दिक्तेल आक्रमण गरेको खबर रेडियोमा सुन्दा माओवादी नै अचम्मित



इलाका (एरिया पार्टी)बाट अपर्झट जिल्ला हेडक्वार्टर (मूलडाँडा) आउनू भन्ने खबर पायौं । हामी हलेसीबाट भाडबेंसी, रेग्मीटार, दिनुवा, पञ्चमी बजार, चिप्रिङ हुँदै जिल्ला हेडक्वार्टरमा जम्मा भयौं । संकटकालको बेला । हामी भूमिगत थियौं । जिल्लाको मुख्य आधार इलाका
(सावाखोलाआसपास)मा जिल्ला पार्टी कार्यालय रहेकाले हामी मूलडाँडामा जमघट गरिरहन्थ्यौं । त्यसैले एचक्यू भन्नेबित्तिकै खोटाङको एक दुर्गम बस्ती मूलडाँडा सम्झन्थ्यौं ।

असार ३ गते मूलडाँडा पुग्यौं । मूलडाँडा एकदमै लेक । बादलको घुम्टो ओढिरहने । त्यत्तिकै ठन्डा । जुका असाध्यै लाग्ने । मूलडाँडामन्तिर रोक्सिम, नराह, चिप्रिङ । यता दुम्छा । बडकाको टाउकोमा थामखर्क विमानस्थल । मूलडाँडा शेर्पा बाहुल्य बस्ती । थोरै मन्तिर बादलको बर्को ओढिरहने भीरखर्क ।

वाप्लुखा तरेपछि लिकुवा, डम्बर्खु, चुम्लुङ, चिसापानी, काहुले, बोपुङ पुगिन्छ । उता सावा । वारि सावाकटहरे । जनयुद्धताका उल्लिखित ठाउँसँग गाढा सम्बन्ध बनेको थियो । दुवै ठाउँमा प्रत्येक रात एकदेखि दुई घन्टासम्म सेन्ट्री बसेको हिजैजस्तो लाग्छ ।

४ असार । मोबाइल गस्ती गर्ने पालो परेको थियो । हितैषी कमरेड प्रकाश तोलाङ्गे ‘आशिष’सँग छितापोखरी पुगेर दुस्मनको गतिविधि नियालेर फर्कनुपर्ने थियोे । बाटोमा भेटिएकालाई छितापोखरी बजारउताको खबर सोध्थ्यौं । उता नेपाली सेना, प्रहरी त आएका छैनन् नि ? भन्दै सोधिरहन्थ्यौं । छितापोखरीमा पाँच घन्टा बस्यौं । बिहान ९ बजे पुगेका हामी दिउँसो दुई बजे फर्केका थियौं । बेलुका छितापोखरी, टेम्मातिरको वास्तविक रिपोर्ट लिएर जिल्ला हेडक्वार्टरमा बुझायौं । ४ गते पनि भीरखर्कमै बस्यौं । भीरखर्क पनि लेक । त्योभन्दा अलि माथि त हो– मूलडाँडा । जनयुद्धताका मूलडाँडाको भूमिका कम्ती थिएन । खोटाङका सञ्चार सेटको आधार रहेको ठाउँ ।

सोनाम सज्जन किराती

बेलुका जनमुक्ति सेनाले खोटाङ सदरमुकाम दिक्तेलमा ध्वस्त (सेबोटेज) गर्ने योजना रहेछ । हामीलाई थाहा थिएन । दिक्तेलमा माओवादीले हमला गर्यो भन्ने समाचार सुन्दा असार ५ गते भइसकेको थियो ।

