्छ । मेरो श्रीमान्ले मलाई राम्ररी बुझ्नुभएको छ । मैले गर्न खोजेको काममा उहाँको सपोर्ट छ । सामाजिक काममा पनि मेरो रुचि भएकाले मैले समाजमा केही योगदान गर्न चाहने कुरा उहाँलाई राम्ररी थाहा छ ।’

नवीन चाम्लिङ राई

कलाकार बन्न परिवारले गरेको सहयोग उनले कहिल्यै बिर्सेकी छैनन् । ‘म त कलाकार भइसकें । सेलिब्रटी भएकाले सबैले चिन्छन् । मैले परिवारको दबाबमा किन बस्ने भनेर सोच्नेहरूमा समस्या आइहाल्छ नि,’ उनले हाकाहाकी भनिन्, ‘त्यस्ता सोच राख्नेहरूको परिवारमा अहिले पनि समस्या आइरहेको छ ।’

कलाकार बन्न सम्बन्धित परिवारले गरेको सहयोगको मूल्यांकन गर्ने बानी विकास गर्नुपर्छ । त्यस्तो बानी विकास गरेमा कलाकारितामा लाग्नेलाई समस्या आउँदैन । त्यतिमात्रै भएर पनि हुँदैन । कतिपयका परिवारले कलाकार र कलाकारितालाई हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा पनि समस्या हुन्छ । तर, सबै समस्याले समाधान पनि सँगै ल्याएको हुन्छ । जहाँ समस्या, त्यहाँ समाधान पनि त हुन्छ । कलाकार सीमा चाम्लिङ राईको जुक्ति कम्ती सुन्दर छैन ।

प्रतिक्रिया दिनुहोस्