३०० वर्षअघि खतरनाक मानिएको दादुराको औषधि पत्ता लगाउने वैज्ञानिक


शितला (दादुरा) करिब तीन सय वर्षअघि सबैभन्दा खतरनाक रोग मानिन्थ्यो । शितलाकै कारण मानिस मर्थे, जो बाँच्थे, ती कुरूप हुन्थे । उनीहरूको मुहारमा दाग बस्थ्यो । धेरैजसो रोगीको आँखा खराब हुन्थो । कतिपय बेला त दादुराले हजारौँ मानिसको ज्यान लिने गथ्र्यो ।
शितलाको बिरामीको विषयमा मानिसहरू कैयौँ शताब्दीदेखि जानकार थिए । जुन व्यक्तिलाई एकपटक शितला आउँथ्यो, अर्कोपटक आउँदैनथ्यो । कहाँसम्म भने ती मानिस महामारीको बेला पनि सुरक्षित रहने गर्थे । एउटा अर्को बिरामी पनि हुन्थ्यो, जसलाई गौशितला पनि भनिन्थ्यो । पश्चिमी इंग्ल्यान्डमा के भन्न थालियो भने गाईको दूध दुहुने महिलालाई गौशितला भयो भने उनीहरूलाई शितला आउँदैनथ्यो ।

शितलाजस्तो खतरनाक रोगबाट मुक्ति दिने महान् व्यक्ति एड्वार्ड जेनर थिए । उनी एक चिरपरिचित सर्जन थिए । उनले शितलाको खोप आविष्कार गरेका थिए । एड्वार्ड जेनरको जन्म सन् १७४९ मा इंग्ल्यान्डमा भएको थियो ।

बाल्यकालमा जेनरको इच्छा प्राकृतिक इतिहास अध्ययन गर्ने थियो तर उनले ठूलो परिश्रमसाथ डाक्टरी शिक्षा हासिल गरे । जेनरको समयमा आर्युविज्ञानमा शिक्षा लिन चाहने व्यक्तिले पहिले कुनै अनुभवी डाक्टरको निगरानीमा शिक्षा लिनुपथ्र्याे । तालिम समाप्तिपछि विद्यार्थीलाई दुई वर्षसम्म मेडिकल कलेज तथा विश्वविद्यालयमा शिक्षा लिनुपथ्र्यो । जेनरले १३ वर्षको उमेरमा डाक्टर ब्रिस्टलसँग साडबरी नाम गरेको गाउँमा तालिम लिन सुरु गरे । यसपछि उनले लन्डनका सर्जन जान हन्टनको निगरानीमा २१ वर्षको उमेरसम्म अध्ययन गरेका थिए ।

आफ्नो प्रशिक्षणको बेला सन् १७६६ मा एक दिन एउटा गाई पाल्ने महिला सर्जनको घरमा केही सल्लाह माग्न आइन् । त्यहीबेला शितलाको विषयमा कुरा भयो । त्यस महिलाले भनिन्, ‘मलाई शितलाको बिरामी हुन सक्दैन किनभने मलाई गौशितला भइसकेको छ ।’ गौशितलाको प्रभाव गाईका स्तनमा पर्ने गर्छ, जसले पनि रोगपीडित गाईको दूध दुहुने गर्छ, ऊ बिरामी हुन्छ । यस रोगमा स–साना घाउ तथा पिलो आउने गर्छ तर रोगीलाई कुनै कस्ट हुँदैन ।

सेन्ट गार्ज हस्पिटल, लन्डनमा आफ्नो प्रशिक्षण पूरा गरेर एड्वार्ड जेनर सन् १७७३ मा वर्कले फर्केर आए । उनी आफ्नो प्रयास पूरा गर्ने प्रयत्नमा लागे । कैयौँ वर्षपछि उनलाई ती महिलाको सम्झना आयो । उनले यस कथनको विषयमा गाउँमा अन्य मानिससँग पनि सोधपुछ गरे । उनलाई के विश्वास भयो भने एकपटक गौशितला भएपछि शितला हुने गर्दैन ।

