मलेसियाबाट फर्केर छापडाँडामा सुँगुर पालन



पाँच वर्ष भयो मलेसियाबाट फर्केको । तीन वर्ष मलेसिया बस्दा चित्तबुझ्दो कमाइ छँदै थियो । तर पनि अविन्द्र राई परदेशबाट घरदेश फर्के । घरदेश फर्केपछि के गर्ने भनेर अन्योलमा परेनन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा खोटाङनिवासी राईले सर्वप्रथम १ लाख ५० हजार रुपैयाँमा सुँगुर खोर बनाए । १ लाख रुपैयाँमा सुँगुरका पाठापाठी किने । जिल्लाकै नुनथला र अर्खौलेबाट ल्याइएका सुँगुरका पाठापाठी खोरमा हालियो । थालेको व्यवसायले उत्साहित बनाउँदै लगेको छ । जाँगर भरिँदै गएको छ । व्यवसाय फस्टाउँदै गएकाले ५ लाख रुपैयाँमा आधुनिक सुँगुर खोर बनाए । पुरानो खोर पनि छँदै छ ।

‘दस माउ सुँगुर थिए । अहिले आठ माउमात्रै छन,’ उनले जानकारी गराए, ‘तपाईंसँग कुराकानी गर्न केही समयअघिसम्म ६२ वटा पाठापाठी थिए । बेचिसकें । यतिबेला १७ वटामात्रै छन् । एउटा बीउ ‘बिर’ पनि छ ।’

‘घरदेश रहँदाको मुख्य व्यवसाय सुँगुरपालनै हो,’ उनको तर्क छ, ‘गाउँ चहारेर, क्यारेमबोर्ड, भलिबल खेलेर व्यर्थैमा समय खेर फाल्नुभन्दा सानो नै किन नहोस् व्यवसाय सञ्चालन गर्नुपर्छ । आफू जाँगरिलो बन्नुपर्छ । आफ्नो कामले अरूलाई जाँगरिलो बन्न प्रेरित गरोस् ।’

मुख्य व्यवसाय त सुँगुरपालन नै हो । त्यत्तिमै सीमित रहन मनले लागेन । तरकारी खेती थाले । दुई रोपनी जग्गामा लगाइएका रहरलाग्दा अर्गानिक तरकारी हलक्कै देखिन्छ । नयाँ बनाइएको सुँगुरखोर र तरकारी खेती एकैठाउँ छन् । साग, काउली, बोडी, मुला, बन्दा र गोलभेंडा खेतीले निराश बनाएको छैन । ‘फेदफेदका तरकारी सुँगुरलाई दिइन्छ,’ उनले थपे, ‘माथि–माथिको बेच्छु ।’

बजारको समस्या छैन । छापडाँडामा उत्पादित तरकारी हलेसीका होटल–होटलमा पाक्छ । सहायक व्यवसाय तरकारी खेती पनि सप्रेकै छ । दुवै व्यवसायले उँभो लगाएको देख्नेले भन्छन्, ‘मलेसियाबाट फर्केका अविन्द्र राईले घरदेश रहँदा पनि समय राम्रै सदुपयोग गरे ।’

हो पनि । व्यवसायले जीवन जिउने उपक्रमलाई सहज बनाइदिएको छ । ‘जित्न त मलेसियाको कमाइले जित्छ नि,’ उनको भनाइ छ, ‘तर, घरदेश बस्दा परिवारसँगै रहन पाइन्छ । बिनाबित्थामा खेर फालिने समय उपयोग गर्दा उत्तम हुन्छ । उत्तममात्रै होइन, सर्वोत्तम ठानिन्छ ।’

हुन त स्वेदशको कमाइसँग विदेशको तुलना गर्नै मिल्दैन । त्यसैले बल खस्ती नहुँदै केही समय विदेशमा दुई÷चार पैसा कमाउँदा ओइसा हुन्छ । वनफूलझैं हाँसेजस्तो देखिने अविन्द्र राईले पुछारमा खुसी व्यक्त गरे, ‘म विदेश गइहाले पनि घरपरिवारले व्यवसाय धान्न सक्छन् । तसर्थ, कम्ती खुसी लागेको छैन ।’

प्रतिक्रिया दिनुहोस्