८३ वर्ष नाघेका रुम्जाटारका ३ भूपूगोर्खा सैनिकलाई नेपालै प्यारो


सिद्धिचरण नगरपालिका–४, रुम्जाटारका भूपूगोर्खा सैनिक टेकबहादुर गुरुङ गाईगोठमा गाई स्याहार्दै ।

चिटिक्क परेको तीनतले रातो घर । घरैमा जोडिएको सानो भान्छा । पछाडिपट्टि गाईगोठ । गोठमा दुहुना गाई । यो घर सिद्धिचरण नगरपालिका–४, रुम्जाटारको तेर्सो बाटोबाट दायाँ लागेपछि तीन सय मिटर अगाडि भेटिन्छ । घरदेखि सय मिटर आगडि ‘सिल्भर कलर’को फलामे गेट छ ।

आँगनको डिलैभरि फूलका गमला छन् । त्यही फूल गोडिरहेका भेटिइन्छन् ८३ वर्षीय टेकबहादुर गुरुङ । गुरुङ सेकेन्ड सेभन जीआर (सेभेन गोर्खा राइफल्स)का पूर्वकर्पोरल हुन् । २१–१४–५४–६७ पल्टने नम्बर उनलाई कण्ठै छ । नेपाली मितिअनुसार २०१३ सालमा भर्ती भएका उनले १५ वर्ष बेलायतको सेवा गरे ।

सुरुमा अवकाश आउँदा मासिक पेन्सन ७५ रुपैयाँ थियो । सात वर्षको पैसा एकैपटक लिएर आएकाले उनको पेन्सन मासिक तीस रुपैयाँमात्र आउँथ्यो । एक वर्षको तीन सय ६० रुपैयाँ पेन्सन थाप्न धरान पुग्थे । ‘बाटो खर्च भनेर १५/१६ सयचाहिँ दिन्थे,’ उनले ती दिन सम्झे, ‘त्यसैका लागि भए पनि धरान जान्थें ।’ अहिले उनको मासिक पेन्सन नेपाली ७७ हजार पुग्छ ।

भर्ती हुने चलन उनको पालामा अहिलेको जस्तो थिएन । गल्लावाल गाउँघरमै लर्के केटाहरू खोज्दै आउँथे । उनलाई पनि सुटुक्कै गल्लावालले लगे । साथीहरूसँग सामल बोकेर गल्लावालको पछि लाग्दै जयनगरसम्म हिँडे । त्यहाँबाट रेल चढाएर भैरहवा पुर्याए । भैरहवामा भर्ती भए ।

सन् १९५५ मा टेकबहादुर गुरुङ भर्ती हुँदा दोस्रो विश्वयुद्ध सकिसकेको थियो । १९५८ मा मलायको दुई अप्रेसन भ्याए । भाग्यवश दुस्मनसँग भेट भएन । उनीहरू मलायको जंगलमै भएको बेला आकाशमा विमानले माइकिङ गर्यो । ‘मलाय अब मलेसिया भयो । तिमीहरू सबै जंगलबाट बाहिर निस्कनू । सिज फायर ।’ गुरुङ त्यो ऐतिहासिक घडीका साक्षी थिए ।

कलकत्ता हुँदै पानीजहाजबाट सिंगापुर पुगेका उनले सिङ्घाइ पटानीमा तालिम गरे । ती दिन अझै उनको आँखामा झल्झली आउँछ । ‘सिंगापुरको ब्ल्याकाङमती बसेर गोराहरूले ब्रुनाईमा एक्सरसाइज गर्न लान्थ्यो,’ उनले भने, ‘पछि बटालियन हङकङ सरुवा भयो । ब्रुनाईलाई पहिले बुर्नी भनिन्थ्यो । पछि ब्रुनाई भनेर नामाकरण गरियो ।’

अवकाश आउने बेला उनी मलेसियाको सेरेम्मनमा थिए । त्यहाँ तीन वर्ष बसेर अवकाश लिए । अवकाशपछिको जीवनमा उनी उत्तिकै सक्रिय भए । २०३५ मा वडाध्यक्ष निर्वाचित भए । पञ्चायतकालभरि वडाध्यक्षको जिम्मेवारी सम्हाले । सुन्तला खेती गरे । ०५७ देखि हार्डवेयर व्यवसाय गरेका उनले २० वर्षपछि भर्खरै व्यवसाय छोडे ।

भूपूगोर्खाको संगठन गेसोले सेवा–सुविधाको माग गर्दै आन्दोलन गर्यो। बेलायतले बाध्य भएर भूपूगोर्खालाई बेलायतमै बस्न पाउने सुविधासहितको अवसर दिए । त्यसपछि बाँचेका लाहुरे दुँवाली सबै बेलायततिर लागे । उनलाई बेलायत जाने रहर पटक्कै पलाएन । ०५१ मा उनले बनाएको यही रातोघर छाड्न सकेनन् ।

