पण्डित नारायणप्रसाद पोखरेलले गद्दार गरे पनि नाफाको जिन्दगी बाँच्ने उत्तर


उत्रबहादुर राई ‘उत्तर’ले जोक गरेको कहिल्यै सुनिनँ । असाध्यै जिम्मेवार ढंगले प्रस्तुत हुनु राईको स्वभाव । दोर्पाको सुङ्गुरुवानिवासी उनी जोकोहीसँग गम्भीर तरिकाले बहस गर्थे । कस्तो लोभलाग्दो विशेषता । सबैभन्दा बढी राजनीतिक सहकार्य र राजनीतिक वैचारिक बहस गरिरहने हुनाले कमरेड उत्तरलाई असाध्यै सम्मान गरिन्थ्यो । त्यतिमात्रै होइन, उनको दुई पक्षको खुलेर प्रशंसा गर्छु । ती हुन्– आर्थिक मितव्ययी र विरोधीप्रतिको कठोरपना । लामो समय माले विद्यार्थी संगठनमा क्रियाशील रहेर नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिँदै उनले अखिल क्रान्तिकारीको वैकल्पिक केन्द्रीय सदस्यको भूमिकामा काठमाडौं उपत्यकाको जिम्मेवारी सम्हाले ।

अखिल क्रान्तिकारी काठमाडांै जिल्ला सदस्य राजकुमार आचार्य र वैकल्पिक केन्द्रीय सदस्य राई २०५९ पुस १७ गते घट्टेकुलो काठमाडौंबाट समातिए । उनीहरूलाई नारायणप्रसाद पोखरेलले उनकै घरबाट पक्राए । विशाल बजारमा रहेको प्रहरी चौकीमा राखियो । ४४ दिनसम्म हिरासतमा यातना खेप्दा पनि पार्टीले दिएको जिम्मेवारी र गोपनीयताबारे उनीहरू सजग र सचेत थिए । यातनाले उनीहरूलाई गलाएन । तर, राई र आचार्यले त्यस्तो यातना कति पाए कति । पार्टी र विचारप्रति गद्दारी कहिल्यै गरेनन् । सुरक्षाकर्मीले उनीहरूलाई पटक–पटक मारेर फाले पनि बाँचे । अन्ततः ४५ दिनपछि भद्रगोल बन्दीगृह पठाइयो । त्यहाँ तीन महिना आस्थाको बन्दीका रूपमा जेल जीवन बिताए ।

 

माओवादीले युद्धविराम गरेपछि राज्यले बेपत्ता पारेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिलबहादुर राईको बुवा उदय राईले उत्तर राई र राजकुमार आचार्यको पक्षमा सर्वोच्च अदालतमा मुद्दा दायर गरे । उनीहरूलाई राज्यले बन्धक बनाउनुपर्ने कारण नभएको सर्वोच्च अदालतको रिट फैसलापछि चैत पहिलो साता जेलमुक्त भए ।

त्यसपछि कमरेड उत्तर गृहजिल्ला खोटाङ आए । पार्टीको विभिन्न कमिटीमा रहेर आफ्नो भूमिका निर्वाह गरे । मैले उनलाई किराती राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला अध्यक्ष हुँदा एकपटक र सदरमुकाम एरिया इन्चार्ज हुँदासम्म थुप्रैपटक देखें । त्यतिखेर उति राम्रो चिनजान थिएन । पछि सदरमुकाम एरियाबाट सहिद स्मृति छात्रवासमा पढाउन आए । त्यहाँ पढाउँदापढाउँदै उनलाई भोजपुर पठाइयो । भोजपुरका कटुन्जे, चिलाउनेटार, मानेभन्ज्याङ र बासीखोरा संयुक्त गाजसको भूगोल इन्चार्ज बनाइएपछि औपचारिक सहकार्य सुरु भयो । उनी इन्चार्जको भूमिकामा आएका थिए । म सरकार प्रमुख थिएँ । त्यहाँदेखि हाम्रो घनिष्ठता आजसम्म छँदै छ ।

जनयुद्धको बेला सदरमुकाम क्षेत्रमा दुस्मनसँग छलिँदै जनताका काम गर्नुपथ्र्यो । विषम परिस्थितिमा पनि कमरेड उत्तरले दोर्पामा ठुल्ठूला दुई कुला खन्ने काम पूरा गरे । लप्से–पञ्चमी ६ किलोमिटरको कुलो ४ नम्बर एरिया पार्टी माओवादी नेतृत्व र जनताको श्रमदानमा खनिएको हो । यो कुलो पानीले–चम्पेढुंगे हुँदै मेवाखोला माथिसम्मको बासिन्दाले उपभोग गर्थे । सरुवा–भुलभुले–देवीस्थान–दुम्ली–खरबारी–पिप्ले गाउँमुनि मेवाखोला अलि मास्तिर सम्म ६.५ किलोमिटर कुलो पनि माओवादी र जनताको जनश्रमदानबाट निर्माण गरिएको हो । दोर्पावासीका निश्चित ठाउँका खेतबारीसम्म पानी पुर्याउने काम गरेको उत्तरलाई हिजैजस्तो लाग्छ । त्यतिखेर मीनप्रसाद कोइराला ‘शिखर’ र अविरल पनि अहोरात्र खटिए । दोर्पाली दुवैलाई बिर्सेका छैनन् ।

सरकारले शान्ति प्रक्रियापछि तीन करोड ६० लाख रकम छुट्ट्याएपछि लप्से–पञ्चमी ढुंगेसम्मको कुलो नहरमा रूपान्तरण गरियो । यसैगरी, दुई करोड रुपैयाँ लागतमा सरुवा–भुलभुले–देवीस्थान कुलो पनि नहरमै परिणत गरिएको नेकपा (माओवादी केन्द्र) नेता धिरेनले जानकारी दिए ।

त्यतिबेलादेखि नै गाउँठाउँका विकासे कामलाई माओवादीले प्राथमिकतामा राख्थे । हिजोआज सरकारी बजेट पारेर कुलोको नाममा आयोजना पारेर काम कम र फाइदा बढी खाने लोभीपापी भएकाले गुणस्तरीय काम हुन नसकेको जनगुनासो स्थानीले गरिरहेकै छन् । ‘हामीले ज्यान जोखिममा राखेर ती दुई कुला खन्यौं,’ उत्तर गर्व गर्छन्, ‘त्यतिबेला कसैले प्रश्न गरेनन् ।’ तर, सरकारी बजेट पर्न थालेपछिको काममा प्रश्न किन उठिरहेको होला ? योजना सञ्चालनकर्ता साथीहरू जवाफदेही बन्नुपर्ने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्