सन् १७७६ मा जेनरले यस कथनको परीक्षण गरे । उनले एक गाई पाल्ने महिलाको औँलाको घाउबाट, जो गौशितलापीडित थिइन्, केही पदार्थ लिए, उनले त्यस पदार्थबाट बनेको सुई आठ वर्षको बालक जेम्स फिप्सलाई लगाए । त्यस बालकलाई गौशितलाको सामान्य प्रभाव पर्यो । त्यसको सात हप्तापछि शितला दादुरापीडित व्यक्तिको घाउबाट केही पदार्थ लिए, फेरि त्यही बालकलाई सुई लगाए । बालकलाई दादुरा आउने लक्षण देखिएन । यसबाट जेनरलाई विश्वास भयो– त्यो बालक गौशिलताका कारण शितलाबाट प्रतिरक्षित भयो । यसरी गाई पाल्ने महिलाको कथनको पुष्टि भयो ।

सुरुमा जेनरको यस प्रयोगमा कसैलाई विश्वास भएन । मानिसले त्यस विषयमा अनेकौँ कुरा गरे । केही मानिसले गौशितला र शितला फरक–फरक बिरामी हुन्, गौशितलाको खोपले दादुराबाट बँच्न सकिँदैन भने । कैयौँ मानिसले जेनरको विरोधमा अनेकौँ प्रचार गरे । उनीहरूले भने, ‘जनावरबाट प्राप्त पदार्थलाई मनुष्यको रगतमा प्रवेश गराउनु घृणित कार्य हो, जुन प्रकृतिको नियमविरुद्धमा छ ।’

जेनरले यी आरोपको खण्डन गरे । उनले भने, ‘मानिसले हजारौँ वर्षदेखि जनावरको मासु पनि खाइरहेको छ, गाई, भैंसीको दूध पिइरहेको छ, त्यसबाट घृणाको अनुभूति त कहिल्यै भएन । एउटा भयंकर रोग उपचारका निम्ति गौशितलाको पदार्थलाई घृणा गर्नु उचित छैन ।’ जेनरले यस किसिमका अफवाहको कुनै चिन्ता गरेनन् । उनी गौशितला रोगको पदार्थ यकिन गर्न प्रयासरत रहे । उनलाई अन्य कार्यका निम्ति समय थिएन । बिस्तारै उनको ख्याति चारैतिर फैलियो । मानिसहरू शितला प्रकोपबाट बँच्न खोप लगाउन थाले ।

यसरी पहिलोपटक शितला खोपको आविष्कार भयो । शितलाको रोकथामका निम्ति संसारभरि खोप लगाउन थालियो । जेनर विश्वविख्यात आविष्कारक बने । उनलाई धेरैजसो देशमा सम्मान गरियो । यतिसम्म कि हल्यान्ड र स्वीट्जरल्यान्डका पादरीहरूले आफ्ना धार्मिक उपदेशमा मानिसलाई खोप लगाउनका निम्ति अनुरोध गरे ।

रूसमा सबैभन्दा पहिले जुन बालकले खोप लगायो, उसलाई निःशुल्क शिक्षा दिने प्रस्ताव राखियो । त्यस खोपको नाम ‘वैक्सीनोफ’ थियो । सन् १८०२ र सन् १८०६ मा ब्रिटिस संसद्ले जेनरलाई ठूलो धनराशि दिएर सम्मान गर्यो । जेनरले जनावरसम्बन्धी अन्य क्षेत्रमा पनि अनुसन्धान गरेका थिए । उनका पछिल्ला अध्ययन तथा अनुसन्धान पशुपक्षीसँग सम्बन्धित थिए । जेनर एक महान् अनुसन्धानकर्ता तथा वैज्ञानिक थिए, जसले आफ्नो सम्पूर्ण जीवन शितला रोग उपचारमा लगाए ।

उनको महान् खोजीको परिणाम आज विश्वका धेरैजसो देशले दादुराजस्तो भयानक रोगबाट मुक्ति पाए । वास्तविकता त के हो भने विश्वमा शितला उन्मूलन भयो । जनताका महान् सेवक एड्वार्ड जेनरको सन् १८२३ मा निधन भयो ।

प्रतिक्रिया दिनुहोस्