नाम पोषणको, काम कुपोषणको



केही वर्षअघि बीबीसीमा नेस्ले कम्पनीको व्यापारिक प्रवद्र्धन गर्ने मानिस, विश्व स्वास्थ्य संघका चिकित्सक र जनस्वास्थ्य क्षेत्रमा कार्यरत केही व्यक्तिको छलफल हेरेकी थिएँ । नेस्ले कम्पनीले दिने विज्ञापनले गर्दा उपभोक्तामा कसरी भ्रम फैलिएको छ ? र, त्यसले कसरी बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ भन्ने विषयमा छलफल चलेको थियो ।

नेस्ले कम्पनीमा कार्यरत व्यक्तिले भने, ‘हो, कतिपय कुरामा हाम्रो कमजोरी रहेको छ । हामीले सच्याउने कोसिस गरेका छौं ।’ बीबीसीको त्यो कार्यक्रमले विज्ञापनको भ्रमले हाम्रो देशमा पनि गइरहेको गलत सन्देशबारे केही लेख्न उत्प्रेरित गर्यो ।

कुनै पनि माल–सामानको विज्ञापन आफैंमा नराम्रो होइन । आजको संसारमा त्यो व्यापारको एक अंग भइसकेको छ । तर समस्या त गलत, झुटो, भ्रामक विज्ञापनको हो । नेपाल र भारतका टीभी, पत्रपत्रिकामा ‘शिशु आहार’ बनाउने एक बहुराष्ट्रिय कम्पनीले विज्ञापन गरिरहन्छ । उक्त विज्ञापनमा भनिएको छ, ‘यो विशेष खाना आहारलाई दूधमा मिलाएर पिएपछि बच्चा अग्लो, स्मार्ट हुन्छ । उसको मस्तिष्क तेज बन्छ ।’

नेपाल र भारतका टीभीमा देखाइने यो विज्ञापन बेलायतमा पनि प्रसारित भयो । तर, त्यहाँको सरकारी निकाय एडभरटाइजिङ स्ट्यान्डर्ड अथोरिटीबाट विशेष जाँच गराएपछि थाहा भयो कि उक्त विज्ञापनमा १ प्रतिशत पनि सत्यता छैन ।

सरकारले त्यस कम्पनीलाई प्रश्न गरेपछि कम्पनीको जवाफ थियो, ‘यो विज्ञापन त भारतका लागि बनेको थियो । गल्तीले बेलायतमा प्रसारित भएछ ।’ उक्त विज्ञापन प्रसारण बेलायतमा रोक लाग्यो ।

अहिले पनि वेबसाइटमा गएर त्यो गलत विज्ञापनबारे हेर्न सकिन्छ । तर, हाम्रो रेडियोमा त अझै पनि यस्तै बज्दै छ । यसको अर्थ बहुराष्ट्रिय कम्पनीले विकसित देशमा झुट र भ्रमको विज्ञापन गर्न पाउँदैन । तर, हाम्रोजस्तो देशमा जति झुट र भ्रमपूर्ण विज्ञापन गर्न पनि छुट छ त ?
कतिपय खानेकुराको विज्ञापनमा भनिएको हुन्छ, ‘घरमा भएका खानेकुराले बच्चालाई पोषण पुग्दैन । त्यसैले बाहिरको पोषण किनेर क्याल्सियम र आइरन बच्चाको शरीरमा पुर्याउनुपर्छ ।’ अनि पोषणबारे भाषण छाट्ने मानिस र स्वास्थ्य मन्त्रालयका जिम्मेवार अधिकारी मौनता साँधिरहन्छन् । कसैले भन्दैन कि यो गलत कुरा हो । भात, दाल, रोटी, भटमास, दूध, मकै, दही आदि घरेलु खानेकुराले नै बच्चालाई सम्पूर्ण पोषण हुन्छ भनेर भ्रमपूर्ण प्रचारको प्रतिवाद पनि हुँदैन । कि त हामीलाई पनि हाम्रो घरको खानेकुराले पुग्दैन र बाहिरका खानेकुरा नभई, बच्चाको स्वास्थ्य राम्रो हुँदैन भन्ने भ्रम अझै छ ?

