मानिस सुविधाभोगी बन्दै गएका छन् । सालनाल गाडिएको गाउँठाउँभन्दा सहर–बजार बस्न रुचाउनेको कमी छैन । तर, गर्न सके गाउँमै सम्भावना छ भन्नेहरू पनि भेटिन्छन् । त्यसमध्येका एक हुन्– इवन राई । साबिक मंगलटार गाउँ विकास समिति–३, देवीटार खोटाङनिवासी राईले वैदेशिक रोजगारीमा खाडी मुलुक गएकाहरूभन्दा गाउँमै बसेर तेब्बर आयआर्जन गर्थे ।
‘गाउँमै बसेर लोभलाग्दो आम्दानी गर्न सकिन्छ,’ उनको भनाइ थियो, ‘जाँगर र दृष्टिकोण भए पुग्छ ।’ बुवाआमा, दिदीबहिनी र भाइ हङकङ, तीन दाजु काठमाडौंमा बस्दै आए पनि उनले गाउँठाउँ त्याग्न सकेनन् । गाउँमै भविष्य खोजिरहेका थिए । उनलाई सहर–बजारले आकर्षण गर्नै सकेन । तसर्थ, गाउँमै बसेर दर्जनौं व्यवसाय गर्दै आएका थिए ।
सगोलमा तीन सय रोपनीभन्दा बढी खेतबारी रहेको बताउने उनको मूल व्यवसाय खेतिपाती नै थियो । तर, उनी खेतिपाती गर्न त्यति भ्याउँदैनथे । खोटाङ क्षेत्र नम्बर १ का कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका उनले धेरैजसो खेतबारी अरूलाई कमाउन दिएका थिए । अधियास्वरूप आएको अन्नबालीले नै खान पुग्ने भए पनि उनी हात बाँधेर बस्न रुचाउँदैनथे ।
उनले तरकारी खेती गर्न थालेको धेरै भएको थियो । उनको तरकारीबारीमा बन्दागोभी, फूलगोभी, आलु, गोलभेंडा र रहरलाग्दा खुर्सानी फलेको देख्दा जतिसुकै अल्छे मानिसलाई पनि जाँगरिलो बन्न प्रेरित गथ्र्यो । भन्थे, ‘खानलाई करेसाबारीमा उत्पादित तरकारीले पुग्छ । त्यसबाहेकका बेच्नैपर्यो ।’ दुई टनेल रहेको बताउने उनले बेमौसमी तरकारी खेती गर्ने सोच बनाएका थिए ।
तरकारी खेतीबाट मनग्य आम्दानी गर्ने उनले फलफूल खेतीसमेत थालेका थिए । दुई सय ५० बोट अनारसमेत लगाएका थिए । उनले सुनाएका थिए, ‘माटो जँचाएर रुद्राक्ष खेती थाल्ने सोच बनाएको छु । त्यतिमात्रै होइन, कृषि फार्म दर्ता गरेरै काम गर्ने रहर छ ।’
राजनीति र व्यवसायलाई सँगसँगै अगाडि बढाइरहेका राई ट्रक व्यवसायी पनि हुन् । उनले कफी खेती गर्दै आएका थिए । पहिले लगाएको कफीले घरकालाई खान पुगे पनि पछिल्लो समय १५० बोट कफी थपेका थिए । व्यापार अपार भन्ने भेउ पाएका उनले मिल सञ्चालनमा ल्याएको थुप्रै भइसकेको थियो । त्यही व्यवसायले पाँच/सातजनालाई मज्जाले खान पुग्थ्यो । ‘तेल, मासु र मरमसला त किन्न पर्ने हो,’ उनले प्रस्ट्याए, ‘अरू त आफैंले उत्पादन गरिन्छ । धान, मकै, गहुँ र कोदोमात्रै होइन, मिलमा खानेतेलसमेत पेल्ने सुविधा थियो । मंगलटारबाहेक च्यास्मिटार, हलेसी, दुर्छिमबाट तेल पेल्न आउनेको भीड लाग्थ्यो । दसैं–तिहारमा त खाना खाने फुर्सद नै हुँदैनथ्यो ।’
सहरमा मात्रै होइन, गाउँ–गाउँमा ब्रोइलर कुखुरा उत्पादन गर्न थालिसकेका थिए । विभिन्न व्यवसायमा हात हालेका इबन राईले हलेसी तुवाचुङ नगरपालिकाका मेयर हुनुअघि कुखुरा फार्म सञ्चालन गरेका थिए । चल्लादेखि दानासम्म काठमाडौंबाटै ढुवानी गरेर कुखुरापालन गर्न थाकेका थिएनन् । कुखुराबाट राम्रै आम्दानी गर्दै आए पनि उनको प्रगति देख्न नचाहनेले फार्ममा आगो लगाइदिएपछि केही समयका लागि बन्द फार्म पुनः सञ्चालनमा ल्याउन लागेका थिए ।
रोजिन फ्याक्ट्रीसँग सम्बद्ध रहेका उनले बाँझो रहेका खेतबारीमा अलैंचीलगायत बोटबिरुवा लगाउने सोच बनाएका थिए । त्यसो त उनले माछापालन पनि थालेका थिए । पानीको चर्को समस्याले माछापालन व्यावसायिक बनाउन सकेनन् भने ट्याक्टर व्यवसायले घाटा लगायो । उनको ट्याक्टर मंगलटारकै बरबोटेमा दुर्घटनामा पर्यो । दुर्घटनामा परेको ट्याक्टरलाई सुरक्षित ठाउँमा निकाल्नमात्रै करिब डेढ लाख रुपैयाँ लाग्यो । अज्ञात समूहले राखिएको ठाउँमै ट्याक्टरमा आगो लगाइदिएपछि उनले सो व्यवसायलाई निरन्तरता दिएनन् । अहिलेसम्म आगो लगाउने पत्ता लागेको छैन ।