माओवादी चहलपहल सुनसान किन भएको होला ? भन्ने प्रश्न उठिरहेकै थियो । जिल्लाका सबै साथी जनमुक्ति सेनासँग स्वयम्सेवकका रूपमा दिक्तेल आक्रमणमा सरिक भएका रहेछन् । असार ५ गते सामान्य लेखपढमै बित्यो । ६ गतेदेखि युद्ध मोर्चाबाट फर्कने घाइतेको ओसारपसार गर्नु, स्वयंसेवक टिमको खाने, बस्ने व्यवस्थापनमा सक्रिय थिएँ । कहिले सावा र नागी त कहिले बाघपच्याङतिर डौडधुपमा बित्यो । मोर्चा आफ्नै जिल्लाको भएकाले सरिक हुन मन थियो । तर, जानकारी पाइएन । जनयुद्धमा जहाँ, जे–जस्तो जिम्मेवारी पर्छ, पूरा गर्नु र पार्टी निर्देशनलाई अक्षरश पालना गर्नैपथ्र्यो । तसर्थ, हामी इमानदारीपूर्वक खटियौं । पार्टीले दिक्तेल आक्रमणपछि यो ‘सेबोटेज’मात्रै हो भनेको थियो । दुस्मनको एरिया उसको अनुकूलभित्र पथ्र्यो । यसर्थ, हाम्रो हमला कमजोर मानिन्थ्यो । उनीहरूको आर्कमा हमला गर्नु भनेको उपलब्धि कम, क्षति बढीजस्तै हुन्थ्यो ।

पहिलेको मोर्चाबन्दी युद्ध खारा (रुकुम), सल्लेरी (सोलुखुम्बु) र रुम्जाटार (ओखलढुंगा)मा पुष्टि भयो । त्यहाँ जनसेनाले ठूलो क्षति बेहोर्नुप¥यो । त्यो क्षतिबाट पाठ सिकेर पार्टीले जनसेनाका स–साना टुकडीलाई ‘डिभाइड एट्याक’ गर्दा ऊ जनसेनामाथि जाइलाग्न बाहिर निस्कन्छ । बाहिर निस्कँदा उसको फोर्टिफिकेसन हुँदैन । अर्थात् जनसेनाको फोर्टिफिकेसन या अनुकूल भूगोलमा आइपुग्छ । त्यतिबेला दुस्मनलाई घेरामा पार्ने र ठोक्ने हो । यसरीमात्र विजय हासिल गर्न सकिन्छ भन्ने निचोड निकालेपछि पार्टीले फौजी रणनीतिमुताबिक जनसेनाको पूर्वी डिभिजन छैटौं ब्रिगेडको १६ र १७औं बटालियनको स–साना टुकडीले दिक्तेल हमला गरेको थियो । दिक्तेल हमलापछि जनसेनालाई खोज्न र सखाप पार्न भोजपुरबाट तात्कालिक शाही सेना बाहिर निस्क्यो । शाही सेना भोजपुरको पानधारे आइपुगेछ । असार ८ गते पानधारे बजारआसपास जनसेनाको २८औं बटालियनको स्पेसल टास्क फोर्सले नेपाली सेनालाई चारैतिरबाट घेरा हाल्यो । उनीहरू लुक्दै, भाग्दै पानधारेमा रहेको प्राथमिक विद्यालय भवनभित्र पसे । जनसेनाले घेरा कस्दै लगे । प्लेट माइन बम विस्फोट गरे । विद्यालय भवन ध्वस्त भए पनि २५ जना शाही सेनाको ज्यान जोगियो । त्यहाँको मोर्चामा १० जना जनसेनाले सहादत प्राप्त गरे पनि अत्याधुनिक हतियार भने कब्जा गरे । शाही सेनाका केही जवान घाइते भए । १२ जनाले प्राण त्यागे । बाँकीलाई कब्जामा लिए । घाइतेको उपचारपछि र सकुशल रहेकालाई उनीहरूकै सञ्चार सेटमार्फत भोजपुरका डीएसपीसँग सम्पर्क गराएर जेनेभा सन्धिअनुसार रिहाइ गरेको डिभिजन भाइस कमान्डर कमरेड राजेशले व्यक्त गरेको धारणा हामीले गणतन्त्र एफएममा सुन्यौं ।

उता, दिक्तेल मोर्चामा भने एकजना जनसेना सहिद भए । सात सुरक्षार्मीको ज्यान गएको खबर सुनियो । दिक्तेल कारागारबाट ५८ कैदी–बन्दी निकालेर पार्टी सम्पर्क गराइयो । कतिपय आ–आफ्नो घरतिर लागे भने कतिपय पार्टीका होलटाइमर बने । ५८ जनामध्ये दिलकुमार राई ‘हाङदीप’लाई मुद्दैमुद्दा लागेको थियोे । उनी किरात प्लाटुनमै रहँदा गिरफ्तारमा परे । उनी गिरफ्तारमा पर्दा गोपाल किरातीको खम्बुवान राष्ट्रिय मोर्चाको किरात प्लाटुनसम्बद्ध सदस्य थिए । उनलाई तीन महिना हिरासतमा राखी झुटा मुद्दा लगाएर पुर्पक्षका निमित्त जेल पठाइयो । ‘मलाई ०५८ कात्तिक १५ गते गिरफ्तारी गरियो,’ हाङदीपले पंक्तिकारलाई सुनाए, ‘०६२ असार ५ गते जनमुक्ति सेनाले दिक्तेल सेबोटज गरेपछि कारागारमुक्त भएँ ।’

