कुलुङ सभ्यताको नाम होइन, सोत्तो, पिल्मो र नाछिरिङ



‘नीङ् छेइलःम्’ राष्ट्रिय मासिक (वर्ष १, अंक १, २०६८ साउन) पत्रिकामा ‘यसरी भयो कुलुङ जातिको निर्माण’ शीर्षकमा राजधन कुलुङको लेख प्रकाशित छ । उक्त लेखका केही अनुच्छेदमाथि निम्नअनुसार विमति र विमर्श गरिएको छ–

(१) पृष्ठ ३, प्रथम स्तम्भ, तेस्रो अनुच्छेदमा यस्तो उल्लेख छ–

“मिनापोङ्खो हाल्कुम्बुमा विकसित भएको आदिम किरात सभ्यता विकास र विस्तार हुनेक्रममा चार पुर्खा महाकुलुङ (होङ्गु उपत्यका) सिकार खेल्दै आइपुगे । सिकार खेल्दै आएका उनीहरू कालान्तरमा यहीँ बस्न पुगे । तिनै चार पुर्खा र उनीहरूका दरसन्तानले होङ्गु उपत्यकामा साझा सभ्यता र संस्कृति निर्माण गरे । जसले कुलुङ सभ्यता, कुलुङ भाषा र कुलुङ संस्कृति भनेर पहिचान पायो । उनै चार पुर्खाहरू छेम्सी, ताम्सी, खप्दुलु र राताप्खुका सन्तानलाई साझा भाषा, संस्कृति र इतिहासले कुलुङ जाति बनायो ।’’

पाठप्रति विमति यसप्रकार छ–

प्रस्तुत लेखमा ऐतिहासिक ज्ञान अभाव भएर वा स्पष्ट दृष्टिकोण राख्न इच्छा नलागेर हो, आदिम पुर्खा खपको नाम उल्लेख गरिएको देखिँदैन । खपका दुई छोराहरू छेम्सी र ताम्सी थिए भन्ने प्रस्ट पारिएको छैन । छेम्सी र ताम्सीका सन्तान कुलुङमा जन्मिए र त्यहीँ फैलिए । आफ्नो उद्गम भूमि भएकाले यी दुई वंशले कुलुङलाई सभ्यता मान्दा अरूले आपत्ति जनाउनु आवश्यक देखिँदैन । तर, पिल्मो र सोत्तोको अर्थात् पिल्मोङ र सोताङको उद्गम भूमि कुलुङ होइन । यसकारण कुलुङसँग सोत्तो र पिल्मोको कुनै साइनो जोडिएको पाइँदैन । खप्दुलु र राताप्खुमात्र होइन, प्राचीन युगमा सम्पूर्ण मानव पुर्खाको जीवन निर्वाह गर्ने आधार सिकार थियो भन्ने सर्वविदितै छ । लेखमा कुलुङ शब्द सबैको साझा हो भनेर राताप्खु र खप्दुलुका सन्तानलाई कुलुङ बनाउने प्रयास गरिएको छ । यो उनीहरूको अस्तित्व मेट्ने नीति हो ।

लेखमा छेम्सी, ताम्सी, राताप्खु र खप्दुलुबीच वंशगत सम्बन्ध जोडिने तथ्य प्रस्तुत गरिएको छैन । ती पुर्खाहरू कहाँबाट सिकार खेल्न आएका थिए ? खप, राताप्खु र खप्दुलु तीनजना पुर्खाका सन्तानले कस्तो परिस्थितिमा कुलुङ शब्दलाई साझा बनाउनुपरेको थियो ? कुनै घटना–परिघटना प्रस्तुत नगरी एक्कासि कुलुङलाई साझा बनाउनुपर्ने कुरा अघि सारिएको छ । त्यसैले लेखकको प्रस्तुति काल्पनिक हो भन्ने देखिन आएको छ । लेखकले पिल्मो र सोत्तोमाथि जातीय दमन गरी कुलुङलाई विस्तार गर्ने लक्ष्य राखेको छर्लंग देखिन्छ ।

