मीठामीठा खानेकुरा दिई श्रद्धासाथ मातृदिवस मनाइँदै



काठमाडौं । सालिन्दा वैशाख कृष्ण पक्ष औंसीमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने चाड मंगलबार देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो चाडलाई लिइन्छ ।

छोराछोरीले मंगलबार बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्छन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । सन्तानलाई नौ महिनासम्म गर्भधारण गरी जीवन दिने भएकाले आमाको महत्व अरूभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्रा.डा. गौतमले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औंसीका दिन दिवंगत आमाले आस गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

मातातीर्थ औंसीमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रूपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो

कोरोनाले मातातीर्थ मेला स्थगित

वैशाख कृष्ण औंसी अर्थात् आमाको मुख हेर्ने औंसीका दिन दिवंगत आमाको सम्झनामा राजधानीको पश्चिमी भेग चन्द्रागिरि नगरपालिका–६ थानकोटनजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ । वैशाख २८ गते मंगलबार आमाको मुख हेर्ने औंसी परेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । सालिन्दा आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौं भक्तजनको ओइरो लाग्ने गर्छ । गत वर्ष पनि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो ।

आमा नहुने नरनारी औंसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख गिरीले जानकारी दिए ।

मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जनाएको छ । घर–घरमै बसेर जीवित आमालाई खुसी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ । मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ । यो मूर्तिले पनि मातातीर्थको महत्व बढाएको छ ।

मातातीर्थको उत्पत्तिसम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्काे टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीं रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औंसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औंसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चीज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे ।

यसरी सालिन्दा वैशाख कृष्ण औंसीकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले । मातातीर्थ मेला लाग्न थाल्यो । यसैले वैशाख कृष्ण औंसीलाई मातातीर्थ औंसीसमेत भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ–
‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ अर्थात् आमा, बाबु र गुरुलाई देवताजस्तै सम्मान गर ।

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रूपमा माया गर्छिन् । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरुआमासमेत हुन्छिन् । बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन् । बन्दाबन्दीका कारण छोराछोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुसी राख्न सकिने शास्त्रीय मान्यतासमेत रहेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नु पनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

 

प्रतिक्रिया दिनुहोस्