हलेसी भेगका ऐतिहासिक शासक होलेसुङका सन्तान थिए– पूर्वगृहराज्यमन्त्री स्व. डिल्लीसेर राई । राई पटक–पटक मन्त्री र राष्ट्रिय पञ्चायत सदस्य भएका थिए । जिल्ला पञ्चायत खोटाङको पहिलो सभापति (डिल्लीसेर राई) हुने अवसर होलेसुङकै सन्तानले पाएका थिए । पूर्वजिल्ला उपसभापति (नयनकुमार राई) होलेसुङकै सन्तान हुन् । पूर्वगाविस अध्यक्ष दुर्गबहादुर राईका छोरा वर्तमान मेयर इवन राई होलेसुङकै सन्तान हुन् । अहिलेसम्म हेर्दा हलेसी क्षेत्रको स्थानीय राजनीतिक सत्ताको मियो होलेसुङकै सन्तानवरिपरि घुमेको देखिन्छ ।
गज्जबको कुरा के छ भने होलेसुङका सन्तान मात्र होइन, पछिल्लो चरणमा हलेसी भेगका थुप्रै युवामा राजनीतिक सम्भावना देखिन्छ । त्यसैमध्येका एक उदाहरण हुन्– हलेसी तुवाचुङ नगरपालिकाका मेयर राई । हलेसीको राजनीतिक इतिहास र वर्तमान बिस्तारै लेख्नु नै छ । तर, अहिलेचाहिँ राम्रो र लामो राजनीतिक सम्भावना देखिएका मेयर राई र हलेसीका समृद्धिबारे उनको सपनाको छोटो चर्चा यस लेखमा गरिनेछ ।
मेयर राईको राजनीतिक यात्रा
हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार (साबिक मंगलटार गाविस)का पूर्वगाविस अध्यक्ष दुर्र्गबहादुर राई र कृष्णकुमारी राईका पाँच भाइ छोरामध्ये मेयर इवन राई अन्तरे हुन् । छोराहरू आ–आफ्नो व्यवसायतिर लागे । राजनीति गरेनन् । बुवाको बाटो पछ्याएनन् । मेयर राईले आफ्ना बुवाको कुरा यसरी सुनाए, ‘मैले राजनीति गरें । तर, यस क्षेत्रमा उत्तराधिकारी जन्माउन सकिनँ ।’ राजनीतिक कुलघरानामै जन्मेका उनलाई आफ्नो बुवाको कुराले मन बिझ्यो । उनलाई राजनीति गर्ने मन भयो । बुवाकै प्रेरणाले सानैदेखि राजनीतिमा लागे । उनी नेपाली काँग्रेस पार्टीमा संगठित भए । गाउँ कार्यसमितिको सचिव भएर पार्टी काम सुरु गरे । पार्टी कामलाई निरन्तरता दिन थाले । नेपाली काँग्रेसको क्षेत्रीय सचिव हुँदै जिल्ला सदस्य बने । पार्टीको जिल्ला संगठन विभाग प्रमुख भएर पनि काम गरे । उनले विभिन्न वार्ता समितिको संयोजक, छानबिन समितिको संयोजक भएर पार्टीका अन्तरविरोध पनि हल गर्दै आएका छन् । उनी अहिले नेपाली काँग्रेस खोटाङ क्षेत्र नम्बर १ का निर्वाचित क्षेत्रीय सभापति हुन् । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख हुन् ।
नगरको सरकारी कामकाजको भाषा चाम्लिङ
हलेसी तुवाचुङ नगरपालिकाले २०७७ साउन १ गतेदेखि किरात लिपि र चाम्लिङ भाषामा लेटरप्याडमा लेख्न सुरु गरिसकेको छ । चाम्लिङ भाषाले नगरको सरकारी कामकाजको भाषाको मान्यता पाइसकेको छ । चाम्लिङ भाषालाई स्थानीय सरकारी कामकाजको भाषा घोषणा गर्ने पहिलो नगर हलेसी तुवाचुङ नगरपालिका हो । नगरको १ र २ वडामा वाम्बुले राई भाषा र वडा नम्बर ३ च्यास्मिटारमा तिलुङ राई भाषा सरकारी कामकाजको भाषा हुनेछ भनी नगरले नीतिगत निर्णय गरिसकेको छ ।
विद्यार्थी संख्या कम भएकाले चाम्लिङ भाषा कक्षा व्यवस्थित नभए पनि नगरपालिकाका धेरै विद्यालयमा चाम्लिङ भाषा पढाइ भइरहेको छ । भाषा समृद्धिका लागि योजना आएमा त्यसलाई तत्कालै बजेट छुट्याउन सकिने मेयर राईले बताए । नगरपालिकाको आर्थिक सहयोगमा चाम्लिङ भाषा शब्द संकलन भइरहेको छ । यसमा किरात राई चाम्लिङ खाम्बातिम केन्द्रसँग सहकार्य भइरहेको छ ।
मुन्दुमको स्रोतव्यक्ति धामीहरू हुन् । नगरपालिकाले धामीलाई प्रोत्साहन भत्ता दिँदै छ । त्यसका लागि वडाहरूलाई धामीको विवरण मागिसकेको छ ।