(२) पृष्ठ ३, दोस्रो स्तम्भ, दोस्रो अनुच्छेदमा यस्तो उल्लेख छ–

“नेपालमा नेवार समुदायलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । दर्जनौं नश्लका मानिस नेपाल उपत्यका प्रवेशपछि नेवारी संस्कृतिलाई स्वीकार गरे, नेवारी भाषा बोले । अहिले एउटै नेवार जातिका रूपमा साझा भाषा र संस्कृतिले उनीहरूलाई एउटा मालामा उन्यो । नेवारी भाषा बोलेको र नेवारी संस्कृति अँगालेकै आधारमा उनीहरू नेवार जाति भए र त्यसमा गौरव गर्छन् ।’’

पाठप्रति विमति यसप्रकार छ–

लेखकले प्रस्तुत गरेको नेवार जातिसम्बन्धी विवरण कति तथ्यमा आधारित छ ? प्रस्तुत विवरणले नेवार समाज एकात्मकतावादी देखिन्छ । नेवार समाजले अन्य जातिको अस्तित्व स्वीकार नगर्ने देखिएको छ । नेवारी संस्कारमा सबै जातिलाई गाभ्नु जातीय दमनको नमुना हो । जसरी नेवारी संस्कारमा अन्य जातिको अस्तित्व विलुप्त गरायो, त्यसैगरी सोत्तो र पिल्मोको विरासत कुलुङमा विलय गरिनुपर्छ भन्ने लेखकले आफ्नो मनोकांक्षा प्रस्तुत गर्नुभएको छ । लेखकले नेवार जातिको काल्पनिक उदाहरण पेस गर्दै व्यंग्यात्मक लेख लेखेका छन् । एक्काइसौं शताब्दीमा कुनै जाति दमनको सिकार बन्न चाहन्छ कि चाहँदैन, त्यो कुरा भविष्यले बताउनेछ ।

(३) पृष्ठ ४, दोस्रो स्तम्भ, प्रथम अनुच्छेदमा यस्तो उल्लेख छ–

“पहिलेदेखि बस्दै आएका रुपियोङ्छा वंशका मान्छेलाई मन परेन र उनीहरूले छेम्सीलाई लखेट्ने प्रयास गर्न थाले । रुपियोङ्छाहरूको अत्याचार सहन नसकेपछि दाइ ताम्सीलाई लिन छेम्सी रावा गए । ताम्सीलाई लिएर आएपछि छेम्सी र ताम्सी दुई दाजुभाइले युद्धमा रुपियोङ्छाहरूलाई पराजित गरेर महाकुलुङ उपत्यकामा अधिपत्य जमाएका थिए ।’’

पाठप्रति विमति यसप्रकार छ–

उपरोक्त हरफबाट यस्तो प्रतीत हुन्छ कि वर्तमान अवस्थामा कुलुङ समुदायको बसोवास रहेको क्षेत्रका पूर्वबासिन्दा रुपियोङ्छाहरू थिए । रुपियोङ्छाले आफ्नो भाषा, संस्कृति र इतिहासको जग बसाई रैथाने जीवन निर्वाह गरिरहेका थिए । रुपियोङ्छाको सामाजिक प्रगति देखेर छेम्सीलाई ईष्र्या लाग्यो । छेम्सी एक्लैले रुपियोङ्छालाई विस्थापित गर्न नसकेपछि दाजु ताम्सी लिन छेम्सी रावा पुगेका थिए । ताम्सी आएपछि शक्ति पर्याप्त भयो । छेम्सी र ताम्सी दुई दाजुभाइसँग युद्ध लड्दा रुपियोङ्छाले पराजयमात्र भोग्नुपरेको थिएन, उनको वंश पनि निमिट्यान्न पारिएको थियो । यो कथाले छेम्सी र ताम्सी बाहिरबाट आएर युद्ध लडेको देखिन्छ । युद्धमा विजयपश्चात् रुपियोङ्छाको भूमिमा छेम्सी र ताम्सीले आधिपत्य जमाएका थिए तर रुपियोङ्छा कुन वंशका थिए र छेम्सीले किन मन पराएनन् भन्ने खुलाइएको छैन ।

