काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्यमा खोटाङे पराजुली विजयी


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।

‘एउटै मुहानको पानी पिएर हुर्केको नेर्पाली युवा (साइनाले भतिज)को राजनीतिमा प्रवेश र सुरुवाती चरणमा पाएको यो सफलता चानचुने होइन,’ सहप्राध्यापक डा. धनप्रसाद सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘हाम्रो खोटाङ नेर्पाबाट पर्शुराम राई र दुर्गाजयन्ती राईपछि तेस्रोपटक संसद् भवनमा प्रवेश गरेको मेरा छिमेकी भतिजलाई धेरै धेरै बधाई । कार्यसफलताको शुभकामना ।’

नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले दोस्रो मत प्राप्त गरे । घिमिरेले छ हजार आठ सय र लोकतान्त्रिक–वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताइन् ।

कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाडौं–७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार छ सय ३५ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

यसैगरी एक हजार पाँच सय ७४ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्