हलेसी समृद्धिका महत्वकांक्षी योजना
हलेसी तुवाचुङ नगरपालिकाका मेयर भएपछि इवन राईले निकै महत्वाकांक्षी दुई फाइल सदर गरेका थिए । पहिलो, हलेसी वृहत्तर गुरुयोजना र दोस्रो हलेसी सुक्खा क्षेत्र ।
पानी उकालो पनि बग्छ
हलेसी आउने सबैको गुनासो, ‘हलेसीमा पानीको साह्रै दुःख ।’ दूधकोसी, सुनकोसी । पानीको यति ठूलो स्रोत हलेसीसँगै छ । तर, पानीको दुःख हलेसीलाई ? यो तीतोसत्य हलेसीले अहिलेसम्म भोग्दै आएकै हो । तर, अब हलेसीमा पानी पिउनकै लागि दुःख हुने छैन । ओरालोमात्र बग्दैन, बुद्धि भयो भने पानी उकालो पनि बग्छ । विगत केही वर्षदेखि वृहत् पम्पिङ खानेपानी आयोजना निर्माण हुँदै छ । नदीको पानी नगरको सबैभन्दा अग्लो ठाउँ तुवाचुङ र भुम्जुडाँडासम्म उक्लिनेछ । हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई भन्छन्, ‘२०७८ असारमा दूधकोसी र सुनकोसीको पानी लिफ्टिङ भएर ट्याङ्कीमा खस्नेछ । अनि घर–घरमा वितरण हुनेछ ।’ प्राविधिकले दिएको फागुनसम्मको सुक्खा क्षेत्रको प्रगति विवरणअनुसार ७९ प्रतिशत काम सम्पन्न भइसकेको छ । हलेसी तुवाचुङ नगरपालिकाको १ देखि ७ वडा अर्थात साबिक सात गाविसमा मात्र सुक्खा क्षेत्रको योजना थियो ।
नगरपालिकाले आफ्ना ११ वटै वडामा सुक्खा क्षेत्र योजनामार्फत पानी वितरण गर्दै छ । मोटर जडान गरेर पानी खसाउनमात्र बाँकी छ । सबै ट्याङ्कीमा असारसम्ममा पानी लिफ्ट गर्ने नगरको योजना छ । काम कस्तो हुन्छ ? अहिले नै नतिजा देखिएको छैन । तर, मेयरको भनाइअनुसार नगरपालिकामा पानीको दुःख हुने छैन ।
हलेसी गुरुयोजना अन्तिम चरणमा
महत्वकांक्षी र चर्चामा रहेको २०४१ बाट प्रारम्भ भएको हलेसी गुरुयोजना अर्थात् त्यो बेलाका नेतृत्वले देखेको सपना । त्यो सपना, यो बेला साकार पार्ने अभियानमा छन्– मेयर इवन राई । मेयर राईले खुसी हुँदै सुनाए, ‘हलेसी वृहत्तर गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।’ हलेसी क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिकाले ‘हलेसी वृहत्तर गुरुयोजना’ सुरु गरेको छ । यो योजनाको पनि योजना हो । स्रोत–साधन र जनशक्तिको हिसाबले निकै चुनौतीपूर्ण काम भए पनि सबैसँग सहकार्य गर्दै हलेसी गुरुयोजना अगाडि बढिरहेको छ । यसमा नगरपालिकाले निरन्तर छलफल, अन्तरक्रिया गर्दै आइरहेको छ । सबैसँग सहकार्य गर्दा सफल भइने उनी बताउँछन् ।
सामाजिक, भौतिक, साँस्कृतिक क्षेत्रको विकासमा हलेसी किन पछि ? मेयर राईले विश्लेषण गरे, ‘अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, एक–अर्काको अस्तित्व नस्वीकार्नु । यसैले हामी पछि परेका हौं ।’ विषयगत विज्ञको सहारा नलिने, सबै कुरा आफैं जान्ने । इन्जिनियर पनि आफैं, मास्टर, योजनाकार पनि आफैं, प्रशासक पनि आफंै भएकोले धेरै बिग्रिएको उनले बताए । अपवादबाहेक मान्छे बुहुमुखी हुन सक्दैन । म नै सही, मैले भनेकै हुनुपर्छ भन्ने बुझाइले हामीलाई पछाडि परेका हौं । अदूरदर्शी, अप्राविधिक, अवैज्ञानिक हुने प्रवृत्तिले स्रोत–साधनको दुरुपायोग हुने गर्छ । समृद्ध समाजका लागि परिकल्पना गरेका छौं । यसका लागि हाम्राबीच साझा बुझाइ र धारणा हुनुपर्छ ।