(४) पृष्ठ ४, दोस्रो स्तम्भ, दोस्रो अनुच्छेदमा यस्तो उल्लेख छ–

“छेम्सी, ताम्सी, पिल्मो, सोत्तो र नाम्लु कुलुङ जातिका उपजाति हुन् ।’’

पाठप्रति विमति यसप्रकार छ–

लेखकले कुलुङलाई मूल जातिको दर्जामा राखेका छन् भने छेम्सी, ताम्सी, पिल्मो, सोत्तो र नाम्लुलाई उपजातिको दर्जामा प्रस्तुत गरेका छन् । उनीहरू उपजातिको दर्जामा रहनुपर्ने आधारचाहिँ केही खुलाएका छैनन् । के आधारमा लेखकले मूल जाति र उपजाति वर्गीकरण गरेका हुन् ? वर्गीकरण गर्ने आधार कतै उल्लेख गरिएको छैन । खपका छोराहरू ताम्सी र छेम्सीको वंश विस्तारक्रममा उनीहरूको सन्तान ठाउँको नामबाट कुलुङ भए । ताम्सी र छेम्सी वंशमा एकल सहोदर भावना छ र त्यो एकदम स्वाभाविक हो । पिल्मो, सोत्तो र नाम्लुलाई कुलुङको उपजाति बनाउनु निमुखालाई अनाहकमा कोर्रा लगाउनुजस्तै हो । सोत्तो, पिल्मो र नाम्लु जैविक, ऐतिहासिक र वैज्ञानिक दृष्टिकोणबाट कुलुङ वंशमा पर्दैनन् । खपका सन्तानले पिल्मो र सोत्तोलाई आफ्नो वंश ठान्ने गरेको पाइँदैन । वंश फरक भएको जाति कसरी उपजाति हुन सक्छ ? खपका सन्तान भएका कारण छेम्सी र ताम्सी खपका उपजाति हुन् । तर पिल्मो, नाम्लु र सोत्तोलाई कुलुङका उपजाति हुन् भन्ने आधार केही देखिँदैन । यी जातिको उद्गम भूमि जोडिएको छ । तापनि उनीहरूको इतिहासले सम्बन्ध जोडेको देखाउँदैन । किरात वंशीय जातिको साइनोले मात्र सोत्तो, नाम्लु र पिल्मोसँग कुलुङको सम्बन्ध जोडिन्छ । पृष्ठभूमिको विवरण केही उल्लेख नगरी अन्धाधुन्ध उपजातिको बिल्ला भिराउनु कति न्यायोचित हुन्छ ? मानवीय हैसियतले आत्मीय सम्बन्ध जोडिनु वंशगत सम्बन्ध होइन, भावनात्मक एकता हो ।

(५) पृष्ठ ४, दोस्रो स्तम्भ, तेस्रो अनुच्छेदमा यस्तो उल्लेख छ–

“छेम्सी, ताम्सी, पिल्मो, सोत्तो एउटै कुलुङ जाति हुनुको आधार छुट्टै साझा भाषा, छुट्टै साझा संस्कृति, साझा लिखित वा अलिखित इतिहास, छुट्टै साझा आदिभूमि र हामी भन्ने भावना आवश्यक छ ।’’

पाठप्रति विमति यसप्रकार छ–

यहाँ स्मरणीय विषय के छ भने पिल्मो, सोत्तो र कुलुङ ठाउँको नाम हो । खपका दुई भाइ छोरा छेम्सी र ताम्सी कुलुङ भूमिमा बसोवास गरेकाले उनीहरूका सन्तान कुलुङ भए । खप्दुलुले पिल्मोमा बसोवास जमाएकाले उनका सन्तान पिल्मो अर्थात् पिल्मोङ भए । राताप्खुले सोत्तोमा बसोवास गरेकाले उनका सन्तानहरू सोत्तो अर्थात् सोताङ भए । तीन पुर्खाका सन्तानले बोल्ने भाषामा केही भिन्नता रहेको पाइन्छ । यस भाषालाई सोत्तोले सोत्तोरिङ्, कुलुङले कुलुरिङ् र पिल्मोले इरिङ् भन्ने गर्छन् । उनीहरूको संस्कृतिमा थोरै भिन्नता पाइन्छ । पिल्मोङ, कुलुङ र सोताङका आ–आफ्नै किपट छ ।

(६) पृष्ठ ६, दोस्रो स्तम्भ, दोस्रो अनुच्छेदमा यस्तो उल्लेख छ–

“पिल्मोहरू किन कुलुङ नै हुन् ?’’

