‘चुमाखु भन्ज्याङ’ होइन ‘बोहेम्मा’


हाम्रो किराती पुर्खाका मुखमै मुन्दुम । जिजु तथा च्याब्जुले हजारौं हिउँद र बर्खा खेपेर बनाएका भस्मेखोरिया र संस्कार तथा संस्कृति कति महान् ? त्यो तुलना गर्नै सकिँदैन । प्रकृतिपूजक हाम्रा पुर्खाका मन हराभरा वनजंगल, हावापानी, धर्ती–आकाश र हिमालझै स्वच्छ, सफा र पवित्र । धेरै कुरा जानेर, बुझेर गर्ने मनका धनी हाम्रा च्याब्जुहरू ।

यदि अड्कोपड्को परेमा पारुहाङ र सुम्निमा बक्साउँथे । त्यसरी बक्साउँदा ज्ञान आउने बाटोलाई चाम्लिङ भाषामा सैंमिलाम (सपनाविद्या) मैमिलाम (मनविद्या), सैंतिमलाम, मैतिमलाम भनिन्छ । यसरी नै जीवन बिताउँदै आमाबाबुले छोराछोरीलाई सुनाउँदै, सिकाउँदै पुस्तान्तरण गर्दै गए । यसलाई किरात संस्कार र संस्कृतिमा सोध्ने–भन्ने, सुन्ने–सुनाउने र सिक्ने–सिकाउने भनिन्छ । यही परम्पराले किरातीहरू युगयुग बाँचेका छन् । यस्ता ऐतिहासिक बखान हामीसँग अथाह छन् । तर, यहाँ सबै कुरा नलेखी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम विशेषतः ‘बोहेम्मा’लगायत अन्य गाउँठाउँको नाम पुराना लिखतमा के–के थियो ? भनी लेख्ने जमर्को गरेको छु ।

न्वारान/नामाकरण :

मानिसलगायत प्रत्येक जीव–जनावर, गाउँठाउँ, रुखपात र खोलानालाको नाम राख्ने चलन छ । किरातीले मुन्दुमअनुसार आफ्नो बच्चाको नाम र थातथलोको नाम आफ्नै भाषामा राख्थे । हामीसँग आफ्नै भेषभूषा, भाषा, लिपि, संस्कार र संस्कृति छन् । हामीलाई न्वारान गर्न साइत जुराउन पर्दैन । न्वारानमा नाम सफा मनले सबैभन्दा जेठो कोक्पा वा कोकुले विधि पु¥याई राखिदिने परम्परा छ । त्यस्तै खोलानाला, रुखपात, थातथलोको नाम पुर्खाले घटनाक्रम हेरेर अर्थ लगाउँथे । दयाको खानी हाम्रा पुर्खाले जसलाई आश्रय दिए, उनैले आज आदिवासी नाम मेटेर आफ्नो पहिचान झल्कने नाम राख्न थालेका छन् ।

बोहेम्मा :

साबिक दुर्छिम गाउँ विकास समिति–३ चुमाखु भन्ज्याङको पहिलेको नाम ‘बोहेम्मा’ रहेको लिखत फेलापरेको छ । यो नाम ठ्याक्कै यही बेला राखियो भन्ने प्रमाण त भेटिएको छैन तर उहिले बोहेम्मा भनिन्थ्यो भनेर प्रमाणित कागजात भने फेलापरेको हो । पंक्तिकारका छेप्पा रणबहादुर राई, कोक्पा मनिकेशर राई र आपा हिङ्गराजकुमार राई विवेकशील र त्यत्तिकै दूरदर्शी रहेछन् । किनकि उनीहरूलाई अक्षर चल्दैनथ्यो । तर, मलाई पढाए । बढाए । जब मैले साँवा अक्षर छिचोलें मलाई ती कागजात सुरक्षित राख्न जिम्मा लागाइयो । त्यतिबेला म ११ वर्षको थिएँ । केलाउनेक्रममा चुमाखु भन्ज्याङको नाम बोहेम्मा रहेको काजगात फेला पारें । जहाँ लेखिएको छ :

(१) सम्बत् १९८९ साल आश्विन २ गते ७ वार मा जितु राउत छेत्रीको मावा भैंसी चकेमोल पतक ४६ का मोलि लाउने जमानि निज गाउँको रण बहादुर राई र दुर्जामान राई–२ ले ईन रुपैया भेजादरि साहु बुझाउनु पर्ने भाका यहि सालका बालाचतुर्दशी सम्ममा बुझाउन्य गरि काटिएका बहि……

