२६ महिनादेखि बेपत्ता विसन खोजिदिन परिवारको अनुरोध



खाल्ले (खोटाङ) । छब्बीस महिनादेखि हराइरहेका हर्क भनिने विसन कटवालको खोजीकार्यका लागि परिवारले अनुरोध गरेका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेनिवासी ३० वर्षीय कटवाल संवत् २०७६ फागुन ३ गतेदेखि उर्लाबारी मोरङबाट हराएका हुन् ।

उर्लाबारीबाट काठमाडौं हिँडेका उनी अहिलेसम्म सम्पर्कमा नआएछि खोजीकार्यका लागि परिवारले अनुरोध गरेका हुन् । भाइ सम्पर्कमा नआएपछि उनका जेठा दाजु बलराम कटवालले ०७६ फागुन ७ गते खोजतलासका लागि उर्लाबारी प्रहरी चौकीमा निवेदन दिएका थिए ।

प्रहरी चौकीमा निवेदन दिएको २६ महिना बितिसक्दा पनि विसन सम्पर्कबाहिर छन् । बेपत्ता विसनबारे बुझ्न उर्लाबारी प्रहरी चौकीका प्रहरी निरीक्षक राजाराम खड्कासँग सम्पर्क गरेका थियौं । प्रनि खड्काले भने, ‘बलराम कटवालले मौखिक रूपमा भाइको खोजीकार्यका लागि अनुरोध गरेपछि हामीले प्रयास जारी राखेका छौं ।’

विसन कटवाल फेलापरेमा नजिकैको प्रहरी चौकीमा बुझाइदिन वा मोबाइल नम्बर ९८२८७८४३१७/९८६५६९६६२१ मा सम्पर्क गरिदिन खेमराज कटवालले बिन्ति बिसाएका छन् । बेपत्ता भएपछि विसनकी श्रीमती र दुई छोरी बिचल्लीमा परेका छन् । भाउजू र दुई छोरीलाई विसनका भाइ खेमराजले आश्रय दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्