“राताप्खु र खप्दुलु महाकुलुङ प्रवेश गर्दा नाछिरिङ भन्ने कुनै जातिको विकास भएको थिएन । नाछिरिङ जाति हो भने त्यसअघि कतै अलग सभ्यताका रूपमा विकसित भएर आएको देखिनुपर्ने हो । खासगरेर राताप्खु र खप्दुलु घुमन्ते सिकारीका रूपमा जंगली युगमा सभ्यताको विकास हुनुअघि होङ्गु उपत्यका आएका हुन् । उनीहरूले छेम्सीले विकास गरेको भाषा, सभ्यता र संस्कार सिकेर स्थायी बसोवास गरेको देखिन्छ ।’’

पाठप्रति विमति यसप्रकार छ–

प्रस्तुत अभिव्यक्तिले नाछिरिङको अस्तित्व अस्वीकार गर्दै अपमान र घृणाको वर्षा गरिएको छ । राताप्खु र खप्दुलुले महाकुलुङ प्रवेशपश्चात् छेम्सीले सृष्टि गरेको भाषा र संस्कृति अनुशरण गरेर जीवन निर्वाह गरेको बताइएको छ । यसबाट राताप्खु, खप्दुलु र छेम्सी एकै पुर्खाको सन्तान नभएको छर्लंग देखिएको छ । छेम्सीले भाषा सृष्टि गरेको हो भने भाषाको नाम किन छेम्सी रहेको छैन ? छेम्सीले सृष्टि गरेको भाषाको नाम कसरी कुलुङ रहन गयो ? लेखकको भनाइमा विरोधाभास छ । कसरी छेम्सीको सभ्यताको नाम कुलुङ रहन गयो ? यस विषयमा लेखकले मुख खोल्न सकेका छैनन् ? तर, राताप्खु र खप्दुलु वंशलाई जबरजस्त कुलुङभित्र गाभ्न भरमग्दुर प्रयत्न गरेका छन् । पिल्मो र सोत्तोले किन कुलुङ हुनुपर्ने हो ? त्यसको विषयमा कुनै कारण खुलाइएको छैन ।

जमिन साटासाट गरेपछि खप सोताङबाट कुलुङ गए, राताप्खु कुलुङबाट सोताङ गए । खपका छोरा ताम्सी र छेम्सीले कुलुङमा बसोवास गरेपछि उनीहरूका सन्तान कुलुङ भए । राताप्खुका सन्तान सोताङमा बसोवास गरेपछि सोताङ कहलिएका हुन् । खप्दुलुका सन्तान पिल्मो भूमिमा बसोवास गरेकाले पिल्मो (पिल्मोङ) भएका हुन् । तर, लेखकले खप्दुलु र राताप्खुका सन्तानलाई किन कुलुङ बनाउन खोजेका हुन् ? यससम्बन्धमा कुनै ऐतिहासिक आधार दिन सकेका छैनन् ।

भाषा र संस्कृति न सोताङमा सृष्टि गरिएको थियो न कुलुङमा सृष्टि गरिएको थियो, सृष्टि गरिएको भूमि खुवोलुङ् हो । छेम्सीले भाषा सृष्टि गरेको थियो भनेर कृत्रिम रूपमा आफ्नो पुर्खालाई महान् बनाउन खोजिएको छ । पिल्मो र सोत्तोका पुर्खाले छेम्सीको भाषा सिकेर किन जीवन निर्वाह गर्नुपरेको थियो ? त्यो कुरा लेखकले कतै दर्शाएका छैनन् । छेम्सीलाई भेट्न नपाएको भए राताप्खु र खप्दुलुले भाषाविहीन पशुवत् जीवन बिताउनुपथ्र्याे भन्न खोजिएको छ । यो भनेको जातीय अस्तित्व कुल्चने कुचेष्टा हो ।

