कोदो रोप्न ३५ जना खेताला



आकाश छिनमै रुन्थ्यो । छिनमै हाँस्थ्यो । आकाश रोएपछिको अविरल वर्षा । पानी पर्नासाथ टाउको लुकाइहाल्ने अवस्था हुँदैन । घामपानीको यही अवस्थाबीच साउन रोपेर मंसिर फलाउने हतारोमा रहेका किसानको जाँगर कम्ती लोभलाग्दो देखिँदैन ।

साउन भन्नासाथ विशेषतः धान र कोदो रोप्ने चटारो । हलेसी तुवाचुङ नगरापालिका–५ दुर्छिम साल्तेम्मावासी किसान कोही धान त कोही कोदो रोप्न व्यस्त थिए । हिजोआज अर्मपर्म एकादेशको कथाजस्तै बनेको छ । पहिलेजस्तो खेताला पाउन कठिन । ज्यालादारी कामले छपक्कै छोपेको समय खेताला पाउनु भनेको पलासको फूलमा सुगन्ध भेटेसरह मानिन्छ ।

तर, कहिलेकाहीं पलासमा पनि सुगन्ध भेटिँदोरहेछ । यतिबेला कसैले कसैलाई भेट्न परे सम्बन्धित व्यक्तिको घरमा होइन, मेलो सोध्दै जानुपर्छ । यो समय सबै–सबै किसान आ–आफ्नै खेतबारीमा पाखुरा बजार्न व्यस्त हुने नै भए । त्यसैले खेताला पाउन कठिन हुन्छ ।

पाँच/सातजना खेताला त भेटिएलान् । त्योभन्दा बढी कल्पना गर्न सकिँदैन । कल्पना गर्न नसक्ने काम हलेसी तुवाचुङ नगरापालिका–५ दुर्छिम साल्तेम्मानिवासी यज्ञराज राईले सम्भव तुल्याइदिए । राईले एकैदिन ३५ जना खेताला लगाएर कोदो रोप्न सफल भए ।

बिहान ६ बजे मेलो पसेकाले दिउँसो १ः४५ बजेसम्ममा लिङ्पाबारीको १५ रोपनी बारीमा कोदो रोपिसके । घरका सदस्य र खेताला गरी ४० जनाले साढे सात घन्टामा १५ रोपनी बारीमा कोदो रोपेर सिध्याएपछि टोलभरि चर्चाको विषय बन्यो ।

‘सामूहिक रूपमा काम गर्दाको अनुभूति शब्दमा व्यक्त गर्न कठिन हुन्छ,’ स्थानीय विजय राईको भनाइ थियो, ‘धेरै जम्मा भएर काम गर्दा मेलो पनि छिट्टै सर्छ । धेरैले धेरै प्रसंग सुनाउँदै काम गर्दा सम्बन्धित व्यक्तिको भोगाइ जान्न पाइन्छ ।’

खेताला धेरै भएपछि सबैलाई छुट्टाछुट्टै काम लगाउन सकिन्छ । ‘बीउ काढ्नेले बीउ काढिरहन्छन् । रोपाहारले रोपिरहन्छन्,’ आफ्नै बारीमा काम गरिरहेका खेताला देखाउँदै सम्झना राईले सुनाइन्, ‘खन्नेहरूले खनिरहन्छन् । हेर्दा मात्रै कनि रहरलाग्दो ।’

सम्झना राईको तर्क सुनेर कोदो रोप्न सघाइरहेकी मुना राईले पनि सहमति जनाइन् ।

‘साल्तेम्मामा ३५/३५ जना खेताला लगाएर कोदो रोपिएको यो नै पहिलो हुनुपर्छ,’ श्री दुर्छिम माध्यमिक विद्यालय दुर्छिमका शिक्षक बगम राईको बुझाइ छ, ‘यो संस्कार सधैं जोगाइराख्न सक्नुपर्छ । अर्मपर्म भनेको एकले अर्कालाई आवश्यक परेको समय सघाउने सुन्दर संकार हो ।’

प्रतिक्रिया दिनुहोस्