काँग्रेस महादेवस्थान वडाध्यक्षको उम्मेदवार कमल गिरीले यसरी जित्दै छन् चुनाव


हलेसी (खोटाङ) । आसन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले कमल गिरीलाई दोस्रोपटक हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको वडाध्यक्षमा अघि सारेको छ । गएको स्थानीय तह निर्वाचनमा २२ मतले पराजित गिरी यसपटक भने बाजी मार्ने ध्याउन्नमा छन् ।

निर्वाचन जित्छु भन्ने आधार के हो ? तुवाचुङ डटकमको प्रश्नको उत्तर दिँदै चुनावी अभियानमा रहेका नेता गिरीले डाँडागुठबाट उत्तर दिए, ‘गएको निर्वाचन पराजित भएपछि पाँच वर्ष वडावासीका लागि मैले जे–जस्तो काम गरें, त्यही हो मैले चुनाव जित्ने आधार ।’

महादेवस्थानका पूर्ववडाध्यक्षभन्दा बढी काम पराजित वडाध्यक्ष कमल गिरीले गरे भन्ने हलेसीमा सुनिन्छ । त्यसो हो भने पाँच वर्षमा उनले के–के काम गरे होलान् ?

‘चुनाव हारे पनि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई र नगरका कर्मचारीसँग समन्वय र सहकार्य गरेर वडावासीका थुप्रै काम गरेको थिएँ,’ उनले जानकारी गराए, ‘अप्ठ्यारोमा परेका वडावासीलाई बोकेरै नगर पु¥याएँ । काम गरिदिएँ । स–साना काम गर्दा पनि त ठूलै गुन लाग्दोरहेछ । उनीहरूको काम छिटोछरितो गरिदिन प्रयत्न गरें । कोरोना कहरमा आफ्नो ज्यान जोखिममा राखेरै वडावासीको जीवनरक्षाका लागि खटेको थिएँ ।’

वडाध्यक्षमा झिनो मतले पराजित भएपछि महादेवस्थानको गाउँ–गाउँ, टोल–टोल पुगेको उनको भनाइ छ । ‘वडावासीको घर कहाँ र कस्तो छ । घरको झ्याल, ढोका कता पर्केको छ भन्नेसम्म थाहा छ,’ उनले थपे, ‘कुन गाउँमा के आवश्यक छ ? पहिचान गरेर बजेट पार्न पहल गरें । हलेसी तुवाचुङ नगरपालिकाको अथाह स्रोत, साधनमध्ये चित्तबुझ्दो रूपमा महादेवस्थानमा सदुपयोग गर्न अधिकतम प्रयास गरें ।’

आफू र आफ्नो परिवारको अवस्थामात्रै उकास्न उनले लोभ गरेनन् । ‘त्यही भएर समाजसेवा गर्ने ‘प्लेटफर्म’ खोजें,’ उनले खुसी व्यक्त गरे, ‘रुचिअनुसारको सेवा गर्न राजनीति रोजें । जानी–नजानी राजनीतिमा लागेको छु । राजनीतिमा लागेकाले वडावासीका सुख–दुःखमा एकाकार हुने अवसर प्राप्त भयो ।’

युवा नेता कमल गिरीको राजनीतिक यात्रा

युवा नेता कमल गिरी राजनीतिमा लागेको १५ वर्ष भयो । नेता गिरीले महेन्द्रोदय माध्यमिक विद्यालय नेपाल विद्यार्थी संघ इकाइ अध्यक्षबाट राजनीतिक यात्रा थाले । यो संवत् २०६४ सालको कुरा हो । उनले ०६५ मा नेविसंघ खोटाङ क्षेत्र नम्बर १ क्षेत्रीय सभापतिको भूमिका पाए । लगत्तै तात्कालिक महादेवस्थान गाउँ विकास समिति सचिव भए । यो संवत् ०६६ को कुरा हो ।

त्यसपछि ?

पार्टीले भूमिका थप्दै गयो । ०६७ मा नेविसंघ महाधिवेशन प्रतिनिधि बने । उनी नेपाली काँग्रेस हलेसी तुवाचुङ नगर कार्यसमिति सचिवसमेत हुन् । उनले महादेवस्थान गाविस सचिव भएर ०७४ सम्म काम गरे । ०७४ मै स्थानीय तह निर्वाचनमा होमिए । निर्वाचनमा पराजित भए । ‘तर, निराश भइनँ,’ उनले उत्साहित हुँदै सुनाए, ‘चुनाव भनेको काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला होइन नि । पाँच–पाँच वर्षमा आइरहन्छ । मैले पुनः पाँच वर्ष मिहिनेत गर्नुपर्ने जनमत पाएँ । पाएको जनमत सहर्ष स्वीकारें ।’

पाँच वर्षमा गरेको मिहिनेत यसपटक फुल्छ, फल्छ भन्नेमा उनी ढुक्क छन् । महादेवस्थानको वडाध्यक्षमा दोस्रोपटक उम्मेदवारी दिएका कमल गिरीको समूहबाट खुला वडासदस्यमा श्यामकुमार राई र एगिन्द्र राई रहेका छन् । महिला सदस्यमा डल्लीमाया राई र दलित महिला सदस्यमा जमुना परियारले उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्