छेम्सीको जीवनकालमा महाकुलुङ भन्ने शब्द जन्मिएको थिएन । कुलुङ भूमिमा वृहत् जनसंख्या विकास भएपछि मात्र महाकुलुङ भनिएको हो । कुलुङ भनेको राताप्खुको भूमि हो । राताप्खुले जमिन साट्न मञ्जुर नगरेको भए छेम्सीले कुलुङमा आधिपत्य जमाउन पाउने थिएन । राताप्खुले कुलुङमा बसोवास गर्दा सिर्जना गरिराखेको सामाजिक संरचनालाई छेम्सी र ताम्सीले अनुशरण गरेका हुन् ।
जमिन साटासाट गर्नुअघि खपको परिवारले सोताङमा स्थापित गरेको तोस्खम सोताङले पूर्ववत् अवस्थामा संरक्षण गरिराखेका छन् ।

स्मरण रहोस्, राताप्खुले कुलुङ भूमिमा प्रवेश गरेपछि मृतात्मालाई स्थायी बसोवास गर्न पठाइने स्थान पोम्लालुङ सृष्टि गरिराखेको थियो । राताप्खुले स्थापित गरेको पोम्लालुङमा अद्यावधि सोताङ, कुलुङ र पिल्मोङले मृतात्मा पठाउने गर्छन् । कुलुङमा प्रवेश गर्ने पहिलो व्यक्ति राताप्खु थियो भन्ने पोम्लालुङको स्थापनाले पुष्टि गर्छ । लेखकले एक ठाउँमा छेम्सीको सभ्यता बताएको छ भने अर्को ठाउँमा त्यही सभ्यतालाई कुलुङ हो भनेर आफैं धामी र आफै बोक्सीको चरित्र देखाएको छ ।

यथार्थमा लेखकले पिल्मो र सोत्तोको वास्तविक इतिहास कोट्याउन चासो दिएको देखिँदैन । बरु उनीहरूको इतिहास नष्ट गरेर दमनको जाँतोमा पिस्ने अहंकार देखाएका छन् । लेखकले खाँटी कुलुङ नश्लको स्पष्ट परिचय दिएका छन् । पिल्मोङ, कुलुङ र सोताङलाई समानान्तर जातिका रूपमा स्वीकार गर्न चाहेको देखिँदैन । लेखकले सोताङ र पिल्मोङलाई कुलुङकरण गरेर उनीहरूको अस्तित्व मेटाउन प्रयत्न गरेका छन् । पिल्मोङ र सोताङ जातिमाथि थिचोमिचो गर्ने लेखकको अभीष्ट पूरा होला कि नहोला हेर्नुपर्ने भएको छ ।

यी तीन जाति सोताङ, पिल्मोङ र कुलुङ सबैको अस्तित्व समान रूपमा स्वीकार गरेर आपसी सद्भाव कायम राख्दै अघि बढ्नुको सट्टा किन यसप्रकारको अतिक्रमणको प्रयास गरिँदै छ ? पिल्मो र सोत्तोप्रति द्वेष र घृणा प्रचार गर्ने माध्यम ‘नीङ् छेइलःम्’लाई बनाइएको छ

(७) पृष्ठ ७, प्रथम स्तम्भ, प्रथम अनुच्छेदमा यस्तो उल्लेख छ–

पिल्मोभित्रको मोरोमुलको कथा :

