दुर्छिममा ६ जनालाई कोरोना संक्रमण, राजमार्गकेन्द्रित बजार बन्द



दुर्छिम (खोटाङ) । सामान्य लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ६ जनालाई कोरोना संक्रमण भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत इन्जिनियरसहित दुर्छिममा राई समुदायका पाँचजनालाई कोरोना संक्रमण भएको हो ।
‘एक वडामा आठजनाको कोरोना परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ,’ हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले भने, ‘यो भनेको ९८ प्रतिशतभन्दा बढी हो ।’

दुर्छिमको रिपोर्ट आएपछि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयरामदेखि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिजुलेसम्म र हलेसी तुवाचुङ नगरपालिका–११ रेग्मीटारदेखि राजापानीसम्मका राजमार्ग अनिश्चितकालका लागि तत्काल बन्द गरिने नगरप्रमुख राईले जानकारी दिए । राजमार्गकेन्द्रित बजारसमेत बन्द गरिने भएको छ ।

नगरले एकदेखि अर्को पालिका आवतजावतमा कडाइ गर्ने भएको छ । यसैगरी नगरभित्र गरिने शुभकार्य विवाह, व्रतबन्ध, पास्नी, छेवर, देवाली, रुद्री, पूजापाठलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न पूर्ण रूपमा बन्द गर्न/गराउन सबै वडाध्यक्षमार्फत जानकारी गराइएको नगरप्रमुख राईले जानकारी गराए । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने उनले नगरवासीलाई आग्रह गरेका छन् ।

यसैगरी, नगरपालिकामा हलेसी तुवाचुङ नगरपालिकाका वडा नम्बर ५, ७ र ९ नम्बरमा सामान्य लक्षण देखिएकाको एन्टिजेन परीक्षण गरिए पनि हलेसी र अर्खौलेको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्