त्यतिबेला रामबहादुर थापा ‘बादल’ पूर्वी कमान्ड इन्चार्ज थिए । कारागारबाट छुटेपछि हाङदीप पूर्वी कमान्ड कार्यालयको स्टाफ भए । उनी गोपाल किरातीको स्टाफसमेतको जिम्मेवारीमा रहे । त्यसताका पूर्वी कमान्ड जनमिलिसिया निर्देशक पनि बने । पछि किरात जनसरकार प्रमुख गोपाल किरातीको नेतृत्वमा किरात जनसरकार सदस्यको जिम्मेवारी सम्हाले । किरात जनसरकार प्रमुख किराती रहँदा एसपी किराती सचिव र सदस्यमा भूमि चाम्लिङ ‘आसमान’, दिलकुमार राई ‘हाङदीप’, खम्बसिं खत्री ‘अदब’, मणि खम्बू ‘रिवासी’, ध्रुव आङ्देम्बे ‘ज्वाला’ र सुनीता किराती थिए ।

दिक्तेल सेबोटेजमा खोटाङका जिल्ला कारागार, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला विकास समिति, जिल्ला वन कार्यालय, जिल्ला शिक्षा कार्यालयलगायत सरकारी कार्यालय ध्वस्त बनाइए ।

हामी भने उदिम बान्तवा ‘मुक्ति’ (नागी)मा खटिएका थियौं । ०७९ वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा उदिम खोटेहाङ गाउँपालिका अध्यक्षमा निर्वाचित भए । दिक्तेल र पानधारे मोर्चाका घाइते व्यवस्थापनका लागि सावा, नागी र भीरखर्कमा जुटेका थियौं । त्यसपछि ९ र १० गते सावाकटहरेमा केन्द्रीकृत भयौं । १० गतेपछि मुक्तिको कमान्डमा कमरेड शिखर, सुनील, उज्ज्वल र मेडिकल विभागमा कार्यरत रमिला बस्नेत ‘पूर्णिमा’लगायत हामी दिक्तेलमा घाइते कमरेड अनिललाई उपचारनिम्ति तत्काल इन्डिया लैजानुपर्ने भएकाले बाँसको स्ट्रेचरमा हालेर कटहरेबेंसीदेखि कालापानी, रसुवाघाट, उदयपुरको आँपटार, बलाम्ता, ताम्लिछा, थानागाउँ, रूपाटारको कुमालटार हुँदै जन्मजय राई (जिल्ला विकास समिति भूपूउपसभापति)को घरसम्म पुर्यायौं । त्यहाँबाट उदयपुरको पार्टी कमिटीले उनको उपचारनिम्ति इन्डिया पुर्यायो । स्ट्रेचरमा बोक्दा उनको होश थिएन । तीन दिन तीन रातमा उनलाई कुमालटार पुर्यायौं । कमरेड अनिल १६औं बटालियनअन्तर्गत ‘सी’ कम्पनी कमान्डर हुन् । उनी हिजोआज मधेस प्रदेशमा सक्रिय छन् ।

जनयुद्धक्रममा दिक्तेल–पानधारे मोर्चाका थुप्रै पार्टस्मध्ये एउटामा मैले पनि जिम्मेवारी निर्वाह गरेको थिएँ । दिक्तेल मोर्चामा सबैभन्दा बढी घाइते अनिल नै थिए । उनी त्यस्ता बहादुर योद्धा साबित भए, दुस्मनले फालेको थर्टिसिक्स बम पड्किन नदिन उनले दुस्मन भएतिरै फाल्दाफाल्दै नजिकै पड्केर टाउकोमा गम्भीर चोट लाग्यो । सुन्दामात्रै पनि आङ सिरिङ्ङ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्