“मोरोमुललाई पिल्मो समूहको पाछाका रूपमा कुलुङ वंशावलीमा समावेश छ । मोरोमुलको कथा यस्तो रहेको छ, ‘धेरै वर्षपहिले सोलुखुम्बुको जुभिङ गाउँबाट एकजना खालिङ युवा बरालिँदै पिल्मो गाउँ आइपुगे । उनी पिल्मोमै बस्न थाले । तिमी को हौ ? भनेर सोद्धा कुलुङ भाषामा ‘मोरोङ–मोरोङ’मात्रै भन्थे । पछि पिल्मोकै वंशको युवतीसँग विवाह गरेर त्यही बसोवास गरेछन् । पिल्मो गाउँमा बसोवास गरेपछि उसलाई पनि कुलमा राख्नुपर्ने भयो । कुलुङ परम्पराअनुसार कुल संस्कारमा राख्न दप्स्निङ् दिने कार्यक्रममा उसले राँगा काटेर ठूलो भोज लगायो । पुर्खा सम्मेलनमा उसलाई ‘जुन्जुलु कुरिक्सा निङ्वारी लोरिसा’ दप्स्निङ् दिइयो । जुभिङबाट आएको र भोज लगाई दप्स्निङ् राखेकाले नाम प्रचलित भएको अर्थमा उक्त दप्स्निङ् दिइएको थियो । यसले पनि देखाउँछ, जातिको निर्माण कसरी हुन्छ भनेर ।’’

पाठप्रति विमति यसप्रकार छ–

प्रस्तुत हरफमा जुभिङबाट बुङ आएको खालिङले भोजभतेर लगाएर आफ्नो थर मोरोमुल बनाएको कथा उल्लेख छ । तिलकशंकर कुलुङले लेखेको ’किराँत कुलुङ (राईको) वंशावली तथा संस्कार–संस्कृति २०४९’ पुस्तकमा खालिङको माइलो भाइ कुलुङ उल्लेख गरिएको छ । लेखकले आफ्ना पुर्खाको इतिहास मन नपरेर पिल्मो जातिको मोरोमुल वंशको थाप्लोमा त्यो कुरा खन्याउँदै छन् । मोरोमुललाई पिल्मो समाजले सृष्टिकालदेखि छाम्पानामको काइँला हाँगाको सन्तान मान्दै आएको छ । पिल्मो जातिमा पराईलाई आफ्नो वंशमा गाभ्ने परम्परा छैन ।

लेखकले मोरोमुललाई पिल्मो होइन, खालिङ हो भन्ने भ्रम सिर्जना गरेका छन् । मोरोमुल समुदायले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाउँदा सदर गरिएजस्तो देखिएको छ । खासमा मोरोमुल समुदायले आफ्नोविरुद्धमा प्रकाशित लेखबारे थाहा नपाएका हुन् भन्ने स्पष्ट भएको छ । लेखकको अभिव्यक्तिलाई स्वीकार गरेर मोरोमुलहरू खालिङ बन्ने हुन् वा अनर्गल एवम् निराधार आक्षेप लगाइएकाविरुद्ध प्रतिवाद गर्ने हुन् ? दुईमध्ये एउटा रोज्नुपर्ने देखिएको छ ।

लेखकले अनर्गल आक्षेप लगाएर मोरोमुलको अस्तित्वमाथि दाग लगाउन अफवाह फैलाएका हुन् भने यो दण्डनीय अपराध हो । खालिङलाई मोरोमुल बनाएर पिल्मो समुदायमा विलुप्त गरिएको थियो भन्ने झुटो सूचना बदनियतपूर्ण ढंगले सम्प्रेषण गरिएको छ । लेखकले प्रस्तुत गरेको विवरण कुन इतिहासको पानाबाट उद्धृत गरिएको हो ? त्यसको आधिकारिक स्रोत खुलाइएको देखिँदैन । खालिङलाई मोरोमुल बनाएर पिल्मो जातिमा गाभिएको हो भन्ने लेखकको अभिव्यक्ति निराधार र कुत्सित भावनाले अभिप्रेरित छ । मोरोमुल समुदायको अस्तित्वमाथि ठिमाहाको मिथ्या कलंक लगाइएको छ ।

