प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौंपटक निर्वाचित


डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका छन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सातौंपटक विजयी भएका हुन् ।

कुल ५१ हजार दुई सय तीन मतमध्ये उनले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे । अर्का उम्मेदवार नेपाली कांग्रेस
(बीपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवा संवत् २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असिग्राम गाउँ विकास समिति ५, मटेला, रुवाखोलामा जन्मेका हुन् । ०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुन् ।

०४८ को आमनिर्वाचनमा उनी डडेल्धुराबाट विजयी भए । ०५१ र ०५६ को संसदीय निर्वाचन, ०६४ र ०७० को संविधानसभा निर्वाचन तथा २०७४ को संसदीय निर्वाचनमा डडेल्धुराबाट विजयी भए । यसपटक सातौंपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल गरेको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्