काँग्रेस दुर्छिमबाट रूपेन्द्रकुमार राई ‘हेभी वेट’का वडाध्यक्ष उम्मेदवार



साल्तेम्मा (दुर्छिम) । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षमा रूपेन्द्रकुमार राईलाई अघि सारेको छ ।

‘झ्याम्म भोट हालौं रूखमा, रूखैले दिन्छ साथ सुख–दुःखमा’ भन्ने नारासहित वडाध्यक्षमा पार्टीले राईलाई अघि सारेको हो । उनी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ‘हेभी वेट’का वडाध्यक्षका उम्मेदवार हुन् ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका रूपेन्द्रकुमार राई तरुण दल खोटाङ कोषाध्यक्षसमेत हुन् । काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य राईले समाजसेवीको लोभलाग्दो परिचय बनाउँदै गएका छन् । ‘राजनीति भनेको समाजसेवा हो,’ चुनावी अभियान रहेका उनले टेलिफोनमा भने, ‘समाजसेवामा लागेपछि सेवा गर्न कन्जुस गर्नुहुँदैन । समाजसेवा गर्ने अवसर दिन वडावासीलाई विनम्र अनुरोध गर्दछु ।’

यसैगरी, महिला खुला सदस्यमा हीराकुमारी राउतले उम्मेदवारी दिएकी छन् । दलित महिला सदस्यमा बिमला परियालाई अघि सारिएको छ ।

‘उज्यालो नगर भनेर गरिएको परिकल्पना साकार पार्न उम्मेदवारी दिएका छौं,’ दुर्छिम काँग्रेसका सम्पूर्ण उम्मेदवारले संयुक्त रूपमा आह्वान गरे, ‘रूख चिह्नमा अमूल्य मतदान गरी स्वच्छ, स्वस्थ र समृद्ध नगर बनाउन एकपटक मौका दिनुहोला । जयनेपाल ।’

प्रतिक्रिया दिनुहोस्