यस विषयमा मोरोमुल समुदायले लेखकसँग स्पष्टीकरण माग्नुपर्ने देखिएको छ । लेखकले लगाएको लाञ्छनाविरुद्ध मोरोमुल समुदाय अग्रसर हुनु आवश्यक देखिन्छ । लेखकले मोरोमुललाई गरेको अपमान सम्पूर्ण पिल्मो जातिलाई गरिएको अपमान र दमन हो । मोरोमुललाई खालिङको संज्ञा दिएर वास्तविक इतिहास बंग्याउनु लेखकको आपराधिक मानसिकता हो ।

(८) पृष्ठ ७, प्रथम स्तम्भ, तेस्रो अनुच्छेदमा यस्तो उल्लेख छ–

जातीय विभाजन वा खण्डीकरणका दुष्परिणाम

“अहिले कुलुङबाट नाछिरिङ बन्ने प्रक्रिया पहिचानको खोजी नभई जातीय अन्तरध्वंश हो । पहिचानको खोजी, भएको पहिचानलाई मेटेर नभएको काल्पनिक चीज अँगाल्दै अन्तरध्वंशमा जानु कदापि राम्रो होइन । आफ्ना आदिम पुर्खाले निर्माण गरेको भाषा, संस्कृतिलाई त्याग्दै कसैले आवेगात्मक निर्णय गरे भोलिको सन्ततिले सराप्नेछ । अहिले लहडका भरमा कोही कुलुङबाट नाछिरिङ बने त्यसको भविष्यमा आपसी द्वेष उत्पन्न हुने पक्का छ । नाछिरिङ बन्नेहरू संस्कारविहीन बन्ने अवस्था आउनेछ । इतिहासको विरासत नबुझ्दा हामी जंगली अवस्थामा फर्कने दिन आउनेछ । संसारमा भाषाका करण धेरै युद्ध भएका छन् । बंगालादेश, तमिलनाडू, गोरखाल्यान्ड, श्रीलंकाका गृहयुद्ध आदि दर्जनौं यसका उदाहरण हुन् । अहिले देखापरेको विभाजनले भोलिको दृश्य दाजुभाइ र छिमेकबीच काटाकाट हो ।

हामी कुलुङ समुदायका अगुवाले खोजेको भोलि त्यो दुर्दान्त दिन होइन । दस वर्ष बढीको पहिचानको लडाइँबाट हामी कुलुङ एउटा सार्वभौम अलग आदिवासीकÞा रूपमा मान्यता पाउने अवस्थामा पुगेका छौं । यो बेला इतिहासले विभाजनको होइन, थप एकता र सशक्तताको जिम्मेवारी हामीलाई दिएको छ । अहिलेको यो स्वर्णिम अवसरलाई नचिन्ने हो भने हामी फेरि दुर्भाग्यको गर्तमा फस्ने पक्का छ । नाछिरिङ भन्नेले आफूलाई पहिचान दिलाउन त सक्ने छैनन् नै कुलुङलाई पनि डुबाउनेछन् । सचेत कुलुङ पुर्खाहरू जोशमा होइन, होशमा आएर जातीय एकतामा जुट्नु जरुरी छ । भएको हातखुट्टा काटेर आफै अपांग बन्नतर्फ कोही लाग्ने छैन ।’’

पाठप्रति विमति यसप्रकार छ–

प्रस्तुत हरफबाट लेखकले अन्तरध्वंशको बाटोमा नलागेर सबै नाछिरिङ पनि कुलुङ हुनुपर्ने जोड गरेका छन् । नाछिरिङ बने आपसमा काटाकाट हुने र नाछिरिङ बन्नेहरू संस्कारविहीन बन्ने भविष्यवाणी गरिएको छ । त्यस्तै लेखकले सोत्तो, पिल्मो, नाछिरिङ र कुलुङ सबैले एकढिक्का भएर कुलुङको अस्तित्वमा गाभिएर कुलुङ बन्नुपर्ने आग्रह गरेका छन् । पिल्मो, सोत्तो, नाछिरिङ, कुलुङ सबैको आ–आफ्नो सभ्यता छ । सबैको इतिहास केलाउनुपर्छ र समदूरीको बाटो खोज्नुपर्छ भन्ने बुझाइमा लेखक पुग्नै बाँकी रहेको देखिन्छ । विभाजनको रेखा कसरी कोरिएको छ ? एकता हुनुपर्नेमा कसरी अनेकता सिर्जना भयो ? यसलाई कसरी सम्बोधन गर्ने ? यस विषयमा छलफल गर्ने सपना लेखकले देखेका छैनन् । कुलुङ सभ्यताको नाम हो भन्दैमा जोकोही त्यसमा फाल हान्न सक्ने सम्भावना कम रहन्छ । सभ्यता भनेको निश्चित वर्ग वा समुदायले सदुपयोग गरिरहेको सामाजिक जीवनशैली हो । कुलुङ उद्गम भूमि हुनेले कुलुङ शब्दलाई सभ्यता मान्न सक्छ ।

