मानसिक तनावले पनि टाउको दुखिरहने



टाउको दुख्ने समस्या धेरैजसो नेपालीलाई छ । कतिपयलाई यस्तो समस्या एक÷दुई दिन होइन, वर्षौंदेखिको छ । टाउको दुखाइ दुईप्रकारका हुन्छन् ।

पहिलो :

मानसिक तनाव । यो समस्याले ६९ प्रतिशतको टाउको दुख्छ ।

दोस्रो :

माइग्रेन । यो समस्याले १६ प्रतिशतको टाउको दुख्छ ।

कतिपयको लामो समयदेखि टाउको दुख्छ । कतिपयको औषधि खाँदा बिसेक हुन्छ । तर, बल्झिरहन्छ । त्यसो भएमा टाउको दुखाइको उपचार गरिहाल्नुपर्छ । टाउको दुखिरहन्छ तर चेक–जाँच गर्दा रिपोर्ट सामान्य आयो भने मानसिक समस्या भनेर बुझ्नुपर्छ । टाउको तनाव, माइग्रेन र निराशपनले गर्दा दुख्छ ।

तनावले टाउको दुख्दा :

वर्षौंदेखि टाउको दुखिरहन्छ । टाउको जता पनि दुख्ने । भारी हुने । थिचेजस्तो र गह्रुँगो अनुभूति हुन्छ । त्यतिमात्रै होइन, कसैलाई पोलेजस्तो, कीरा हिंडेजस्तो हुन्छ । कतिपयलाई चक्कर पनि लाग्छ ।

कतिपयलाई दिनैभरि बिस्तारै टाउको दुखिरहन्छ । तर, उसले काम गर्न सक्छन् । सामान्य औषधि खाएमा निको भइहाल्छ पनि । यस्तो दुखाइसँग मानसिक समस्या जोडिएको हुन सक्छ । तनावपूर्ण स्थिति, निद्रामा गडबडी, अन्य लक्षण पनि हुन सक्छ ।

माइग्रेनले टाउको दुख्दा :

टाउको दुखाइ बल्झिरहन्छ । दुख्न थालेपछि कम्तीमा चार घन्टा र बढीमा दुई दिनसम्म दुख्न सक्छ । बान्ता होलाजस्तो हुने, बान्ता हुन पनि सक्छ । कतिपयले कडा औषधि खानुपर्ने, इन्जेक्सन लगाउनुपर्छ । अथवा सुत्नैपर्ने हुन्छ । घाम र आवाजले टाउको दुखाइमा फरक पार्छ । हिँडडुल गर्दा पनि कतिपयको टाउको दुखाइ बढ्छ । कसैको एकापट्टि मात्र टाउको दुख्छ । तर, सधैं एकापट्टि मात्र दुख्छ भन्ने हुँदैन ।
टाउको दुखाइको उपचार सम्भव छ । मानसिक रोग विशेषज्ञ या नसा रोग विशेषज्ञकहाँ गई उपचार गराउनुपर्छ ।

टाउको दुख्दा सचेत हुनैपर्छ । चिकित्सकलाई भेट्नैपर्छ ?

–धेरै जोडले टाउको दुखेमा ।

–सहन नसक्नेगरी टाउको दुखेमा ।

–टाउको दुखाइ झन् धेरै बढेमा ।

–जाँच गर्दा नसाको समस्या देखिएमा ।

–ज्वरो आएमा ।

–टाउको दुखेपछि बान्ता भएमा ।

–टाउको दुख्नाले निद्रा बिग्रेमा । या उठ्नेबित्तिकै दुखेमा ।

–५५ वर्षभन्दा बढी उमेरको व्यक्तिलाई टाउको दुखेमा ।

(नोट : उपचारका लागि अस्पताल पुग्दा रिपोर्ट सामान्य आए पनि तपाईंको समस्या समाधान भएन भने तनावका कारणले तपाईंलाई यस्तो भएको हो भनेर चिकित्सले भनेमा तपाईंले मानसिक रोग विशेषज्ञलाई भेट्नुहोस् । मानसिक समस्याले शारीरिक रोगका लक्षण देखापर्न सक्छन् ।)

(डा. पाण्डे नशा तथा मानसिक रोग विशेषज्ञ हुन् ।)

सम्पर्क : ९८०१९११७०७/९८०१९११७११

प्रतिक्रिया दिनुहोस्