उमेर बढ्दै गएपछि प्रोस्टेट नियमित परीक्षण गर्न चिकित्सकको सुझाव


चितवन । समय–समयमा प्रोस्टेट परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । उमेर बढ्दै जाँदा पुरुषमा देखापर्ने प्रोस्टेट समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ ।

प्रोस्टेट पुरुषमा जन्मदेखि हुने अंग हो । पिसाब नली र पिसाबथैलीबीचमा प्रोस्टेट हुन्छ । उमेरअनुसार प्रोस्टेट बढ्दै जाने र २१/२२ वर्षमा २१÷२२ ग्रामकै प्रोस्टेट हुन्छ । वरिष्ठ मूत्ररोग विशेषज्ञ (युरोलोजिस्ट) डा. निर्मल लामिछानेका अनुसार सालिन्दा १ दशमलव २ ग्रामका दरले पोस्टेट बढ्दै जान्छ । कपाल फुल्न थालेपछि यसको ग्रन्थीको आकार ५०/५५ ग्रामसम्म हुने डा. लामिछानेले जानकारी गराए ।

पिसाब ननिख्रेजस्तो हुने, पिसाबको धारो काटिएर जाने, पिसाब गर्दा पेटको बलले कनेर निकाल्नुपर्ने, रातको समयमा दुई÷चारपटक पिसाब फेर्न उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न गाह्रो हुने, दिउँसो पनि धेरै पिसाब लाग्नु पोस्टेटको लक्ष्यण मानिन्छ ।

यसैगरी, पिसाबमा संक्रमण हुने, कहिलेकाहीँ पिसाब फर्केर मिर्गाैलासम्म पुग्ने, कम्मर दुख्नेजस्ता समस्या देखिने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशकसमेत रहेका डा. लामिछानेले बताए ।

प्रोस्टेट बढे नबढेको आफैंले छामेर पनि पत्ता लगाउन सकिन्छ भने पिसाबको परीक्षण गरेर, भिडियो एक्स–रे गरेर, पिसाबको गति नापेरसमेत पोस्टेटको अवस्था पत्ता लगाउन सकिने उनको भनाइ छ ।

प्रोस्टेटले पिसाब रोकेमा औषधि प्रयोग गरेर नरम र सानो बनाउन सकिने र कतिपयमा औषधिले काम नगरे शल्यक्रिया गरेर ग्रन्थी हटाउनुपर्छ । प्रोस्टेट क्यान्सर भए पनि यसको ग्रन्थी बढ्ने गर्छ ।

यस्तो अवस्थामा चिकित्सकले ग्रन्थी छामेर र रगत परीक्षण गरेर क्यान्सर पत्ता लगाउन सक्छन् । उमेर बढ्दै जाँदा प्रोस्टेट नियमित परीक्षण गराउनुपर्छ । विकसित मुलुकमा समय–समयमा पोस्टेट परीक्षण गरिन्छ । तर, हामी भने पिसाब बन्द भएपछि मात्रै उपचार गरिन्छ । यस्तो प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बनाउँछ । कुनै पनि रोगको लक्षण देखिनासाथ उपचार गर्नुपर्छ । नत्र सम्बन्धित बिरामीले खर्चको भार र पीडा बेहोर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्