लफ्याङ वडाध्यक्षमा सामाजिक अभियन्ता राजेन्द्र राई ‘हेभी वेट’का उम्मेदवार



लफ्याङ (खोटाङ) । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ खोटाङनिवासी राजेन्द्र राई समाज सेवाका उदाहरणीय उदाहरण हुन् । विद्यालय व्यवस्थापन समिति होस् या सामुदायिक वन उपभोक्ता महासंघ, कृषि सहकारी होस् वा किरात राई यायोक्खाको संस्थागत विकासमा राईको प्रशंसनीय योगदान छ ।

सामाजिक सेवामा जिल्लाकै परिचित अनुहार । विभिन्न संघ संस्थामा रहेर सामाजिक सेवा गरेरै आफ्नो उर्वर समय बिताए । आसन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षको ‘हेभी वेट’का उम्मेदवार । सामाजिक संघ संस्थामात्रै नभएर, जनप्रतिनिधिका रूपमा जनताको सेवा गर्न वडाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ । नेकपा एकीकृत समाजवादीले वडाध्यक्षको उम्मेदवार बनाएपछि उनी मतदातासमक्ष भोट माग्दै घरदैलो गरिरहेका छन् ।

राजेन्द्रको राजनीतिक यात्रा

संवत् २०४६ देखि राजेन्द्र राई राजनीतिक यात्रामा यात्रारत छन् । सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिव हुँदै जिल्ला कमिटी सचिवसम्म बने ।

राष्ट्रिय जनसांस्कृतिक मञ्च जिल्ला कमिटी सचिवदेखि प्रजातान्त्रिक राष्ट्रिय युवा संघ सदस्यको भूमिका पाए । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष, वडा शिक्षा समिति सदस्य, रूपाकोट रेडियो सञ्चालक समिति सदस्य उनी भूतपूर्व विद्यार्थी मञ्च दिक्तेल बहुमुखी क्याम्पस उपाध्यक्षसमेत हुन् ।

श्रीमावि बाँसबोटेको तीन कार्यकाल अध्यक्ष र तीन कार्यकाल सदस्यका रूपमा काम गरेको गहिरो अनुभव छ । बुद्धेश्वर कृषि सहकारी संस्थाको संस्थापन अध्यक्ष, किरात राई यायोक्खाको भूपू सदस्य उनी किरात राई चाम्लिङ खाम्बातिम खोटाङ भूपू सचिव पनि हुन् ।

नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य उनको मनमाया राई विमानस्थल खानीडाँडा बनाउन सहयोग र समन्वयदेखि विभिन्न सडक निर्माणमा पनि योगदान कम्ती छैन ।

वडाध्यक्ष उम्मेदवार राईका प्रतिबद्धता

वडाध्यक्षका उम्मेदवार राईले लफ्याङको विकासनिम्ति प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, कृषि, पर्यटन, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, सडक, सूचना तथा सञ्चार, वन तथा वातावरण, भू–उपयोगलाई ध्यानमा राखेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

 

गर्भवती तथा सुत्केरी आमाको मासिक स्वास्थ्य परीक्षण व्यवस्था गर्ने, हरेक ६ महिनामा वडा कार्यालय तथा विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, श्रीमावि बाँसबोटेमा प्राविधिक शिक्षा पठनपाठनलाई पूर्णता दिने, रोजगारमूलक शिक्षामा जोड दिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

ऐतिहासिक धारा तथा कुवाको जीर्णोद्धार गरी संरक्षण गर्ने, एक घर एक हिल ट्यांकी व्यवस्था मिलाउने, साप्सुखोलाबाट लिफ्टिङ योजना सञ्चालन गर्ने, बर्खाको पानी जम्मा गर्दै रिचार्ज पोखरी स्थापना गरी पानीको स्रोत सञ्चय गर्ने ।

बहुवर्षीय फलफूल खेतीलाई प्रोत्साहित गर्ने, बाँदर–आतंक नियन्त्रण गर्ने, मझुवा तथा देवीस्थानमा बहुसांस्कृतिक धार्मिकलगायत बहुआयामिक क्षेत्र व्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बनाउने ।

यसैगरी, महिला, युवा, दलित, आदिवासी, जनजाति, अपांगलगायतका लागि सीपमूलक तालिम व्यवस्था गर्ने, छुवाछूत तथा महिलाहिंसारहित वडा बनाउन प्रयास गर्ने, सामाजिक सुरक्षा भत्ता घरैमा पु¥याउने, निर्माणाधीन खेलमैदान मापदण्डबमोजिम स्तरोन्नति गर्दै अन्य खेलमैदान बनाउने, खेलाडीलाई आवश्यक प्रशिक्षण व्यवस्था मिलाउने ।

सडक स्तरोन्नति गर्ने, विद्युत् विस्तार गर्दै उज्यालो लफ्याङ घोषणा गर्ने, काठ उत्पादन, जडीबुटी उत्पादन, वन्यजन्तु संरक्षण गरी स्वच्छ वातावरण निर्माणमा जोड दिने । चालिसे पहिरोको भू–क्षय रोक्न वृक्षरोपण गर्ने, बाँझो जमिन हराभरा बनाउन उपयुक्त बाली लगाउन सिँचाइ, बीउविजन, मल व्यवस्था गर्ने ।

प्रतिक्रिया दिनुहोस्