उपभोक्ता समितिले पनि यस्तो गलत विज्ञापनको विषयमा कतै उजुरी हालेको पाइँदैन । ठगिने त सर्वसाधारण उपभोक्ता हुन्छन् । घरमा २० रुपैयाँमा बन्ने पौष्टिक आहार छाडेर बाहिरका २०० रुपैयाँ पर्ने अति कम पौष्टिक आहार भएको खानेकुराको बट्टा किनेर बच्चालाई दिन्छन् । उपभोक्ता जागरुक भएर ती बाहिरको खानेकुरामा के राखिएको छ भनेर हेर्दैनौं । त्यसमा लेखिएको कुरा पढ्ने हो भने सजिलै थाहा पाउन सकिन्छ कि विज्ञापन कति गलत छ ।

त्यस्ता बट्टाका खानेकुरामा गहुँ, जौ, चामल, चिनीजस्ता घरमा पाइने खानेकुरा नै हुन्छन् । त्यसमा विशेष रूपले क्याल्सियम मिलाएको छ वा भिटामिन ‘ए’ भनेर थपिन्छ । तपाईंको घरमा के यी खानेकुरा पाइँदैनन् र ? क्याल्सियम खानेकुरामा मिसाउनै पर्दैन, दूध, दही, ज्वानोजस्ता खानेकुरामा जति पनि क्याल्सियम हुन्छ । भिटामिन ‘ए’ त हरियो तरकारी, कर्कलो, गाँजरमा पाइन्न र ?

भटमास वा क्वाँटी ख्वाउँदा यसले बच्चालाई प्रोटिन दिन्छ । घरको दाल, चामल नै बच्चाका लागि पोषणयुक्त हुन्छन् । बाहिर बट्टाको खानेकुराको जरुरत पर्दैन । यसो भनेर विज्ञापन कसले दिने ? किनभने भटमासको विज्ञापनमा पैसा छैन । तर, त्यही भटमासलाई राम्रोसँग प्याक गरेर प्लाष्टिकमा राखेर विज्ञापन गर्यो भने हामी घरको भटमासको सट्टा त्यही भटमास धेरै रुपैयाँ खर्च गरेर किन्छौं ।

उपभोक्ता जागरुक हुने हो भने त यस्ता विज्ञापन कम्पनीले अति कम झुट बोल्थे कि ? किनभने गलत विज्ञापनविरुद्ध भ्रम चिर्दै प्रचार प्रसार गर्ने संस्था निकै कम छन् । त्यस्ता संस्थाको विभिन्न मिडियामा पहुँच नै छैन । सरकारी निकायबाट यस्ता पहल भइरहेका छैनन् ।

हाम्रो देशमा उत्पादन हुने विभिन्न खाद्यवस्तुमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छन् । गाउँघरमा उत्पादन तथा तयार हुने खाद्यवस्तुमा गरिएको वैज्ञानिक अध्ययन विश्लेषणबाट कम मूल्यमा बढी पौष्टिक तत्व भएको खाद्यवस्तु प्राप्त गर्न सकिने पुष्टि भएको छ ।

बजारमा किनिने तयारी खाद्यवस्तुको प्याकेजिङका लागि थप स्रोत–साधन उपयोग गर्नुपर्ने हुन्छ । थप आकर्षक बनाउन रंगीन बट्टा वा कागज प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि थप खर्च र व्यापारीले लिने नाफाको अंश जोड्दा वस्तुको मूल्य निश्चय नै बढी हुन्छ ।

यसको सट्टा गाउँघरमै तयार गर्न सकिने खाद्यवस्तु प्रयोग गर्न सकेमा कम मूल्यमा अधिकतम लाभ लिन सकिन्छ । साथै कुपोषण समस्या पनि कम हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्