घर सफा गर्ने रोबोट



साल्तेम्मा (दुर्छिम) ।  घर सफा गर्ने कुचो र भ्याकुमबारे हामी जानकारी छौं । प्रयोग पनि गरिरहेका हुन्छौं । रोबोटले घर सफा गर्न थालेको सुन्दा तपाईं–हामीलाई अचम्म लाग्ला । तर, अचम्म मान्नुपर्दैन ।

प्रविधिको विकास बढ्दै जाँदा मानिसले गर्ने धेरै काम यन्त्र र रोबोटले गर्न थालेको छ । घरिघरि त लाग्छ– कतै यी आविष्कारले मानिसलाई अल्छे प्राणीमा बदलिदिने त होइन ?

फेरि अर्को मनले सोच्छ– होइन, प्रविधिले मानिसको काम छिटोछरितो बनाइदिन्छ । थोरै समयमा धेरै काम गर्न सम्भव भएको छ । औद्योगिक र सहरिया जीवनमा यस्ता यन्त्र र रोबोट नहुने हो भने जीवन अस्तव्यस्त बन्ने पक्कापक्की छ ।

हतार–हतार काम गर्नुपर्ने सहरिया जीवनमा कुचो लगाएर घन्टौं घर बढार्ने समय हुँदैन । यस्तै कुरा ध्यानमा राखेर चाइ योङ साम र जेओङ मिङ इओङले यन्त्र अर्थात् रोबोट निर्माण गरेका छन् । केटाकेटीले खेल्नेजत्रो सानो भकुन्डो आकारको रेल रोबोटले झ्यालका चेपमा जमेर बसेका धूलो सफा गर्छ । झ्यालका सिसा सार्न बनाइएको खाल्डोमा रेलझैं सरर्र गुडाउन मिल्ने भएकाले यसको नाम पनि रेल रोबोट राखिएको हो ।

यसले भ्याकुम क्लिनरले झैं फोहोर र धूलो तानेर झ्याल सफा गर्छ । त्यसैले झ्याल चम्किलो हुने नै भयो ।

प्रतिक्रिया दिनुहोस्