दुङ्वासा : अर्थात् समय जनाउ दिने चरा


परिचय :

किराती प्रकृतिपूजक हुन् । ढुंगा, माटो, रुखपात, पशुपन्छी, हावापानी र आगोसँग गहिरो सम्बन्ध राखिरहन्छन् । प्रत्येक वस्तु उपयोग गर्नुअघि पूजा–अर्चना गर्छन् । उनीहरू पाउनअघि माग्छन् । पाएपछि धन्यवाद दिन्छन् । उनीहरूले प्रकृतिको मसिनो अध्ययन गर्दै आएका थुप्रै भयो । त्यसैले यस्ता घटनामा यो–यो अर्थ लाग्छ भन्ने ज्ञानसमेत उनीहरूसँग हुन्छ । यसैको सारमा मुन्दुम सृष्टि भयो । जन्मबाट मृत्युसम्मको कार्यसम्पन्न गर्न मुन्दुम चाहिन्छ । मुन्दुमले प्रकृति चलाउँछ । प्रत्येक वस्तुलाई कति बेला के भयो ? अब के हुन्छ ? भन्ने समयले परिणाम दिन्छ । यहीसँग सम्बन्धित मुन्दुममा आधारित दुङ्वासाको व्याख्या प्रस्तुत गरिन्छ ।

कर्याङकुरुङ

परिभाषा :

‘दुङ्वासा’ भन्नाले के बुझिन्छ ? दुङ्वासालाई विभिन्न तरिकाले अथ्र्याइए पनि शाब्दिक अर्थ भने एउटै हुन्छ । दुङ्वासालाई समयको चरा, बेलाको चरी र समय बताउने चरा भन्ने बुझिन्छ । उँभौली/उँधौली जनाउने चरालाई कुङ्केरा भनिन्छ । यो चरालाई हेरेर हिउँद वा वर्षा लाग्यो भनेर थाहा पाइन्छ । जब उँधौली लाग्छ, तब कुङ्केरा आकाशै ढाकेर सरर…र्र… उँधो (मधेस)तिर वेग मार्छन् । अनि वर्षा लाग्दा उनीहरू त्यसैगरी हिमालतिर उकालिन्छन् ।

काग

समयको पैछेन :

पहिलो र दोस्रो प्रहरमा भाले बास्दा बिहानको ४ देखि ४ः३० बज्यो भनेर सजिलै अनुमान लगाउन सकिन्छ । प्रहरैपिच्छे भाले बासेकाले यति बज्यो भनेर अनुमान गर्ने चलन थियो । यसैका आधारमा समय थाहा पाउने गरिन्थ्यो । साँझपख रत्कुली (जुरेली)हरू कराएमा ६ वा ६ः३० बजेछ भनेर सजिलै अनुमान लगाइन्थ्यो । सुकेको रुखका हाँगोमा बसेर मानिसलाई पछ्याउँदै काग कराएमा अशुभ खबर आउने र जीवित रुखका हाँगोमा बसेर मानिसलाई पछ्याउँदै काग कराएमा शुभ खबर ल्याउने जनविश्वास छ । घरवरिपरि बेस्सरी कराएमा स्याल, सर्प र बाघ आएको रुपीहरूले संकेत दिन्छन् । यो संकेतलाई पनि दुङ्वासा वा बेलाको चरी भन्न सकिन्छ । यो राम्रो समय सकिँदै गयो है भन्ने जनाउ पनि हो ।

उँधौली :

जब उँधौली लाग्छ, तब माछा ओरालो लाग्छन् । चराचुरुंगी मधेस झर्छन् । त्यतिबेला कोसीका पानी सङ्लो हुन्छ । रुखका पात बिस्तारै झर्न थाल्छन् । अन्नबाली पाक्छ । घैया (आदिम पाखे पित्रेधान) र पाँदुर (आदिम पित्रेकोदो) पाकेपछि माछाक्मालाई चढाई छौवा पितृ गरिन्छ । त्यो बेला मुन्दुमले मागेको जंगली, घरपालुवा पशुपन्छी र बोटबिरुवाको चढाउने अंश राखिन्छ । र, ‘दुङ् दापा दुङ् लाछेरा’ वा उँधौली लाग्यो भनी पितृकर्म गरिन्छ ।

रुपी

उँभौली :

उँभौली लाग्दा माछाको उनौलो (माछाको हुरहुर छापो लागेर उकालो आउने) आउँछ । रुखपात पलाउन सुरु हुने, कोसी धमिलो हुन थाल्ने, हावाहुरी र पानी आउन थाल्ने भएकाले चराचुरुंगी उँभो आउने र विरही भाका गाउने भएपछि उँभौली पूजा साम्खा, हुइलुङसहित साकेला गर्न सुरु हुन्छ । मुन्दुम भन्दा ‘दुङ्वाङा रुङ्मापा’ भनेर अन्नबालीमा सह माग्ने, रोगव्याधी नआओस् भनी पूजा गर्ने चलन छ ।

अन्त्यमा :

किरातीहरू कुन बेला खेती लगाउने, कुन बेला कुन बाली पाक्छ र त्यसपछि कुन बाली लाउने सबै बिषयमा ज्ञान राख्छन् । मुन्दुम जान्ने नछुङले यो साल के क्षति हुन्छ, के राम्रो हुन्छ ? भन्न सक्छन् । सबै कुरा प्रकृति र पितृमा भर पर्ने हाम्रो चलन छ । हामीसँग संसार चलाउने आफ्नै विधि र परम्परा छ । पुराना पात झर्ने र नयाँ पात पलाउने प्राकृतिक नियम किरातीले असाध्यै मान्छन् । बाउभन्दा छोराको अघि निधन भयो भने उल्टो भयो भनी यसमा त्यत्तिकै दुःखेसो गरिन्छ । छोराभन्दा बाउको अघि निधन भयो भने सुल्टो भयो भन्ने चलन छ ।

जुरेली

मुन्दुमी ज्ञानबाट संवत् २०५७ सालतिर हेर्दा नेपालमा १५ वर्षपछि आदिवासीको सत्तामा पहुँच हुन थाल्ने देखिन्थ्यो, त्यो पूरा हुँदै गएको हो कि भन्ने देखिन्छ । यसलाई दुङ्वासा (पुरानाको समय सकियो) भन्ने अर्थ पनि लाग्छ । त्यसैले मुन्दुमले बताएबमोजिम हामीले अग्रभागमा रही सबैलाई न्याय दिनु त छँदै छ । प्रत्येक समयमा प्रत्येक परिवर्तनको जनाउ दिनु छ । जय दुङ्वासा ।

प्रतिक्रिया दिनुहोस्