तपसील (यो मुनि ४२ जना पछि ४३औं नम्बरमा चन्द्रध्वज –––रु–––१ बोहेम्मा लेखिएको छ ।

(२) लिखितम हलेसी मधे वोहेमा वस्न्या रन्तधन राई आगे मेरो दिपाटो को कपास्याषोरि १ रुपयापाएभंकेपिरुपया ५ मधे रंनधिर सिं राईलाई दरपुस्तापुस्ता नषानु भनि पाएरुपया लि मेरा कपास्यषोरि वादिञीयु यस कुरामा मेरा राजी संग दरपुस्ता नगरि राजिनामा मेरा षोरियाको लेषि दिञ राजीनामा हुडाका साक्षीहरू श्रीहर्क राई, जैलाल राई, सर्बदल राई कलमका साक्षि कुबेरमान राई इतिसम्बत १९२७ साल मिति चैत्र १५ रोज ६ सुभ ।

उल्लिखित दुई लिखतले साबिक दुर्छिम गाविस–३ चुमाखु भञ्ज्याङको पहिलेको नाम बोहेम्मा साबित गर्छ । पछिल्लो समय बोहेम्मावासी मुन्दुम अध्येता भोगीराज चाम्लिङ र संस्कृतिकर्मी तिलक चाम्लिङले आफ्नो गाउँको नाम ‘बोहेम्मा’ लेख्न र भन्न थालेका छन् ।

अन्त्यमा :

नेपालका प्रत्येक क्षेत्रमा नेतृत्व गरिरहेकामध्ये सबैको धारणा सुनिएकै छ । कसैले भन्छन्– बहुपहिचान, कसैले पहिचान भनेको जातीय कुरा गर्नै हुन्न । सद्भाव बिग्रन्छ नि । तर, सानो चोक भेटिएमा गणेश मन्दिर, सानो गल्ली भेटिएमा सरस्वती मार्ग, राम मन्दिर, मदन भण्डारी मार्ग, बीपी राजमार्ग, नेपालभरिको चोक–चोक, गल्ली–गल्ली हेर्यो भने त्यसो भन्नेहरूकै पहिचान भेटिन्छन् । योचाहिँ जातीय भएन र ? त्यस्तालाई काँध खुइलिइन्जेल साथ हाम्रैले दिइरहेका छन् । कुरा होइन, काममा सुलसुल बिताइरहेकाले हामीले बुझ्न आवश्यक छ । हामीजस्तो माइक लगाएर होसियार, होसियार भन्दैनन् र माग्दैनन् पनि । यता हाम्रो भएकाचाहिँ मासिएर गइरहेको छ । उनीहरूले हाम्रो बोहेम्मालाई भन्ज्याङ, दोर्पालाई चिउरिडाँडा, लामाखुलाई निर्मलीडाँडा बनाइसकेका छन् । यो त प्रतिनिधिमूलक दृष्टान्तमात्रै हुन् । तर, हाम्रो विषयमा ऐतिहासिक कुरासमेत जातीय हो भनी षड्यन्त्र गरिन्छ । हाम्रो प्रत्येक इतिहास चोटपटक लगाएर विक्षिप्त छन् ।

पहिले ओल्लो किरात, पल्लो किरात र माझकिरात भनी कानुनी रुपमै लिखितम भइसकेको दस्तावेज हामीसँग छँदै छ । तर, १ नम्बर प्रदेशलाई नामकरण गर्न अहिले सडक र सदन तातिरहेको छ । जसले हिजो माथि उल्लेख गरिएका ऐतिहासिक नाम मेटे, किरात नाम राख्न उनीहरूलाई काउछोको माला भएकै हो । तसर्थ, १ नम्बर प्रदेशको नाम कोसी वा अन्य राख्न धृष्टता गर्दै छन् ।

यसर्थ, पहिचान पक्षधरले हाम्रो गुमेको हरेक सही कुराको अध्ययन गरी हरेक क्षेत्रको सक्कल प्रमाण खोजी गरी अघि बढ्न आवश्यक छ । तसर्थ, मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनमामार्फत हामीले बुद्धिको बिर्को खोल्नैपर्ने भएको छ । हिन्दु धर्मशास्त्रमै उल्लेख ‘जम्वु द्विपे भारत वर्षे, उत्तरा खण्डे कैराँत देसे’ लिखित वाक्यांशलाई नजरअन्दाज गर्न मिल्छ र ? लिखितम ३ नम्बर इलाका जिल्लै माझकिरात थुम हलेसी मध्य बोहेम्मा….. भनिने निम्नलिखित कागजात हामीसँग कति छन् कति ।

प्रतिक्रिया दिनुहोस्