कुलुङभन्दा अलग ठाउँमा उद्गम भूमि भएको समुदाय कुलुङमा समाहित हुन् । उनीहरूको इतिहासले छेकेको छ र कुलुङ शब्दलाई सभ्यता मान्ने अवस्थामा पनि देखिएको छैन । ऐतिहासिक ज्ञान अभावमा पिल्सिएको पिल्मो र सोत्तोमध्ये कोही कुलुङ भएका होलान् । इतिहास बुझ्दै गएपछि उनीहरूले कुलुङ छाड्दै आ–आफ्नो समुदायमा प्रवेश गर्न थाल्छन् । किनभने सबैलाई आ–आफ्नो जाति, इतिहास र सभ्यताको माया हुन्छ । सोत्तो, पिल्मो र नाछिरिङको सभ्यताको नाम कुलुङ हो भन्ने अप्रमाणित अवस्थामा रहेको विषयवस्तु हो । कुलुङ भोलि सभ्याताको नाम हो भन्ने प्रमाणित हुन सकेन भने के गर्ने ? सर्वविदित कुरा हो, सुरुका वैज्ञानिकले पृथ्वी चेप्टो छ भनेका थिए, पछिका विद्वान्ले पृथ्वी गोलो छ भन्ने प्रमाणित गरिदिएको कुरा स्मरण गर्नुपर्छ । प्रथमतः कुलुङ के हो र कसरी सृष्टि भएको थियो भन्ने लेखकले उजागर गरेका छैनन् ।

(९) पृष्ठ ७, दोस्रो स्तम्भ, तेस्रो अनुच्छेदमा यस्तो उल्लेख छ–

“खुवोलुङ (वराहक्षेत्र ?) यो मिथक किरात इतिहाससँग छेउ–टुप्पो मिल्दैन । जब कि किरात सभ्यताको विकास ब्रह्मपुत्र नदीको मैदान –कामरूप मिनापोङ्खो हाल्कुम्बु)मा भएको थियो । पछि गंगाको उत्तरी मैदान हुँदै सिन्धुघाँटीसम्म पुगेको थियो । किरातीहरू सिकार खेल्नेक्रममा पहिल्यै हिमालय पर्वततिर आउने गर्थे । पहाडी क्षेत्रमा बाक्लो बसोवास भने गंगाको मैदानमा आर्यहरूको अतिक्रमण बढ्दै गएपछि भएको हो । आदिम किरात पुर्खा खम्बुहोङ वराहक्षेत्रमा थिएनन् ।’’

पाठप्रति विमति यसप्रकार छ–

कुलुङ संघको केन्द्रीय समिति सदस्य रहेका लेखकले कुलुङ संघको आधिकारिक मुखपत्र ‘नीङ् छेइलःम्’ राष्ट्रिय मासिक पत्रिकामा यस्तो लेख्नु गम्भीर कुरा हो । किनभने कुलुङ पुर्खाको उद्गमभूमि भारतको ब्रह्म्पुत्रमा भएको लेखकको भनाइ छ । त्यसो हो भने कुलुङ भारतीयमूलका नेपाली नागरिक हुन् भन्ने प्रस्टै हुन्छ । यदि त्यसो हो भने भारतीय उद्गम भएको कुलुङले नेपालको आदिवासी जनजातिमा समावेश हुने हैसियत पाउन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्