स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीसहित ओफ्लाङका गाउँ–गाउँ पुग्दा



जेठ ३ गते । रातिको ८ बजिसकेको थियो । ओफ्लाङबाट कसैले टेलिफोन गरे । सामान्यतः रातिको समयमा कसैले टेलिफोन गर्दा झस्किन्छु । अपवादबाहेक रातिको समयमा आउने टेलिफोन संवेदनशील मानिन्छन् । टेलिफोन ‘रिसिभ’ गरें । टेलिफोन गर्नेले गाउँभरि बिरामी परेको जानकारी गराए । टेलिफोनकर्ताले गाउँमा घर–घरै बिरामी परेको सुनाए । ‘डाँडाबारीटोलसम्म आएका स्वास्थ्यकर्मी हाम्रो गाउँ झरेनन्,’ उनले चिन्ता व्यक्त गरे, ‘त्यसैले तपाईंलाई टेलिफोेन गरेको हुँ । लौन सहयोग गर्नुपर्यो ।’

स्वास्थ्यकर्मीले ओफ्लाङको डाँडाबारीसम्म पुगेर स्थानीयका स्वास्थ्य जाँच गराएको थाहा थियो । ओफ्लाङको क्षेत्रफल ठूलो छ । ओफ्लाङको तल्लो गाउँ भनेर चिनिने सार्की आहालसम्म स्वास्थ्यकर्मी पुग्न सकेका थिएनन् । डाँडाबारीटोलमा स्वास्थ्यकर्मी आएको थाहा पाएपछि सार्की आहाल, पञ्चावती प्राथमिक विद्यालयआसपासका स्थानीय हाम्रो गाउँसम्म पनि झर्लान् भनेर आस गरिबसेका रहेछन् । तर, स्वास्थ्यकर्मी डाँडाबारीटोलबाटै फर्केपछि मलाई टेलिफोन गरेका रहेछन् ।

भोलिपल्ट (जेठ ४ गते) सार्की आहाल आउने वचन दिएँ । नभन्दै हामी त्यहाँ पुग्यौं । स्थानीयले हाम्रै बाटो हेरिरहेका रहेछन् । कतिबेला आउलान् र हाम्रो स्वास्थ्य समस्याबारे जान्न पाइएला भनेर व्यग्र प्रतीक्षामा रहेछन् ।

एन्टिजेन परीक्षणका लागि चाहिने कीट, औषधि र स्वास्थ्य सामग्री बोकेर ओफ्लाङ पुग्यौं । स्वास्थ्यकर्मीले बिरामीको परीक्षण थाले । कोरोना संक्रमण पुष्टि भएकालाई ‘काउन्सिलिङ’ गर्यौं । औषधि थमायौं । गाउँमा आइया, आत्थु भन्नेहरू बढ्दै गएका रहेछन् । हामीले हौसला दियौं । साह्रोगाह्रो पर्दा फोन गर्न टेलिफोन नम्बर टिपायौं ।

लेखक

मसहित स्वास्थ्यकर्मी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको ओफ्लाङ पुगेपछि स्थानीयको अनुहार उज्यालो देखिँदा कम्ती खुसी लागेन । हाम्रो पनि उपचार हुने रहेछ भनेर स्थानीयका अनुहारमा दौडेको खुसीको लहर सजिलै पढ्न सकिन्थ्यो । उनीहरूको अनुहारमा पोतिएको खुसीले भनिरहेका थिए, ‘स्थानीय सरकारले हाम्रो आवाज सुन्दारहेछन् नि ।’

अघिल्लोपटक स्वास्थ्य जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएकाको घरसम्म पुग्यौं । उनीहरू ओछ्यानमै भेटिए । हामी पुगेपछि जसोतसो उठे । उनीहरू थकित देखिन्थे । गलेका थिए । कतिपय त साह्रै निराश पनि देखिए । कतिपयले अलि सहज भएको खुसीको खबर सुनाए । बीसको उन्नाईससम्म नभएको कसैको भनाइ थियो । संक्रमितको घरघरै पुगेर औषधि वितरण गर्यौं । स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि परिवर्तनसमेत गरिएको थियो । संक्रमितमध्ये कतिपयले भोलि फेरि टाउको दुख्यो भने खान पर्छ भन्दै स्वास्थ्यकर्मीलाई औषधि माग्दाको क्षण शब्दमा व्यक्त गर्न सक्दिनँ ।

संक्रमित र बिरामीलाई हौसला बढायौं । स्वास्थ्य सतर्कता अपनाउन सुझायौं । कोरोनाबाट बाँच्न सकिन्छ बच्न सकिँदैन भनेर सुनायौं । कोरोनाबाट बाँच्ने र बच्ने उपाय सुझाउँदा उनीहरू पनि ढुक्क देखिन्थे ।

सार्की आहालका बिरामीको स्वास्थ्य जाँच, उनीहरूलाई आवश्यक औषधि, स्वास्थ्य सामग्री वितरणसँगै ओफ्लाङका संक्रमितको घरघरै पुगेपछि मन हलुङ्गो भएको थियो । हलुङ्गो मन बोकेर हामी हलेसी फक्र्यौं । ओफ्लाङवासी संक्रमितको स्वास्थ्यलाभको कामना गर्छु ।

(लेखक, हलेसी तुवाचुङ नगरपालिकाकी नगर उपप्रमुख हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्