‘हलेसीको समग्र विकासका लागि साझा अवधारणा लिएर उभिएका छांै,’ हलेसी वृहत्तर गुरुयोजनाको अवधारणाको व्याख्या गर्दै मेयर राईले भने, ‘हामी विकासको काममा एकै ठाउँ उभिएका छौं भनेर देखाउन संघीय सांसद विशाल भट्टराईको संयोजकमा पूर्वसांसद र प्रदेशका बहालवाला सांसद विकास समिति, विज्ञको टिम बनाएर काम गरिरहेका छौं । अहिले मास्टर प्लानको काम अन्तिम चरणमा पुगेको छ ।’
सैद्धान्तिक कुरामा फाइनल भएका कतिपय योजना नगरपलिकाले डीपीआर पनि गरिसकिएको छ । कति ठाउँमा निर्माण सुरु भएको छ । जस्तै, बुङालुङ पार्क, सल्लेपोखरी, धर्मशाला, पद्मसम्भवको प्रतिमा निर्माणको काम अगाडि बढिरहेको छ ।
‘हलेसीका कारण नगरपालिका पालिन्छ’
हलेसी त्रिधार्मिक पर्यटकीय स्थल हो । यहाँ किरात, बौद्ध र हिन्दु धर्मावलम्बी आउँछन् । त्यतिमात्र हैन, एउटै थलोलाई आ–आफ्नो धार्मिक परम्पराले पूजा गर्छन् । एउटै माङ्खिम (मन्दिर)मा तीनै धर्मावलम्बीले यसरी मिलेर पुज्ने थलो हलेसीमा मात्र छ । यो हलेसीको महत्वपूर्ण विशेषता हो । यहाँ विश्वका बुद्धिस्ट, किरात र हिन्दु धर्मावलम्बी आउँछन् । पर्यटक हलेसीका मुख्य आम्दानी स्रोत हो ।
मेयर राईले भने, ‘किरात, हिन्दु र बुद्धिस्ट ‘क्लस्टर’ बनाउँदै छौं । तीन रोपनी जग्गामा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा बन्दै छ । तुवाचुङडाँडामा विकास निर्माणको काम हुँदै छ । डाँडामा पुग्ने सिँढी बनाइदिएका छौं ।’ डाँडामा तारबारको काम हुँदै छ । नगरपालिकाले प्रत्येक उँभौली र उँधौलीमा चाड खर्च दिँदै आएको छ । किराती चाड साकेलाको सम्मानमा नगरपालिकाले स्थानीय बिदा दिन सुरु गरेको छ ।
नगरले हलेसीमा आउनेलाई केही दिन अड्याउने पर्यटकीय ठाउँ खोजिरहेको छ । नगरपालिकाले ‘एक वडा एक पर्यटकीय क्षेत्र’ बनाउँदै छ ।
हलेसीको भेटी पारदर्शी
हलेसी सूचना केन्द्रका अनुसार पछिल्लो १४ दिनमा मात्र ५ लाख ९९ हजार ४४० रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, इलाका प्रहरी कार्यालय हलेसी र नगरको रोहबरमा चन्दा बाकस खोलेर हिसाब गर्ने व्यवस्था नगरपालिकाले बनाएको छ । मन्दिर परिसरमा सीसी क्यामेरा जडान गरिएको छ । भक्तजनको हराएको समान भेटाइदिने, तोडफोड र चोरीजस्ता गलत काम रेखदेख गर्न क्यामेराले सजिलो भएको छ । अहिलेसम्म मन्दिरको आम्दानी नगरपलिकाले नलिए पनि हलेसीको राम्रो सम्भावनाबारे मेयर राई भन्छन्, ‘हलेसी मन्दिरका कारणले यो नगरपालिका पालिनेछ ।’ हलेसीमा पैसा उडिरहेको छ । समाउन जान्नुपर्छ ।
हलेसीमा साकेलाथान, तीन चुला बनाउने नगरको योजना छ । यसको सहकार्यका लागि नगरले सम्बन्धित सामाजिक संस्थालाई आधिकारिक चिठी नै लेखिसकेको छ । किरात, बौद्ध र हिन्दु तीनै धर्मावलम्बीको प्रतीक हलेसी मन्दिर परिसरमा राख्ने नगरको योजना छ । मन्दिरको संरचना नबिग्रने गरी प्रतीक राखिने भए पनि तीनै धर्मालम्बीका लागि फरक–फरक ठाउँमा ठुल्ठूला क्लस्टर बनाइनेछ ।
अन्त्यमा
हलेसी सुक्खा क्षेत्र । यो सबैलाई थाहा भएकै कुरा हो । वर्षमा चार महिना पनि यहाँको उत्पादनले खान पुग्दैन । मेयर राईका अनुसार वार्षिक ६ करोडजति खाद्यान्न, राहत र उद्धारमा नगरपालिकाले खर्च गर्नुपरेको छ । अरू स्थानीय तहका जनता के बन्ने भन्ने सपना देख्छन्, हामी के खाने भन्ने चिन्ता गर्नुपर्छ । अहिलेको अवस्था यस्तो भए पनि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले आगामी दिनमा हलेसीको भविष्य उज्ज्वल देख्छन् ।