तीन वर्षको कठिन मिहिनेतपछि मोनालिसाको पेन्टिङ


भनिन्छ– लियोनार्दो दाभिन्चीमा दस व्यक्तिबराबरको प्रतिभा उनी एक्लैमा थियो । उनी एक बहुप्रतिभाशाली व्यक्ति थिए । उनी पेन्टर, आविष्कारक, संगीतज्ञ, मूर्तिकार, सैनिक, इन्जिनियर, वैज्ञानिक, निरीक्षक, विज्ञानका ज्ञाता, भवन निर्माण, नगर नियोजक र डिजाइनर पनि थिए । उनको बहुमुखी प्रतिभा कारण उनलाई ‘युनिभर्सल म्यान’ उपाधि प्राप्त भएको थियो । लियोनार्दो दाभिन्चीपछि धर्तीमा अहिलेसम्म ‘युनिभर्सल म्यान’ जन्मन सकेको छैन ।

उनको मस्तिष्क सधैँ नयाँभन्दा नयाँ आविष्कार, खोज र अनुसन्धानका विषयमा केन्द्रित भइरहन्थ्यो । सात हजार पृष्ठमा लेखिएका यिनका डायरीमा धर्तीका ठुल्ठूला अद्भुत दृश्य, शरीरविज्ञानसँग सम्बन्धित चित्र, युद्धमा काम लाग्ने इन्जिन, लडाकु मेसिन, रोचक तथ्य आदिसँग सम्बन्धित तथ्य थिए ।

लियानार्दो दाभिन्ची एक चिरपरिचित वकिलका सन्तान थिए । उनकी आमा केतरिना सामान्य परिवारकी महिला थिइन् । यिनले एक भवन निर्मातासँग विवाह गरेकी थिइन् । उनले छोरालाई बाबुकहाँ छाडेर गइन् । सन् १४६९ मा उनका पिता फ्लोरेन्स गएका थिए, जहाँ कैयौँ वर्षसम्म लियोनार्दोको हेरचाह उनका काकाले गरेका थिए । १४ वर्षको उमेरमा उनले मूर्ति बनाउने विलक्षण प्रतिभा प्रदर्शन गरेका थिए । उनका बाबुले छोराको यस्तो प्रतिभा देखेर एन्ड्रिडेल बेराकिमकहाँ प्रशिक्षणका लागि पठाए । लियोनार्दो ३० वर्षसम्म फ्लोरेन्समै अध्ययन गरे ।

सन् १४८२ मा उनले मिलानका ड्युकलाई व्यावसायिक सेवा प्रदान गर्नका निम्ति चिट्ठी लेखेका थिए । ड्युकले उनलाई आफ्नो सेनामा इन्जिनियर पदमा नियुक्त गरेका थिए । सेना इन्जिनियरका रूपमा लियोनार्दोले अनेकौँ उपकरणका विषयमा सुझाव दिए । जसमा रासायनिक ग्यासदेखि अस्त्र–शस्त्रयुक्त वाहन र शक्तिशाली हतियारसम्मका प्रस्ताव थिए । उनले एक यस्तो हतियारको डिजाइन तयार गरे, जसले शत्रुमाथि गोलीको वर्षात् पनि गर्न सक्थ्यो ।

मिलान सहरमा बसेर उनले भवन–निर्माताको पनि काम गरे । उनले अनेकौँ सडक, नहर, गिर्जाघर, घोडा सवारगृह, वेश्या गृह, केन्द्रीय उस्मित संस्थान आदि डिजाइन तयार पारे । सन् १९९५ मा उनले आफ्नो विश्वप्रसिद्ध पेन्टिङ ‘लास्ट सुपर’ बनाउन सुरु गरे, जुन सन् १४९७ मा सम्पन्न भयो ।

सन् १४९९ मा उनी माट्रना हुँदै भेनिस आए । त्यस समयसम्म उनी तुर्कीका साथ युद्ध सञ्चालन गरिरहेका थिए । भेनिसमा उनले धेरैजसो युद्धसम्बन्धी आविष्कारको विचार प्रस्तुत गरेका थिए, जसमा विस्फोटक पदार्थ, लडाकु जलपोत, पानी डुब्बी र गोलीको असर नपर्नेखालका ज्याकेटसम्मका डिजाइन गरेका थिए । त्यस समय लियोनार्दोका सबै विचार उत्पादनका दृष्टिले धेरै महँगा लाग्थे, यसकारण ती डिजाइनलाई अन्तिम रूप दिन सकिएन ।

सन् १५०० मा उनी फेरि फ्लोरेन्स आए । सन् १५०३ देखि १५०७ सम्म आफ्नो प्रसिद्ध पेन्टिङ ‘मोनालिसा’ बनाए । यो चित्र उनले ती दिनहरूमा निर्माण सुरु गरे, जब उनी ५१ वर्षका थिए । मोनालिसा २४ वर्षकी थिइन् । मोनालिसा प्रत्येक दिन दिउँसो उनको स्टुडियोमा आउँथिन् । तीन वर्षको कठिन मिहिनेतपछि जति बेला यो पेन्टिङ पूरा भयो, मोनालिसाको तस्बिर देखेर लियोनार्दो मन्त्रमुग्ध भए । यस तस्बिरमा मोनालिसाको अनुहारमा एक अद्भुत मुस्कान देखियो । साथै आँखामा नशालुपन पनि झल्कन्थ्यो ।

चित्रलाई पूरा गरेपछि भिन्ची फेरि मिलान सहर गए । उनी सन् १५०६ देखि १५१३ सम्म मिलानमै रहे । अन्त्यमा मिलान फ्रान्स शासनअन्तर्गत आयो । त्यहाँ यिनलाई ‘बर्जिन एन्ड चाइल्ड’ तथा ‘सेन्ट ऐने’ पेन्ट गर्नका निम्ति भनिएको थियो । सोहीअनुसार उनले मूर्ति बनाए । जब उनको मूर्ति प्रदर्शन गरियो, प्रत्येक व्यक्ति मन्त्रमुग्ध भए । सन् १५१७ मा लियोदार्नो फेरि रोम गए । रोम फर्केपछि फ्रान्सका राजाले उनलाई अतिथिका रूपमा बोलाए । राजाले उनलाई तलब दिने गर्थे ।

लियोनार्दोले हेलिकोप्टरसहित कैयौँ प्रकारका उड्ने यन्त्रको तस्बिरसमेत बनाएका थिए । उनले जलघडी निर्माण गरेका थिए र बालवेयरिङको उपयोगको कुरा पनि प्रचार गरे । भवन निर्माणमा संलग्न इन्जिनियरका लागि धेरै तौल भएको क्रेनको डिजाइन पनि बनाए ।

यतिधेरै काम गरे पनि लियोनार्दोले प्रविधि वृद्धिका निम्ति धेरै कार्य गरेका थिएनन् किनभने उनका विचार अधिकांश कागजमै सीमित रहे । उनका आविष्कारलाई धेरै मान्छेले हेर्न पाएनन् । उनका बारेमा विश्वलाई जे थाहा छ, त्यो केवल लिखित प्रमाणबाट मात्रै थाहा हुन्छ ।
लियोनार्दो लामो समयसम्म पर्दापछाडि नै रहे । उनले गरेका धेरै काम अभिलेखका रूपमा रहेनन्, नस्ट भए । उनको ख्याति एक अन्वेषक र कलाकारका रूपमा विश्वव्यापी फैलिएको छ । महान् ‘युनिभर्सल म्यान’को निधन सन् १५१९ मा भयो ।

प्रतिक्रिया दिनुहोस्