भर्तीवाल बनाउन गाउँले रोजाइ



भूतपूर्व ब्रिटिस आर्मी क्याप्टेन टंकबहादुर लिम्बू (२११६०११८) संवत् २००७ मा धनकुटाको डाँडाबजारमा जन्मे । लिम्बू सन् १९७१ मा भर्ती भए । सन् १९९८ मा ‘रिटायर’ भए । टेन जीआरमा कार्यरत उनको वेलफेयर अफिसरको ड्युटी भए पनि नोकरीक्रममा कहिले रिक्रुट ‘सेलेक्सन’मा नेपाल आए त कहिलेको युद्धमा परे । २७ वर्षे नोकरीबाट अवकाशपछि ११ वर्ष वेलफेयरमा काम गरे । नोकरीक्रममा क्यानडा, जर्मनी, अस्ट्रेलिया, केन्यालगायत १५/१६ देश पुगे ।

युद्ध चर्केको थियो

त्यतिबेला इन्डियाको कलकत्तासम्म रेल र त्यसपछि प्लेनमा जानुपथ्र्याे । हामी कलकत्ताबाट हङकङ उड्न लाग्दा इन्डिया आर्मीले एयरपोर्ट सुरक्षा गरेका थिए । जतिबेला म भर्ती भएँ । त्यतिबेलासम्म पूर्व पाकिस्तान र पश्चिम पाकिस्तान छुट्टाछुट्टै देश थिए । ती दुई देशबीच युद्ध भइराखेको थियो ।

सन् १९७४ मा साइप्रस टापुमा अर्काे युद्ध चर्कियो । त्यहाँ ग्रीस र टर्कीका मानिस बस्थे । उनीहरू जातीय र धार्मिक रूपमा मिल्दैनथे । ती दुई देशबीच युद्ध चलेको थियो । टेन जीआरको सिंगै बटालियन उतारिएको थियो । तर, युद्ध गर्न नभएर ब्रिटिसअन्तर्गतकै राज्य भएकाले सुरक्षार्थ पठाइएको थियो । छ महिनासम्म चलेको उक्त युद्धमा छ महिनासम्मै युनिफर्म लगाएर बस्नुपरेको थियो । ‘सिभिल’ लुगा लगाउन पाइएन । राति सुत्दा पनि हतियार र गोलीगठ्ठा सिरानीमै राखेर सुत्नुपथ्र्याे । एकदम गर्मी ठाउँ । गर्मी ठाउँमा छ महिनासम्म गोर्खा ह्याट (टोपी) लगाउँदाको समय कष्टकर थियो । युद्धमा हाम्रोतर्फ खासै क्षति भएन । केही साथी घाइते भए । युद्ध कस्तो हुन्छ ? त्यहाँ प्रत्यक्ष देखियो र भोगियो ।

हाम्रोे क्याम्पनजिकै टर्कीले फाइटर प्लेनबाट पेट्रोल बम प्रहार गर्यो । १२ बजेसम्म ट्रृेन्च खनेर ट्रेन्चमुनि सुतिसक्नुपथ्र्याे । तर, जमिन यति कडा थियो कि दुई फिट पनि खन्न नसकिने । ३०/३५ तले घरको छानामा बम प्रहार भयो । हेर्दाहेर्दै घर ध्वस्त भयो ।

गोर्खालीले जिउँदै मान्छे खान्छन्

सन् १८८२ मा फोक्ल्यान्डमा युद्ध भयो । युद्धमा सेभेन जीआरको बटालियन सहभागी थियो । महिनौं लगाएर पानीजहाजमा पुगी युद्ध लड्नुपरेको थियो । अर्जेन्टिनाविरुद्धको युद्धमा विजय प्राप्त गर्न गोर्खालीले महत्वपूर्ण भूमिका खेलेका थिए । खासमा उक्त युद्ध प्रपोगान्डाबाटै ब्रिटिसले जितेको हो । गोर्खाली सिपाही फोक्ल्यान्डको टापुमा उत्रिसक्यो, उनीहरूले मान्छे जिउँदै खान्छन् भनेर प्रपोगान्डा चलाइएको रहेछ । यस्तो प्रपोगान्डाबाट अर्जेन्टिनी सिपाही डराएर युद्धस्थलमै हतियार र गोलीगठ्ठा छाडेर भागे । ब्रिटिसले यसरी युद्ध जितेको थियो ।

भर्ती गराउन गाउँले खोजिन्थ्यो

सन् १९८८ मा रिक्रुट ‘सेलेक्सन’का लागि नेपाल आएँ । गाउँगाउँबाट रिक्रुट छानेर पोखरा ल्याउथ्यौं । धनकुटा, सुनसरी, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा काम गरें । त्यतिबेला भर्तीका लागि सहरभन्दा गाउँकालाई प्राथमिकता दिइन्थ्यो । किनकि सहरभन्दा गाउँकाले कडा काम गर्न सक्छन् । उनीहरू मिहिनेती हुन्थे । गाउँ–गाउँबाट रिक्रुट ‘सेलेक्सन’ गरेर ल्याइने भएकाले ‘सेलेक्सन’को नामै ‘हिल सेलेक्सन’ भनिन्थ्यो ।

११ वर्ष वेलफेयरमा

सन् १९९८ मा ‘रिटायर’ भएँ । २००० बाट गोर्खा वेलफेयर स्किममा रामेछापको प्रितीमा काम गरें । त्यसपछि एआरओ भएर चार वर्ष काम गरी गोर्खा वेलफेयर स्किमअन्तर्गत रहेर पोखरामा अप्रेसन अफिसरका रूपमा काम गरें । सन् २०११ यता पूर्ण रूपमा अवकाशप्राप्त जीवन बिताइरहेको छु ।

प्रतिक्रिया दिनुहोस्