रातोघरको कहानी निकै लामो छ । घर बनाउनका लागि त्यतिखेर जनकपुरबाट प्लेनमा जस्तापाता ल्याउन खोजेका थिए । जस्ता किनेर ल्याउने तयारी गरेकै दिनदेखि जनकपुरबाट रुम्जाटारको उडान रद्द भयो । त्यसपछि काठमाडौं गए । काठमाडौंमा छोराछोरीसँग माघेसंक्रान्ति मनाए । माघ २ गते प्लेन चढेर रुम्जाटार फर्किनेक्रममा विमान दुर्घटना भयो । विमानको चक्का विमानस्थलकै कम्पाउन्डको तारजालीमा अल्झिएपछि विमानले गुहेश्वरीनजिकैको खेतमा मुन्टो जोत्यो । उनी गम्भीर घाइते भए । त्योभन्दा ठूलो शोकचाहिँ सोही विमानका क्याप्टेन उनका सहोदर भतिज रामसिंह गुरुङको ज्यान गयो । त्यसरी संघर्षसाथ बनाएको घर छाडेर उनलाई बेलायत जाने रहर पलाएन । छोराछोरीका लागि बेलायत जानुपर्ने बाध्यता भएन । ‘बुढेसकालमा बेलायत जानु मन छैन,’ टेकबहादुर गुरुङले सुनाए, ‘मलाई मेरै गाउँ प्यारो छ ।’

बुढेसकालमा बेलायत बसाइ कठिन

रुम्जाटारकै श्रीकृष्ण गुरुङ ८७ वर्षका भए । सन् १९५१ मा भर्ती भएका गुरुङ तत्कालीन रोयल इन्जिनियर पल्टनमा थिए । जुन पल्टनको नाम पछि गोर्खा इन्जिनियर भयो । साढे सात वर्ष सेवा गरेर फर्केका उनी अहिले च्यारिटी (आंशिक) पेन्सन थाप्छन् ।

सिद्धिचरण नगरपालिका–४, रुम्जाटारका भूपूगोर्खा सैनिक श्रीकृष्ण गुरुङ आफ्नै घरमा ।

केही वर्षअघि बूढाबूढी नै बेलायत गए । चार वर्ष बेलायतमा बिताए । तर, मन पटक्कै भुलेन । बेलायतमा बस्नुभन्दा गाउँमै मर्छु भनेर गतवर्ष फर्के । ‘बेलायतमा हप्तैपिच्छे पाउन्ड भत्ता झर्छ । बस्दै खाँदै गर्दा त हुन्छ,’ उनको भनाइ छ, ‘तर, आफ्नै गाउँमा छोरा, बुहारी, नातिनातिनासँग बसेर, रमाएर हिँडडुल गर्दै खाएजस्तो भएन । म त बस्दिनँ बरु गाउँमै मर्छु भनेर फर्कें ।’

झ्यालविनाको सानो घरमा कोचिएर बस्नुपरेको, दिउँसो पार्कमा जाँदा घामले पोल्ने । डुल्न अन्त जान नसकिने भएपछि बेलायत बस्न श्रीकृष्ण दम्पतीको मनले मानेन । मलायको युद्धमा रातरातभर आल्मुनियमको पुल बोकेर खोलामा सेट गरेको सम्झना उनलाई ताजै छ । ‘बेलुकीदेखि पुल बनाउन सुरु गरेर बिहान त गाडी कुद्ने बनाउँथ्यौं,’ उनले विगत कोट्याए, ‘त्यो दिन सम्झँदा अहिले सपनाजस्तो पो लाग्छ ।’

त्यतिखेरका लाहुरेलाई धेरै दुःख थियो । गोराले साह्रै दबाएर राखेको उनको अनुभव छ । सिंगापुरमा हुँदा त्यतिखेर सिंगापुरको ५० डलरले सबै खर्च पुर्याउनुपथ्र्यो । त्यो दुःख कटाउन सक्नेले अहिले राम्रो पेन्सन रकम पाएको उनले बताए । गेसोको प्रशंसा गर्न भुलेनन् । उनलेचाहिँ दुःख कटाउन नसकेकाले च्यारिटी पेन्सन मासिक १२ हजार बुझ्छन् ।

रुम्जाटारकै चन्द्रबहादुर गुरुङको उमेर आर्मीमा ८३ वर्ष भए पनि वास्तविकतामा ८७ वर्ष छ । संवत् २०१२ मा भर्ती भएका गुरुङको पल्टने नम्बर २१–१४–१७–८४ हो । सात गोर्खा (सेभेन जीआर)का उनी सिपाहीमै अवकाश भए । अहिले मासिक पेन्सन ५० हजार बुझ्छन् ।

सिद्धिचरण नगरपालिका–४, रुम्जाटारका भूपूगोर्खा सैनिक चन्द्रबहादुर गुरुङ बाख्रा खोरमा बाख्राको हेरचाह गर्दै ।