व्यवसायी राईले सोलारबाटै देवीटारमा फोटोकपी, टाइपिङ सेवा प्रवाह गरेका थिए । फोटोग्राफरसमेत उनले गाउँकै आफन्तलाई हेड मिस्त्री राखेर खोटाङको हलेसीमा फर्निचर व्यवसाय थालेका थिए । काठमाडौंमा समेत कहलिएका हेड मिस्त्रीको निधनपछि फर्निचर व्यवसायले उनलाई उँभो लगाउन सकेन । अन्ततः फर्निचर बेचिदिए । व्यवसायमा हात हालेपछि नाफा, घाटा बेहोर्नुपर्छ भन्नेमा उनी अनभिज्ञ थिएनन् । हात हालेकोमध्ये एक/दुई व्यवसायले लगानीसम्म नउकासे पनि भविष्य व्यवसायमै देखेका थिए ।
शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका कारण मानिस सहर पस्छन् । उनको ठम्याइ थियो, ‘उल्लिखित शीर्षकका सुविधा गाउँमै थोर–बहुत प्राप्त हुन थालेको छ । गाउँका मानिस बसाइँ नसरून् भनेर आफूले जानेको र सकेको काम गर्न लागिपरेको छु ।’
ती काम के हुन् ? ‘मेरै नेतृत्वमा साबिक दुर्छिम गाविसको छापडाँडादेखि मंगलटारको पहरेबेंसी (दूधकोसी) सम्म १९ दशमलव ३०० किलोमिटर सडक खनिएको थियो । सडक सञ्चालनमा छ । तीन महिनामा खनिएको सडक जिल्लाकै कम लागतमा खनिएको नमुना मानिन्छ ।’
सडक निर्माणमा भतिजा सिजन राईको पनि योगदान छ । सडक निर्माण पहल गरिरहँदा भतिजाको निधन भएकाले उनकै नामबाट सडकको नाम ‘सिजन मार्ग’ राखिएको हो । सडक निर्माणका लागि गाविसले उपलब्ध गराएको तीन लाख, इवन राईको परिवारबाट पाँच लाखसहित ६२ लाख रुपैयाँ सडक निर्माण सम्पन्न भएको थियो । स्थानीय स्रोत, साधन र क्षमता प्रयोग गर्न जाने थोरै लगानी र समयमा धेरै काम गर्न सकिन्छ भन्ने उनको बुझाइ थियो । सडक निर्माण गर्दा लागेको रुपैयाँमध्ये १५/१६ लाख ऋण तिर्न बाँकी नै छ । र पनि उनी आत्तिएका थिएनन् । सडक निर्माणमा लागेको ऋण घटाउन सामुदायिक वनबाट संकलित खोटो, साबिक गाविसले सालिन्दा दिने अनुदान, गाविसको प्राकृतिक सम्पत्ति दूधकोसीको बालुवाले सघाएको थियो ।
सिजन मार्गले उदयपुर, ओखलढुंगा र खोटाङलाई जोडेको छ । क्षेत्रीय सडकको मान्यता पाइसकेकाले सडक स्तरोन्नतिका लागि सालिन्दा बजेट विनियोजन भइरहेको छ । सडक निर्माणपछि मंगलटारवासीले जुनसुकै उपभोग्य सामग्री प्रतिकिलो दुई रुपैयाँ भए पनि सस्तोमा खरिद गर्न पाएका छन् । दुई रुपैयाँ भए पनि सस्तोमा उपभोग गर्नेभन्दा इबन राई धेरै खुसी छन् ।
सरकारले खोटाङको पश्चिमी क्षेत्रमा रहेका डिकुवा, बाहुनीडाँडा, च्यास्मिटार, बडहरे, दुर्छिम, मंगलटार र हलेसीलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । उल्लिखित साबिक सात गाविसका खानेपानी समस्या चर्को छ । घोषित गाविसमा घोषित नीतिअनुसार खानेपानी आपूर्तिका लागि प्रमुख भूमिका उनकै रहनेछ । मेयर हुनुअघि उनले त्यतिबेला भनेका थिए, ‘तीन वर्षभित्रमा खानेपानी समस्या समाधान गर्न अर्जुनदृष्टिसाथ काम सुरु हुँदै छ । चालु आर्थिक वर्षमै काम थाल्न खानेपानी विभाग, जिल्ला खानेपानी, सबडिभिजन कार्यालय खोटाङ र आमउपभोक्ताबीच छलफल जारी छ ।’ कांग्रेसको सक्रिय राजनीति गर्दै आए पनि व्यक्ति र पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्दै आएका कारण उनी सबै पार्टी र सबै पुस्ताबीच लोकप्रिय छन् ।
गाउँमै बसेर एक व्यक्ति यति धेरै उदाहरणीय काम गर्न सकिँदोरहछ भने वैदेशिक रोजगारीमा खाडी मुलुक गएकामात्रैले सम्बन्धित व्यक्तिको गाउँठाउँलाई उदाहरणीय बनाउन इबन राईको पदचाप पछ्याउने हो भने गाउँलाई गतिलो बनाउन कत्ति नलाग्दोरहेछ । तर, इच्छाशक्तिचाहिँ हुनुपर्यो । त्यति भए पुग्छ ।
मेयरमा निर्वाचित हुनुअघि इवन राईले गरेका/थालेका अपवादबाहेक सबै काम निश्चित समयमा लागि स्थगित भएको छ । मेयर हुनुअघि राईले गरेका गतिविधि थाहा पाएपछि गर्न सके गाउँमै सम्भावनाको खानी रहेछ भन्न कुनै आइतबार कुरिरहन पर्दैन ।