सोलुखुम्बु तिङ्लाका गल्लावालले गोठालोबाटै भर्ती लगेका उनले तालिम सकेर गोली हान्न सक्ने भएपछि मासिक ८५ रुपैयाँ आईसी तलब थापे । उनले लाहुरे जीवनमा चालकको काम गरे । बस चालक भएकाले युद्धमा फाइरिङमा परेनन् । तर, गाडी लिएर ब्रुनाईको युद्धमा खुब हिँडे ।

छोराछोरी सबै गरिखान सक्ने भएका छन् । उनलाई सुगर, प्रेसर र दमरोग छ । त्यसैले बुढेसकालमा बेलायत जाने रहर पलाएन । बेलायत गयो भने स्याहार्ने मान्छे राख्नुपर्छ । पाउने भत्ताजति त्यसैमा खर्च हुन्छ । बरु गाउँमै छोरीले स्याहार्छिन् । काठमाडौं जाँदा पनि आफन्त र नातिनातिनाको कमी छैन । ‘अब मर्ने बेलामा बेलायततिर जाने रहर छैन ।’ उनले भने, ‘उता गएका धेरै साथीले बोलाउँछन् । तर, मलाई जाने रहर छैन ।’

पाइन छोडे भूपूगोर्खा

माथिका तीन गुरुङ भूपूगोर्खाहरू रुम्जाटारका हुन् । रुम्जाटार भन्नेबित्तिकै धेरैले लाहुरे बस्ती भनेर चिन्छन् । तर, अहिले यो बस्तीमा भेटिने भूपूगोर्खा जम्मा तीनजनामात्रै हुन् । भएका अधिकांश लाहुरे बेलायत लागे । अलि–अलि काठमाडौंतिर बस्छन् । गाउँ नै शून्य बनाएर बुढेसकालमा बेलायत जाने लहर चलेको छ ।

सामाजिक र राजनीतिक रूपमा छवि बनाएका भूपूगोर्खा पनि बुढेसकालमा बेलायत जान लालायित देखिन्छन् । त्यसको मुख्य कारण छोराछोरी र नातिनातिनाको भविष्य जोडिएको देखिन्छ । तर, बेलायतले चाहिँ सुविधा दिने प्रलोभनमा युवा जनशक्ति उपयोग गर्ने र भूपूगोर्खाको पेन्सन रकम उतै थन्क्याउने नीति लिएको गाउँमै रहेका भूपूगोर्खाको भनाइ छ ।

भूपूगोर्खा पाइने ओखलढुंगा, सोलुखुम्बु, खोटाङलगायतका पूर्वी पहाडका गाउँघर बिस्तारै लाहुरेविहीन बनेका छन् । ‘एकैघरका पाँच भाइसम्म लाहुरे भएका घरहरू थिए,’ रुम्जाटारका स्थानीय मणीन्द्र श्रेष्ठले भने, ‘अब त लाहुरे देख्नै गाह्रो भइसक्यो । सबै बेलायत गइसके ।’ गोर्खा वेल्फेयर ट्रस्ट मार्फत कुनै योजना प्रस्ताव गर्न परेमा गाउँमा बसेका लाहुरे पाउनै छोडिएको मानेभन्ज्याङ गाउँपालिका–५ का वडाध्यक्ष रामकुमार राईले बताए ।

तीन दशकअघि भूपूगोर्खा मिलेर रुम्जाटारमा भूपूसैनिक क्लब खोलेका थिए । क्लबमा बेलायत, भारत र नेपाली सेनाबाट अवकाशप्राप्त साप्ताहिक रूपमा जम्मा हुन्थे । आ–आफ्ना पल्टने कथा पस्किन्थे । गाउँले कान ठाडो पारेर सुन्थे । त्यही कथा सुनेर कति नयाँ पुस्ता भर्ती भए । ‘हप्तामा केही नहुँदा पनि ६० देखि ६५ जना अवकाशप्राप्त सेना जम्मा हुन्थ्यौं,’ सैनिक क्लबका इन्चार्ज टेकबहादुर गुरुङले भने, ‘अहिले त एकजना पनि छैनन् ।’

त्यसैले गाउँघरमा अब न त लाहुरेका युद्धकथा सुनिन्छन् । न लाहुरे नै भेटिन्छन् । एरिया वेल्फेयर सेन्टर रुम्जाटाका अनुसार ओखलढुंगा र सोलुखुम्बुमा हाल तीन सय भूपूगोर्खा छन् । त्यसमध्ये १ सय जतिले च्यारिटी पेन्सन लिन्छन् । दुई सयले फुल (पूरा) पेन्सन लिन्छन् । एरिया वेल्फेयर सेन्टरका प्रमुख श्यामकुमार राईका अनुसार यो संख्या साबिकको तुलनामा आधाभन्दा बढीले घटेको हो । बेलायत जाने र काठमाडौंतिर बस्ने चलन बढेकाले संख्या घटेको राईले बताए ।

सबै तस्बिर : कुम्भराज राई

प्रतिक्रिया दिनुहोस्